३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आयोजना खारेजीको जोखिम

मोहन बुढाऐर

धनगढी — कैलालीको अत्तरियादेखि गोदावरीसम्मको ६ लेन सडक निर्माण आयोजना खारेज (फेज आउट) हुने जोखिम बढेको छ । आउँदो असारमा आयोजना सक्नुपर्ने भए पनि हाल काम नभइरहेकाले अन्तिम चरणमा रहे पनि आयोजना खारेजी हुने जोखिम बढेको हो । अत्तरिया–धनगढी भन्सारसम्मको १४.५ किलोमिटर सडकको काम करिब ७ प्रतिशत मात्रै बाँकी छ ।

आयोजना खारेजीको जोखिम

६ लेन सडक आयोजना कार्यान्वयन इकाइ कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवन खड्काले ३ नम्बर प्याकेजमा ७ र बाँकी १ र २ नम्बर प्याकेजमा ३ प्रतिशत मात्रै काम बाँकी रहेको बताए । उनका अनुसार निर्माण कम्पनीबाट फुटपाथमा ब्लकिङ, सर्भिस रोडमा ग्राबिलिङ, पेन्टिङ, रेलिङ, ट्राफिक संकेतलगायत काम गर्न मात्रै बाँकी छ ।

‘कामको गतिलाई बढाए निर्माण कम्पनीले तोकिएको समावधिभित्रै काम सम्पन्न गर्न सक्छन्,’ खड्काले भने, ‘दोस्रो चरणको अत्तरिया–गोदावरीसम्मको सडक खण्डको विस्तार ६ लेनमा पार्न सकिएन भने असारमा आयोजना फेज आउट हुन्छ ।’ उनले अत्तरिया–गोदावरी खण्डको ६ लेन विस्तारको दोस्रो चरणको कामका लागि डीपीआर तयार नभएको बताए ।

अत्तरिया–धनगढी ६ लेन सडक निर्माणको ३ प्याकेजको ठेक्का २०७४ जेठमा भएको थियो । ३ वर्षभित्र सम्पन्न नभएपछि ठेक्का सम्झौताको म्याद थप गरिएको थियो । निर्माणको ठेक्का लुम्बिनी, राजेन्द्र, डाँफे, लामा, शर्मा, नागार्जुन र अमर निर्माण कम्पनीले १ अर्ब ६० करोड रुपैयाँमा लिएका हुन् । सडकको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना हटाउनमै ढिलाइ भएका कारण समयमा सम्पन्न नभएको र लकडाउनको कारण पनि योजना प्रभावित भएकोले तेस्रो पटक म्याद थप्नुपरेको आयोजना कार्यालयले जनाएको छ ।

यही खण्डमा पर्ने ३ वटा पुलको ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाका इन्जिनियर खड्काले बताए । सुनखोला पुल २०७७ माघमा राजेन्द्र निर्माण कम्पनीले करिब ३ करोड रुपैयाँमा ठेक्का लिएको हो । करिब २४ मिटर लम्बाइको सुनखोला पुलको निर्माणको काम अघि बढिसकेको उनले बताए । त्यस्तै, ६२ मिटर लम्बाइको मनहरा पुल उच्चाकोटी शनिदेव साजेन्द्रस्वर कम्पनीले ६ करोड ९९ लाख रुपैयाँमा ठेक्का लिएको छ । यसको काम पनि अघि बढिसकेको उनले बताए । भन्सार रोडमा पर्ने मोहना पुल निर्माण गर्न गत फागुन १६ मा रायमाझी कन्स्ट्रक्सनले १३ करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ ।

प्रकाशित : फाल्गुन २४, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?