कृषि कार्यक्रममा ढिलाइ- सुदूरपश्चिम - कान्तिपुर समाचार

कृषि कार्यक्रममा ढिलाइ

गणेश चौधरी

टीकापुर — रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कृषितर्फको कार्यालयले बसन्ते मकै उत्पादन कार्यक्रम अनुदानका लागि सूचना निकाल्यो । मकै लगाउने समय घर्किन थाल्दा पनि कार्यालयले कृषक छनोट गरेको छैन ।

अनुदानका लागि निवेदन दिएका टीकापुर नगरपालिका–१ बनगाउँका सुन्दर चौधरीले सिजन जान थालेपछि उधारोमा बीउ ल्याएर मकै छरेका छन् । ‘मकै लगाउन जग्गा पनि सुक्न थाल्यो । ढिलो भएपछि वर्षामा धान रोप्न पनि समस्या हुन्छ,’ उनले भने, ‘त्यसैले उधारोमै मकैको बीउ ल्याएर मकै छरे ।’

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयको यो आर्थिक वर्षको अधिकांश कार्यक्रम कार्यान्वयन भएको छैनन् । कृषि उत्पादन बढाउन र कृषिमा व्यवसायीकरण गर्ने उद्देश्यले आयोजनाको कृषि कम्पोनेन्ट रहे पनि कृषि कार्यान्वयन एकाइले समयमा कार्यक्रम कार्यान्वयन नगर्दा यहाँका किसान सुविधाबाट वञ्चित बनेका छन् । आर्थिक वर्षका सात महिना बिते पनि करिब ६ प्रतिशत मात्र बजेट रकम खर्च भएको छ ।

कृषितर्फको कार्यालयले यहाँको कृषि उत्पादन बढाउन किसानलाई ५० प्रतिशत अनुदान दिने गरेको छ । कृषि औजार तथा उपकरण, पशु उत्पादन, प्रविधि प्रदर्शन, पशुका लागि घाँस उत्पादनमा सहयोग गर्ने गरेको छ । यो आर्थिक वर्षमा आयोजनाको कृषितर्फ करिब २७ करोड रुपैयाँ बजेट छ । यसमा करिब २ करोड रुपैयाँ मात्र खर्च भएको जनाइएको छ । खर्च भएको रकममध्ये करिब ५० लाख कर्मचारीको तलब भत्तामा खर्च भएको छ भने किसानका लागि भएको कार्यक्रममा करिब ६० लाख खर्च भएको जनाइएको छ ।

सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले पहिलो चरणमा प्रचारात्मक र कृषक जागरण कार्यक्रम सकिएपछि दोस्रो चरणको कृषि उत्पादन सहयोग कार्यक्रम सुरु गरेको हो । दोस्रो चरणअन्तर्गत सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा कृषि उत्पादन र बजारीकरणका लागि प्राविधिक सेवा र सामान्य पूर्वाधारहरू निर्माणमा सहयोग गरेको छ ।

कृषि कार्यान्वयन एकाइ कार्यालयका अनुसार उद्यमी कृषक, कृषक समुह, कृषि सहकारीहरूलाई प्रविधि उपकरण र बीज वृद्धिका लागि आयोजनाले सहयोग गर्दै आएको छ । आयोजनाको कृषितर्फको कार्यालयको सहयोगले व्यावसायिक खेतीपातीका लागि किसानमा आएको जागरुकता र कृषि प्राविधिकहरूको सहयोग र अनुदानले कृषि उत्पादन बढ्दै गए पनि पछिल्लो समय कार्यालय प्रमुखका रूपमा गोविन्दराज जोशी आएपछि कृषि कार्यक्रम कार्यान्वयन प्रभावकारी नभएको स्थानीय किसानहरूको गुनासो छ ।

कार्यक्रमका लागि विश्व बैकले बजेट रोक्का गरिदिएपछि कार्यक्रम कार्यान्वयनमा ढिलाइ भएको कार्यालय प्रमुख गोविन्दराज जोशीले बताए । उनले भने, ‘पहिलो त्रैमासिकदेखि बजेट नै आएको छैन । म आउनुभन्दा पहिला बजेट सिलिङभन्दा बढी खर्च भएको रहेछ । अहिले बजेट रोक्का गरिदियो ।’ सिँचाइ आयोजनाको कृषितर्फको छुट्टै आयोजनाबाट भएको अनुदान सहयोगले यहाँको कृषि उत्पादन बढाउन सहयोग भइरहे पनि ढिलाइ हुँदा समस्या भएको किसानहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन २१, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

फेरियो थारू समुदायमा बिहेको चलन

गणेश चौधरी

टीकापुर — अहिले विवाहको सिजन छ । सबैले आफ्नो परम्पराअनुसार विवाह गरिरहेका छन् । थारू समुदायको छुट्टै वैवाहिक परम्परा पछिल्लो समय बदलिँदै गएको छ । ‘थारूको पुरानो विवाह परम्परा त करिब सकिसकेको छ,’ कैलाली जोशीपुर–३ मनकापुरका वीरबहादुर चौधरीले भने, ‘थारू दुलहाको टाउकोमा सेतो पगिया, जीउमा सेतो जामा, कम्मरमा सुरुवाल हुन्थ्यो तर पछिल्लो चरणमा यस्ता पोसाकको ठाउँमा सर्ट, कोट, पाइन्ट वा सुटले स्थान लिइसकेको छ ।’

थारूको विवाहमा अहिलेको जस्तो हिन्दी वा नेपाली गीत बजाउने चलन थिएन । थारूहरूको विवाहमा गाइने गीत मागर हो । विवाहको समय र सन्दर्भअनुसार मागर फरकफरक छ । वीरबहादुरका अनुसार डिउली डर्ना मागर, दुलहालाई पोसाक लगाइदिँदाको मागर, जन्ती निस्कने बेलाको मागर, दुलहीको घर पुगेपछि गाउने मागर गीत छुट्टाछुट्टै हुन्छ । तर युवा पुस्तामा यो गीत हस्तान्तरण हुन सकेको छैन ।

थारूहरूले दुलहा बोक्न आकर्षक चण्डोल बनाएका हुन्छन् । दुलहालाई चण्डोलमा राखी उनीहरूलाई बोकेर लगिन्छ । बाँकी जन्ती भने गाडामा जान्थे तर आजभोलि ट्र्याक्टर, बस, जिपमा जन्ती जान थालिएको छ । दुलहाका लागि बस्न बनाइएको चण्डोल ४ जनाले बोक्न मिल्ने बनाइएको हुन्छ । दुलहीका लागि बस्ने डोली २ जनाले मात्र बोक्न मिल्ने हुन्छ । दुलहीका लागि डोली बनाउन २२ हात कपडा पनि दुलहा पक्षकाले लिएर जानुपर्छ ।

पहिले–पहिले दुलहा चण्डोलमा र दुलही डोलीमा आउने भए पनि आजभोलिसँगै बस, जिप वा ट्र्याक्टरमा बसेर आउन थालेको पाइन्छ ।

थारूहरूका अनुसार दुलहीको गाउँको सिमाना पुगेपछि जन्तीलाई स्वागतका लागि दुलहीतर्फका महिलाहरू टाउकोमा डेलुवा (आकर्षक ढकिया) र कलश लिएर आउँछन् । दुलहालाई पंखा हम्किदिने, गाजल लगाइदिने जस्ता कार्य गर्ने पनि चलन थियो । दुलहालाई दुलही घरको पूजा कोठामा लगेर पूजापाठ गरिसकेपछि जन्तीसहितलाई बस्न बनाइएको जीउनासमा दुलहा पक्षका सबै रात काट्छन् र अर्को दिन जन्ती फर्किन्छ ।

जन्ती दुलही लिएर फर्केपछि घर पस्न पहिले मूल ढोकामा खाने तेलको दियो बालेर र आगो राखेर दुलहा–दुलहीलाई टाउको ठोक्काएर घरभित्र प्रवेश गराउँछन् । घरभित्र पस्ने बेलामा दुलहा र दुलहीले लगाएको लुगा गाँठो पारी एउटैमा बाँधिदिन्छन् । थारूहरूको देउता रहेको कोठा दिहुरारमा लगेर पूजापाठ गरिसकेपछि विवाह सम्पन्न भएको मानिन्छ ।

कैलाली टीकापुरका जितबहादुर चौधरीका अनुसार थारू समुदायले विवाह गर्दा विवाहको तयारी गरिसकेपछि बरात जानुभन्दा एक दिनअघि सगुन तथा जन्तीले खाना खान चामल दाल नुन तेल बेसार तरकारी लगायतका खाद्य वस्तु दुलहीको घरमा पठाउने चलन छ, जसलाई थारूले ‘चाउर पर्छना’ भन्छन् । जन्ती जाने अघिल्लो साँझ जाँतोमा मास पिस्ने गरिन्छ जसलाई थारूले डिउली डर्ना भन्छन् ।

प्रकाशित : माघ २६, २०७८ ११:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×