१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गठबन्धन दलबीच चुनावी तालमेल गर्न सुदूरपश्चिममा सकस

‘अहिलेकै अवस्थामा गठबन्धन हुन सक्ने देखिँदैन’
डीआर पन्त

धनगढी — कांग्रेसले सत्ताधारी दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि सुदूरपश्चिममा भने गठबन्धन हुन निकै चुनौतीपूर्ण रहेको दलका नेताहरूले प्रतिक्रिया दिएका छन् । कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले यसअघि सुदूरपश्चिममा गठबन्धन हुन नसक्ने जनाउँदै आएको थियो । सत्ताधारी अन्य दलका नेताहरूले पनि केन्द्रले गरेको निर्णयअनुरूप प्रयास गरिने तर गठबन्धन हुन चुनौतीपूर्ण रहेको बताएका छन् । ‘गठबन्धनका लागि केन्द्रले नै चासो राखेर सक्रियता देखाए पनि चुनौतीपूर्ण छ,’ नेकपा समाजवादीका केन्द्रीय सदस्य तारा जोशीले भने, ‘प्रदेश कांग्रेस पहिलेदेखि नै गठवन्धनको विरुद्धमा देखिएको छ, केन्द्रले जिल्ला अथवा प्रदेशस्तरमा संयन्त्र बनाएपछि छलफल त होला । अहिलेकै अवस्थामा गठबन्धन हुन सक्ने देखिँदैन ।’

गठबन्धन दलबीच चुनावी तालमेल गर्न सुदूरपश्चिममा सकस

माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट पनि केन्द्रको सहमतिअनुरूप प्रदेशमा गठबन्धन गर्न कठिन रहेको बताउँछन् । उनले भने, ‘चुनौती धेरै छन् केन्द्रले निर्णय गरिसकेपछि अधिकतम प्रयास हुनुपर्छ ।’ कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर पनि केन्द्रले निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा गठबन्धन हुने सम्भावना निकै कम भएको बताउँछन् । ‘माओवादीको सुदूरपश्चिममा निकै कमजोर अवस्था हो,’ बलायरले भने, ‘समाजवादीको त्यो अवस्था पनि होइन, बाँडफाँटमा ठूलो समस्या हुन सक्छ,’ उनले भने, ‘सत्ता साझेदार दलहरूको सुदूरपश्चिममा स्वःमूल्यांकन पनि बढी छ त्यो पनि गठबन्धनको प्रमुख चुनौती हो ।’ कांग्रेसले गठबन्धनको निर्णयपूर्व नै सुदूरपश्चिममा गठबन्धन हुन नसक्ने उल्लेख गर्दै आएका बलायरले आफ्नो धारणाविपरीत केन्द्रले अर्को कुनै निर्देशन नदिएको बताए । उनले भने, ‘सुदूरपश्चिममा गठबन्धन हुन सक्ने अवस्था पनि छैन ।’

नेताहरू मात्र होइन कार्यकर्ता पनि स्थानीय तहमा गठबन्धन हुन सक्नेमा विश्वस्त देखिँदैनन् । कांग्रेसका अधिकांश कार्यकर्ता त गठबन्धनको विपक्षमा छन् । कञ्चनपुर कांग्रेसका क्षेत्रीय प्रतिनिधि सिद्धराज जोशी भन्छन्, ‘प्रदेश सरकार र आफूले जितेका स्थानीय तहमा कांग्रेस कार्यकर्तामाथि भएको प्रताडना गठबन्धनको प्रमुख चुनौती हो । जोशी मात्र होइन कञ्चनपुरकै कृष्णपुर नगरपालिकामा गत स्थानीय निर्वाचनमा पराजित कञ्चनपुर कांग्रेसका सचिव हेमराज ओझा पनि गठबन्धन गर्न सैद्धान्तिक रूपमा सहमत भए पनि व्यावहारिक रूपमा हुन सक्ने नदेखिने बताउँछन् ।

८८ स्थानीय तह रहेको सुदूरपश्चिममा गत स्थानीय तह निर्वाचनमा एमालेले ३९ सिट, कांग्रेसले ३८ र माओवादीले जम्मा १० सिट जितेको थियो । एक सीट मधेसी जनअधिकार फोरमले जितेको थियो र पछि फोरमबाट निर्वाचित गाऊपालिका अध्यक्ष कांग्रेस प्रवेश गरेका थिए । एमाले विभाजन भएर बनेको समाजवादीमा नगण्य रूपमा निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेस सचिव ओझा भन्छन्, ‘त्यतिबेलाको गणितीय आधारमा पनि गठबन्धन हुन सक्ने सम्भावना देखिँदैन । कांग्रेसका अधिकांश क्रियाशील सदस्य पनि गठबन्धनको विपक्षमा देखिएका छन् । कांग्रेस मात्र होइन माओवादीका नेता/कार्यकर्ता पनि गठबन्धन हुन सक्नेमा धरै आशावादी देखिएका छैनन् । ‘सैद्धान्तिक रूपमा सबै सहमत छौं,’ वाईसीएलका प्रदेश सहइन्चार्ज अर्जुन साउदले भने, ‘तर व्यावहारिक रूपमा गठबन्धन हुन सक्नेमा धेरै चुनौती छन् ।’ माओवादीका पालिकास्तरका नेताहरूको बुझाइ पनि यस्तै रहेको उनले बताए ।

पछिल्लो समय सत्ता साझेदार दलहरूबीच सुदूरपश्चिममा प्रदेश सरकारका विषयमा दूरी निकै बढेको छ । एक कांग्रेस सांसद भन्छन्, ‘सत्ता गठबन्धनको कुनै अनुभूतिसमेत छैन कसरी स्थानीय तहमा गठबन्धन हुन सक्छ ।’

प्रकाशित : चैत्र १८, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?