१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रैथाने बीउ जोगाउन सामुदायिक बैंक

‘बीउ र नगद दुवै पाएपछि किसानलाई प्रोत्साहन हुन्छ’
मोहन शाही

डोटी — बैंकबाट ऋण स्वरुप रुपैयाँ झिकिन्छ । बैंक तथा वित्तीय संस्थाले आयस्रोत वा धरौटीका आधारमा ऋणको कारोबार गर्दै आएका छन् । तर यहाँको एक सहकारी संस्थाबाट ऋण झिक्दा नगद रुपैयाँसॅगै विभिन्न बालीनालीका बीउ पनि अनिवार्य लैजानुपर्छ । डोटीको जोरायल गाउॅंपालिका—१ गैराबजारस्थित जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाले ऋण लिने व्यक्तिले बालीनालीको बीउ समेत अनिवार्य लग्नुपर्ने प्रावधान राखेको हो । 

सहकारीले रैथाने तथा उन्नत जातका बालीका बीऊ संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक बीऊ बैंक स्थापना गरेको छ । जोरायल—१ खडिलाकी बिष्णादेवी डाँगीले घण्टेश्वर सामुदायिक बीउ बैंक डोटीबाट ५० हजार रुपैयाँ ऋण झिकिन् । नगदसँगै रैथाने दाल सिमीको बीउ पनि ऋणका रुपमा लगेकी छन् । सिमीको दाल फलाएर ऋण स्वरुप लगेको नगद रकम र बीउ चुक्ता गर्न सक्नेमा उनी बिश्वस्त छिन् ।

लिखित सम्झौता गरेर क्रृण झिकेकी बिष्णाले यसअघि पनि घण्टेश्वर सामुदायिक बीउ बैंकबाट विभिन्न बालीको बीउ लगेर बारीमा फलाइसकेकी छिन् । ‘हावापानी र माटो सुहाउदो हाम्रै गाँउघरमा फल्ने गुणस्तरीय बीउ हाम्रो बैंकमा पाइन्छ । सिमी राम्रै फल्ने भएकाले एक सिजनमा फलाएको दाल बेचेर मलाई क्रृण चुक्ता गर्न गाह्रो छैन’, बिष्णाले भनिन् । जोरायल—१ चपरचानीका प्रेम थापा मगरले पनि गतबर्ष ३० हजार नगद र जौ को बीउ सामुदायिक बीउ बैंकबाट क्रृण झिकेर लगे । बारीमा लहलहलाउदो जौ फलाएर घण्टेश्वर सामुदायिक बीउ बैंकमै बिक्री गर्न सफल भए । ‘बीउ र नगद दुवै पाएपछि हामी किसानलाई प्रोत्साहन हुन्छ’, प्रेमले भने, ‘उत्पादन गरेको सबै बैंकले खरिद गर्ने भएपछि बजारको चिन्ता रहेन, मेहनत गर्न हौसला मिल्छ ।’

यहाँका अधिकांश किसानले घण्टेश्वर सामुदायिक बीउ बैंकबाट स्थानीय जात तथा उन्नत जातका बीउ ऋणका रुपमा लैजाने गरेका छन् । उक्त बीउ बैंकले कृषकहरूलाई आवश्यक पर्ने थरी थरीका बाली तथा जातहरूको शुद्ध तथा गुणस्तरीय बीउबारे जानकारी दिने तथा उपभोग प्रबर्द्धन गर्ने गरेको व्यवस्थापक गणेश बिष्टले बताए । स्थानीय किसानकै सक्रियता र गैर सरकारी संस्था जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) को सहयोगमा २०६८ मा घण्टेश्वर सामुदायिक बीउ बैंकको स्थापना भएको हो । सोही बीउ बैंकलाई ०७० मा जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाका रुपमा बिस्तार गरी गतिबिधि अघि बढाइरहेका छन् । जसमा ३ सय ४० जना कृषक सदस्यहरू आवद्ध छन् ।

हालसम्म विभिन्न कृषक समुह, सहकारी तथा संस्थाहरूमार्फत नेपालमा करिब १ सय ४४ वटा सामुदायिक बीउ बैंकहरू संचालनमा आएको तथ्यांक छ । त्यसमध्ये स्थानीय समुदाय संग प्रत्यक्ष संलग्न रहेर ली–वर्डले विभिन्न जिल्लाहरूमा २३ वटा सामुदायिक बीउ बैंक स्थापनामा सहयोग गरेको ली वर्डका वरिष्ठ कार्यक्रम अधिकृत निरन्जन पुडासैनीले बताए ।

नेपालमा स्थापना भएका सामुदायिक बीउ बैंकहरूमध्ये घण्टेश्वर सामुदायिक बीउ बैंक एक सफल उदाहरण रहेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशी बताउछन् । बजारमा पाइने बीउहरूले ल्याउन सक्ने अनेकौं बिकृती र नोक्सानबाट सामुदायिक बीउ बैंकले जोगाउदा किसानहरू समेत खुसी भएका छन् । किसानलाइ क्रृणका रुपमा दिएको बीउबाटै फलाएको बालीनाली बैंकमा ल्याएर चुक्ता गर्ने र त्यही बीउलाई ग्रेडिङ गरेर बैंकमा सुरक्षित राख्नुका साथै बजारमा समेत बीउका रुपमा बिक्री गरिदै आएकाले किसानहरूलाई राहत मिलेको छ ।

प्रकाशित : चैत्र ३०, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?