कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बैतडीमा चुनावी अभियान तीव्र

तृप्ति शाही

बैतडी — स्थानीय तहको चुनाव नजिकिएसँगै बैतडीमा पनि चुनावी अभियानले तीव्रता पाएको छ । १० वटा पालिका रहेको जिल्लामा हरेक दिन विभिन्न पार्टीका कार्यक्रम भइरहेका छन् । टोल, गाउँसँगै पालिका र जिल्ला स्तरमा पार्टीले चुनावी कार्यक्रमको आयोजना गरिरहेका छन् ।

बैतडीमा चुनावी अभियान तीव्र

फागुन पहिलो साता बसेको जिल्ला कमिटीको बैठकपछि पार्टी संगठन सुदृढीकरणको अभियानमा नेता कार्यकर्ता गाउँगाउँमा पुगेको एमाले बैतडीले जनाएको छ । ८४ वटै वडामा एमालेले ५ सय २० भन्दा बढी टोल कमिटी गठन गरेको बताएको छ । योसँगै आगामी कार्ययोजना बनाउने उद्देश्यले एमालेले वडा स्तरीय बैठकहरू पनि सम्पन्न गरेको छ ।

जिल्लामा ८ वटा पालिकामा एमालेले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको एमालेका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश सांसद लीलाधर भट्ट बताउँछन् । बाँकी रहेका दुई पालिकामा कार्यक्रम गर्ने योजना रहेको उनले सुनाए । एमाले निकटका संघ, महासंघहरूका बैठक अधिवेशनसँगै संगठन निर्माणको काम पनि एमालेले सम्पन्न गरेको उनले बताए ।


बैतडीको सर्नया र दोगडाकेदार गाउँपालिकामा एमालेको चुवानी अभियान अन्तर्गतको एक कार्यक्रममा नेता एवं कार्यकर्ताहरु ।

यस्तै, कांग्रेसले पनि जिल्लामा चुनावी अभियानलाई तीव्रता दिएको छ । फागुन २९ गतेबाट चुनावी अभियानका लागि गाउँमै भएको कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले बताए । बैतडीमा पनि ‘घरघर जाउँ कांग्रेस जिताउँ’ अभियान सुरु भएको उनले बताए । केन्द्रीय प्रतिनिधिका रूपमा जिल्लामा आएका पार्टीका केन्द्रीय सदस्य यज्ञराज जोशी लगायतको टोली जिल्लाका विभिन्न पालिकाहरूमा पुगिरहेको सभापति चन्दले बताए ।

एकीकृत समाजवादीले पनि आफूहरूले चुवावी अभियानलाई तीव्रता दिएको जनाएको छ । जिल्ला अध्यक्ष महादेव भट्टले चुनावी अभियानअन्तर्गत पार्टीका कार्यक्रमहरू गरिरहेको बताए । उनका अनुसार अहिले पार्टीका केन्द्रीय सदस्यहरू जिल्लामै गाउँघर अभियानमा जुटेका छन् । अहिले आफ्नो पार्टी स्थानीय चुनावी अभियानमै केन्द्रित रहेको बताए । उनले भने, ‘एकमहिने अभियान जिल्लामा पनि चलिरहेको छ । टोल कमिटी, वडा कमिटी गठन भएका छन् । पालिकास्तरका कमिटीहरू पहिल्यै गठन गरिसकेका थियौं ।’

माओवादी केन्द्रले पनि जिल्लामा चुनावी कार्यक्रमहरू गरिरहेको छ । शनिबार मात्र माओवादीले जिल्ला समन्वय समितिको बैठक गरेको छ । जिल्लाका विभिन्न स्थानमा पार्टीका कार्यक्रमहरू माओवादी केन्द्रले पनि गरिरहेको छ । यस्तै, राप्रपाले पनि जिल्लामा पार्टीका गतिविधिहरू बढाएको छ ।

चुनावी अभियान तीव्र भएसँगै नेताहरू पनि गाउँ पसेका छन् । धनगढी र काठमाडौं केन्द्रित हुने जिल्लाका विभिन्न पार्टीका केन्द्रीय नेताहरू करिब १ महिनायता जिल्लाका गाउँगाउँमा देखिन थालेका छन् । यतिबेला बैतडीबाट प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका केन्द्रीय स्तरका नेताहरू, संघीय सांसद, प्रदेश सांसद, पूर्वमन्त्री तथा सांसदसँगै जिल्लाका नेताहरू गाउँमा पुगेका छन् । धेरै समय जिल्ला बाहिरै बस्ने जिल्लाका नेताहरू पनि गाउँ फर्किएर आआफ्नो पार्टीको प्रचारप्रसार अभियानमा जुटेका छन् ।

प्रकाशित : चैत्र ६, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?