बाह्रसिंगा गणना हुँदै

भवानी भट्ट

कञ्चनपुर — कोही टेलस्कोपले हरिरहेका छन् । कसैले दूरबिनको साथ लिइरहेका छन् । सँगसँगै तस्बिर पनि लिइरहेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विशाल घाँसे मैदानमा देखिने बाह्रसिंगालाई एक/एक गरी गणनामा तल्लीन छन् गणकहरू ।

बाह्रसिंगा गणना हुँदै

सयौंको संख्यामा एउटै झुन्डमा भेटिने बाह्रसिंगाको घण्टौंसम्म प्रत्यक्ष टाउको गणना गरेरै संख्या यकिन गर्नुपर्छ । यही काममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका गणकहरू जुटेका छन् ।

वन्यजन्तु सप्ताहको अवसर पारेर निकुञ्जमा हरेक वर्ष बाह्रसिंगाको अनुगमन तथा गणना हुने गरेको छ । यस वर्ष पनि सोही अवसरमा गणना भइरहेको हो । बाह्रसिंगा पाइने निकुञ्जको विशाल घाँसे मैदान क्षेत्रमा विभिन्न समूहमा गणकहरू खटिएका छन् । गणकहरू मात्रै होइन घाँसे मैदानलाई पनि विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । हरेक एक क्षेत्रमा एक/एक समूहले बाह्रसिंगाको गणना गरिरहेको छ । गणकहरू बिहान र साँझको समयमा बाह्रसिंगा चर्न आउने भएकाले यही बेला गणना हुने गरेको हो ।

एउटा समूहमा ३/४ जनासम्म छन् । उनीहरूले एउटा ठाउँमा तीन दिनसम्म नियमित गणनापश्चात् संख्या यकिन हुन सक्छ । एकै पटकको गणनाबाट संख्या निश्चित हुन नसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए । ‘एक स्थानमा बिहान र साँझ गरी तीन दिनसम्म नियमित गणनापछि मात्रै संख्या यकिन हुन्छ,’ उनले भने, ‘एकै पटकको गणनाले कोही छुट्ने र दोहोरिने सम्भावना रहन्छ ।’

बाह्रसिंगाको गणना टाउको गणना विधिबाट गरिन्छ । टाउकोबाटै भाले र पोथी छुट्याउन सकिन्छ । त्यही भएर गणकहरूले एक/एक गरी टाउको गणना गर्छन् । ठूलो झुन्ड एकै ठाउँमा हुँदा अलि बढी समय लाग्ने तथा छुट्ने र दोहोरिने सम्भावना बढी हुने गर्छ । ‘एक ठाउँमा चर्ने बाह्रसिंगा प्रायः त्यही ठाउँमा आउँछ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘एक स्थानमा तीन दिनसम्म अनुगमन तथा गणना गर्नुपर्छ भन्ने मान्यता छ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसे मैदानमा एक/डेढ हजारको संख्यामा बाह्रसिंगाको झुन्ड देख्न सकिन्छ । निकुञ्जकै प्रमुख आकर्षण र पहिचानका रूपमा रहेको बाह्रसिंगाको गणना हरेक वर्ष हुँदै आएको छ । गत वर्षको गणनामा निकुञ्जमा बाह्रसिंगाको संख्या २२ सय बढी छ । तीन/चार वर्षदेखि यो संख्या २ हजार २२ सयकै हाराहारीमा छ ।

सहायक संरक्षण अधिकृत अर्यालका अनुसार यस पटक शुक्लाफाँटा घाँसे मैदानमा मात्रै होइन चौधर नदीपारिको अन्डैया पटैया क्षेत्रमा पनि बाह्रसिंगाको गणना भइरहेको छ । उक्त क्षेत्रमा पनि बाह्रसिंगा देखिएपछि पहिलो पटक गणना गरिन लागेको हो । बाह्रसिंगा गणनाका लागि गणकहरू ७ समूहमा विभाजन भई छुट्टाछुट्टै स्थानमा खटिएका छन् । उनीहरू बिहान ६ देखि ९/१० बजेसम्म र साँझ ३ देखि ६/७ बजेसम्मै टेलिस्कोप र वाइनाकुलरको सहायताबाट गणना गर्छन् ।

प्रकाशित : वैशाख ८, २०७९ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?