फँडानीको सूचना दिनेमाथि आक्रमण
धनगढी/कञ्चनपुर — लालझाडी क्षेत्रमा व्यापक वन फँडानी भइरहेको समाचारमा सूचना दिने स्थानीय महिला धना जोशीमाथि आक्रमण भएको छ । फँडानीमा संलग्न भक्त राना सहितका व्यक्तिहरूले जोशीमाथि मंगलबार बिहानै भौतिक आक्रमण गरेका हुन् ।
आफ्ना विषयमा सामाचार छपाउने, डिभिजन वन कार्यालय र अन्य निकायमा जानकारी दिने भन्दै मंगलबार बिहान घर घेरेर आक्रमण गरेको महिलाले जानकारी दिएकी हुन् । ‘सिद्धनाथ सामुदायिक वनका पूर्वअध्यक्ष भक्त राना सहितका व्यक्तिले बन्चरो लिएर आक्रमण गर्न आएका हुन,’ पीडित जोशीले भनिन्, ‘मलाई लछारपछार गर्दै घरबाट बाहिर निकाले, स्थानीयहरूले छेकवार गर्दा बन्चरो प्रहार गर्न पाएनन् ।’ लछारपछार गर्दा हात र खुट्टामा चोट लागेको उनले बताइन् ।
आक्रमण गर्नेहरूले कृष्णपुर नगरपालिका—२ वाणीमा रहेको प्रहरी चौकीमा उजुरी दर्त्ता गर्न नदिएपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय झलारीमा पुगेर निवेदन दिएकी छन् । ‘प्रहरी कार्यालय भित्रै पनि उजुरी दिए आफूलाई ज्यान मार्ने धम्की दिइयो,’ उनले भनिन्, ‘पछि स्थानीय पत्रकारहरूको सहयोगमा मैले प्रहरीमा ठाडो निवेदन दिएकी छु ।’ पीडित महिलाले उजुरी दिन आउँदा पनि रानाका पक्षबाट आएका युवाहरूले रोक्न खोजेका थिए ।
‘आफूमाथि दुर्व्यवहार भएको भन्दै महिलाले निवेदन दिएकि छिन,’ इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले भने, ‘अनुसन्धानपछि आवश्यक कारबाही थालिने छ ।’ एक अर्काका छिमेकी भएकाले दुवै पक्षलार्ई मिलेर बस्ने वातावरण बनाइदिन स्थानीयले आग्रह गरेको निरीक्षक बोहराले बताए ।
‘जाहेरी भएपछि आवश्यक कानुनी प्रक्रिया सुरु हुने उनले बताए । महिलामाथि आक्रमण गर्ने भक्त राना सामुदायिक वनको अध्यक्ष हुँदा पीडित जोशी सचिव थिइन् ।
दुई साताअघि लालझाडी वन क्षेत्रमा व्यापक वन फँडानी भइरहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो । जोशीले आफू पनि सामुदायिक वनको सचिव रहेको र यो क्षेत्रमा व्यापक फँडानी भइरहेको प्रतिक्रिया दिएकी थिइन् । उक्त सामाचार प्रकाशित भएपछि वन विभागले कुनै छानबिनसमेत नगरेको स्थानीयले गुनासो गरेका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिकको स्रोत समितिले अनुगामन गरेको थियो । अनुगमनका क्रममा वन फँडानीमा संलग्न रहेका व्यक्तिहरूलाई नै संरक्षण गरेको आरोप स्थानीयले लगाएका छन् । वन फँडानीमा संलग्न रहेको आरोप लागेका वन अधिकृत करुणाकर जोशीसहित फँडानी भइरहेका सामुदायिक वनका पदाधिकारीलाई नै बोकेर संसदीय समितिको टोली अनुगमनका लागि पुगेपछि स्थानीयले विरोध गरेका थिए ।
‘संसदीय समितिले न त कुनै स्थानीय दलका प्रतिनिधि भेटे न कुनै सरोकारवालाहरूलाई बोलाए,’ एक स्थानीयले भने ‘फँडानीमा संलग्न भएको आरोप लागेका वनकर्मी र सामुदायिक वनका पदाधिकारीलाई भेटेर समिति फर्केको थियो ।’ उनले समितिले अनुगमनको सामान्य प्रक्रियासमेत नअपनाएको बताए । उनले भने, ‘फँडानीलाई वैधानिकता दिने किसिमले संसदीय समितिले काम गरेको देखिएको छ ।’
समितिका सभापति गोविन्द कुँवरसहित ६ जनाको टोलीले लालझाडी संरक्षित क्षेत्रका विभिन्न सामुदायिक वनको अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही स्थानमा रुख काटिएका केही मुडाहरू भेटिएपनि वन फँडानी भएको नदेखिएको सभापति कुँवरले बताए ।
लालझाडी वन क्षेत्रमा अहिले पनि व्यापक फँडानी जारी रहेको छ एक सामुदायिक वनका सचिवले भने, ‘नाम उल्लेख गरेर जानकारी दिने हो भने यसरी नै भौतिक आक्रमण हुने गरेको छ ।’ वन फँडानीका विषयमा सरोकारवाला निकायलाई जानकारी दिए । उनका अनुसार यसअघि पनि वनकर्मीको मिलोमतोमा भइरहेको फँडानीका विषयमा जानकारी दिने दुई युवालाई आक्रमण भएको थियो ।
प्रकाशित : फाल्गुन ४, २०७८ १०:०६