चैते धानलाई छैन मल- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैते धानलाई छैन मल

गणेश चौधरी

टीकापुर — चैते धानका लागि मल नपाएको किसानले बताएका छन् । कैलालीको भजनी नगरपालिका–१ का रामकृष्ण चौधरीले धानको ब्याड रोप्न तयार भए पनि मल अभावमा रोपाइँ गर्न नसकेको सुनाए । उनले भने, ‘मल बेच्ने धेरै सहकारीमा गए । कतै पनि भेटिएन ।’ अहिले किसानले युरिया, डीएपी मल खोजे पनि पाइरहेका छैनन् ।

बाढीग्रस्त क्षेत्र भएकाले वर्षे धान खेती नहुने र चैते खेतीमा भर पर्ने किसान मल नहुँदा समस्यामा परेका हुन् । ‘बिना मल भए पनि धान रोप्ने तरखरमा छु । नगरे के खाने ?’ रामकृष्णले भने । अर्का किसान घनश्याम चौधरीले चैते धान लगाउनैपर्ने बाध्यताका कारण मल नहुँदा पनि खेती गरेको सुनाए । उनले विगतमा एक बिघाभन्दा बढीमा खेती गरे पनि यो वर्ष १२ कट्ठामा मात्र धान लगाउने भएका छन् । विगतमा चैते धान उत्पादनमा सहुलियत दिन प्रदेश मन्त्रालयले नै अनुदान कार्यक्रम सञ्चालन गरे पनि यो वर्षे नपाएको किसानले बताए ।

कैलालीमा सबैभन्दा धेरै चैते धान खेती भजनी नगरपालिकामा हुने गरेको छ । ‘भजनी बाढी प्रभावित क्षेत्र भएकाले वर्षे धान हुँदैन, चैते धान नलगाई हुँदैन,’ रामकृष्ण चौधरीले भने, ‘आफूलाई खानको लागि भने पनि चैते धान लगाउनुपर्छ यहाँका किसानले ।’ कैलालीमा लामो समयदेखि जानकी गाउँपालिका तथा भजनी नगरपालिकालगायत ठाउँका किसानले झन्डै ५० हेक्टरमा चैते धान लगाउँदै आएका छन् । भजनीका किसान गोपीराम चौधरीले भने, ‘चैते धानमा लगानी धेरै छ । अनुदान नभएपछि चैते धान लगाउन घाटा छ ।’

चैते धानका लागि कृषि विकास कार्यालयले चैते २, चैते ४ र हर्दिनाथ जातका धान सिफारिस गरेको जनाएको छ । कैलालीमा करिब ७४ हजार हेक्टरमा वर्षे धान लगाइने गरिएको छ भने उत्पादन दुई लाख ५९ हजार मेट्रिक टन हुने गरेको अनुमान छ । कृषि सामग्री कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयले एक महिनापछि मात्रै यहाँ आइपुग्ने जनाएको छ । स्टकमा पनि मल नभएकाले वितरण गर्न नसकिएको कार्यालयको भनाइ छ ।

प्रकाशित : चैत्र १५, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

कठरिया थारूको ‘होरी’

गणेश चौधरी

टीकापुर — कैलालीका कठरिया थारू समुदायको घरघरमा ‘होरी’ नाच चलेको छ । नाचमा केही पुरुषले ढोल बजाउँछन् । त्यही ढोलको तालमा महिला र पुरुष समूहमा हातमा रुमाल हल्लाउँदै ‘होरी’ नाच नाच्छन् ।

होलिका दहनपछि सुरु हुने यो नाच कम्तीमा एक सातासम्म चल्ने जानकी गाउँपालिका–४ का रामबहादुर बडायकले बताए । उनले भने, ‘गाउँको देउताको पूजापाठ गरी नाच सुरु हुन्छ । गाउँका सबैका घरमा गएर यो नाच देखाउँछौं ।’

हिन्दु समुदायका अन्य जातिले मान्ने होली पर्व सकिए पनि कठरिया थारूहरूको होली भने चलेकै छ । पुरुषले धोती, सर्ट र टाउकोमा कठरिया समुदायकै बुट्टेदार टोपी र महिलाले अंगिया र लेहंगा जस्ता परम्परागत पोसाकमा सजिएर सबैका घरमा गई नाच देखाउने चलन रहेको कठरिया थारूहरू बताउँछन् ।

कठरिया थारू समुदायले आठौं दिनसम्म ठार्मा, मिचुवा, छुट्टा र खिचडी होरी नाच नाच्ने गरेको बडायकले बताए । घरघरमा होरी नाच्न जाँदा प्रत्येक घरकाले गच्छेअनुसार चामल तथा नगद दान दक्षिणा दिने उनले सुनाए । उनले भने, ‘आठौं दिनमा गाउँको देउथानमा गुरुवाले पूजापाठ गर्छन् । संकलित रकम र चामलबाट होरी नाचको अवसरमा खानपान गरी रमाइलो गर्दै होरी नाच सकिन्छ ।’

सामान्यतया गाउँमा मात्र यो नाच नाचिने भए पनि अरू गाउँकाले पनि होरी नाच्न बोलाएमा जाने गरेको कठरिया थारूहरू बताउँछन् । कठरिया थारूहरूको होरी नाच यो समुदायको प्रमुख नाच भएको जोशीपुर गाउँपालिका–३ का वडाध्यक्ष किशोर कठरियाले बताए ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो नाचबारे नयाँ पुस्ताले खासै चासो लिन नसकेको किशोर कठरिया बताउँछन् । उनले भने, ‘नयाँ पुस्ता आफ्नो धर्म संस्कृति परम्पराभन्दा पनि नयाँ आधुनिक हिन्दी नेपाली गीतमा रमाउने गरेको पाइन्छ ।’ कठरिया थारू समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुर, बर्दियालगायत जिल्लामा यो नाच नाचिने गरेको कठरियाले सुनाए ।

प्रकाशित : चैत्र ५, २०७८ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×