कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पीडैपीडामा बादी समुदाय

चुनावताका गाँस, बास र रोजगारीको व्यवस्था गर्छु भन्ने नेताहरुले अहिले नहेरेको बादी समुदायको आरोप
मेनुका ढुंगाना

अछाम — अछामका बादी समुदायले अझै पनि आफूले सम्मानपूर्वक बाँच्न नपाएको गुनासो गरेका छन् । अछामको मंगलसेन, साँफेबगर, विनायकलगायत ठाउँमा अरूको घरमा बस्दै आएका बादी समुदायले सुरक्षित बासका लागि विभिन्न निकायसम्म पटकपटक माग राख्दा पनि वास्ता नगरेको बताएका छन् । बादी समुदायलाई फरक नजरले हेर्ने गरेको उनीहरूले बताएका छन् ।

पीडैपीडामा बादी समुदाय

विशेषगरी बादी समुदायका महिलाहरूलाई यौनकर्मीको रूपमा हेर्ने गरेको उनीहरू बताउँछन् । ‘उमेर रूप र जवानी हुने बेला बिहे गर्छौं भन्ने प्रस्ताव राखेर बाहुनदेखि हाकिमसम्मले बादी महिलाको अस्तित्व लुटेका छन् । असुरक्षित गर्भपतनका कारण धेरै बादी महिलाले अकालमा ज्यान पनि गुमाएका छन्,’ मंगलसैन–५ की ५५ वर्षीया टंकी बादीले भनिन्, ‘अहिले हाम्रो बुढेसकाल भयो, न बस्ने घर छ न कोही सहारा । गाउँमा माग्न जाँदा पनि दिँदैनन् ।’ धेरै जसो बादी समुदायका महिलाले अनिश्चित गर्भबाट सन्तान जन्माएको र अहिले उनीहरूको बिचल्ली भएको उनी बताउँछिन् ।

अर्की स्थानीय सुपारी बादीका अनुसार पहिले बादी समुदायका महिलाले आफ्नो इच्छाअनुसार बाँच्न पाएनन् । आफूभन्दा माथिल्लो जातका पुरुषहरूले बादी महिलालाई भोग गर्ने नियतले मात्रै हेरेको उनी बताउँछिन् । ‘त्यो बेला हामीलाई केही पनि थाहा थिएन । माथिल्लो जातका पुरुषले भन्नेबित्तिकै उनीहरूले भने अनुसार चल्नुपर्थ्यो । त्यही कारणले हामीले दुःख पायौं,’ उनले भनिन्, ‘हामीले एकछाक टार्नकै लागि यौनकर्मी हुन बाध्य भयौं । अब हाम्रा छोरीहरूले त्यस्तो भोग्न नपरोस् । मान्छे भएर मान्छेकै जसरी बाँच्न नपाउँदा धेरै पीडा हुन्छ ।’

पहिले बादी समुदायका पुरुष मादल बनाउने, सुल्पा बनाउने, माछा मार्ने तथा छोरी यौन पेसालाई अपनाउने र नाच्दै मागेर गुजारा चलाउने चलन नै भएको उनी स्विकार्छिन् । अहिले परिस्थिति बदलिए पनि आफूहरूलाई हेर्ने नजर नबदलिएको उनी बताउँछिन् ।

पहिलेकै नजरले अहिले पनि बादी जातिका महिलालाई हेरेकै कारण छोरीहरू विद्यालय जानसमेत अप्ठ्यारो मान्ने गरेको अर्की स्थानीय ममिता बादी बताउँछिन् । ‘बिहान साँझ अरूको काम गरेर भए पनि केही बादी समुदायमा छोरीहरू विद्यालय जान्थे । त्यहाँ पनि बादी जाति भनेपछि हेर्ने नजर नै फरक छ,’ उनले भनिन्, ‘अरू जातिसरह मान्छे भएर बाँच्न हामीलाई पनि रहर छ ।’

गाँस र बासको माग

बादी समुदायका व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने र त्यसका लागि गाँस र बासको व्यवस्था सरकारले गरी दिनुपर्ने बताउँदै आएका छन् । चुनावताका गाँस, बास र रोजगारीको व्यवस्था गर्छु भन्ने नेताहरूले अहिले नहेरेको उनीहरूको आरोप छ ।

‘मंगलसेनमा स्थायी बसोबास गर्ने १६ जना बादीलाई चुनावताका नेताहरूले होटलमै खाना खुवाए । होटलमै सुताए । गाडी चढ्न नपाएका हामीलाई गाडी चढाए । अरूलाई ढोग्दै मागी खाने हामीलाई ढोगे । अहिले कोही फर्केर हेर्दैनन्,’ मंगलसैन–५ का बैरागी बादीले भने, ‘अब हामी काम गरेर खान चाहन्छौं । हाम्रा छोरी, श्रीमती, आमालाई हामी सम्मानपूर्वक बाँच्ने वातावरण दिन चाहन्छौं । त्यसका लागि सबैभन्दा पहिले हामीलाई खाने र बस्ने व्यवस्था हुनुपर्‍यो ।’

४ वर्ष पहिले संघसंस्थाले एक/एक वटा बाख्रा वितरण गरे पनि पाल्ने वातावरण नभएको उनले बताए । ‘आफूलाई बस्ने घरै छैन भने संघसंस्थाले दिएका बाख्रा पाल्न सकिएन,’ उनले भने, ‘अहिले हामी अरूको घरमा बसीरहेका छौं । मालिकले छोड भनेको दिन छोडेर हिड्नुपर्छ ।’ पटकपटक सरोकारवालाले गाँस र बास दिन्छौं भने पनि अहिले वास्ता नगरेको उनको भनाइ छ । बस्ने घर, जग्गाजमिन, रोजगारी र शिक्षाको अवसर पाए मागेर खाने चलन हटाउन तयार रहेको उनीहरूको भनाइ छ ।

बालबालिका पढाइबाट वञ्चित

आर्थिक समस्याका कारण बादी समुदायका बालबालिका भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्न बाध्य भएका छन् । दैनिक गुजारा चलाउन जिल्लाका विभिन्न क्षेत्रमा छरिएर बसिरहेका बादी समुदायका बालबालिका विद्यालय जाने उमेरमा मजदुरी गर्नुपर्ने भएकाले उनीहरू आधारभूत शिक्षा पाउनबाट वञ्चित भएका हुन् ।

स्थानीय फागी बादीले साँझबिहान हातमुख जोर्न पनि धौधौ परिरहने भएकाले छोराछोरी विद्यालय पठाउन नसकिएको बताइन् । ‘मेरो १४ वर्षीय छोरासमेत काम गर्न भारतमा गएको छ । हामीसँग जग्गाजमिन छैन । परिवारको संख्या ठूलो भएकाले मजदुरी नै प्रमुख पेसा हो,’ उनले भनिन् । सामुदायिक विद्यालयहरूले बालबालिका विद्यालय भर्ना गराउदा विभिन्न शीर्षकमा शुल्क असुल्न थालेपछि वादी समुदायले बालबालिका विद्यालय भर्ना गराउन नपाएका हुन् । बस्तीका २० भन्दा बढी बालबालिका शुल्ककै अभावमा पढाइबाट वञ्चित हुने अवस्थामा पुगेको उनको भनाइ छ । जिल्लाभरिमा विद्यालयको शुल्क तिर्न नसकेर विद्यालय भर्ना हुन नपाएका बादी समुदायका बालबालिकाको संख्या ६० भन्दा बढी रहेको दलित समुदायका अगुवा मोती कामीले बताए ।

प्रकाशित : चैत्र ६, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?