स्थानीय तहमा बेथिति जथाभावी भुक्तानीले बेरुजु बढ्दै- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा बेथिति जथाभावी भुक्तानीले बेरुजु बढ्दै

कमिसनको लोभमा अधिकांश स्थानीय तहले बजेट टुक्र्याउँदै कोटेसन मागेर सोझै खरिद गर्ने प्रवृत्ति मौलाउँदो
मोहन शाही

डोटी — आफैं अभिनय गरेको चलचित्र ‘साङ्लो’ मा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाले १० लाख रुपैयाँ विनियोजित गरेपछि त्यसले व्यापक चर्चा पायो । उक्त गाउँपालिका अहिले जिल्लामा सबैभन्दा बढी बेरुजु देखिने स्थानीय तहमा परेको छ । प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले २०७६ असार २२ मा भुक्तानी गर्न नमिल्ने सुझाव दिए पनि अध्यक्ष ओझाले चलचित्रलाई भुक्तानी दिने टिप्पणी आदेश सदर गरेका थिए ।

महालेखा परीक्षकको कार्यालयले उक्त अनुदान रकम नियमसंगत नरहेको भन्दै बेरुजु देखाएको छ । तीन आर्थिक वर्षभित्र जोरायल गाउँपालिकाको बेरुजु १२ करोड ४० लाख रुपैयाँ नाघेको छ । अध्यक्ष ओझाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा कागजात मिलाउन नसकेर बेरुजु बढेको दाबी गर्छन् । उनले उपभोक्ता समितिमार्फत सम्पन्न योजनामा बढी बेरुजु आएको बताए ।

आदर्श गाउँपालिकाले आर्थिक अनियमितता गर्ने उद्देश्यसहित बजेटलाई टुक्र्याउँदै विभिन्न सप्लायर्सबाट ६ दिनभित्रमा १६ लाख ५९ हजार रुपैयाँ बराबरको सामग्री सोझै खरिद गरेको छ । २०७५ असार २० देखि २६ गतेभित्र ३ वटा सप्लायर्सलाई ल्यापटप, प्रिन्टर, टीभी, अल्ट्रासाउन्ड मेसिन, सोलार प्यानललगायत सामग्रीको भुक्तानी गरेको छ । ‘सिलबन्दी बोलपत्रबाट प्रतिस्पर्धाका आधारमा सामग्री खरिद गर्दा गाउँपालिकालाई व्ययभार कम हुने गर्छ,’ नाम प्रकाशित नगर्ने सर्तमा एक व्यवसायीले भने, ‘सोझै कोटेशन मिलाएर खरिद गर्दा खरिद कर्ता र बिक्रेता दुवैलाई अतिरिक्त मुनाफा आउने हुँदा धेरै पालिकाले यसैगरी खरिद गर्ने गर्छन् ।’

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ अनुसार ५ लाख मूल्यभन्दा कमका सामग्रीमात्र कोटेशनमा सोझै किन्ने व्यवस्था भए पनि गाउँपालिकाले नियमविपरीत खरिद गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको थियो । सो गाउँपालिकाले ३२ रुपैयाँ पर्ने स्यानिटरी प्याड तीन गुणा बढी मूल्य हालेर कोटेसनबाट समेत खरिद गरेको छ । कमिसनको लोभमा अधिकांश स्थानीय तहहरूले बजेट टुक्र्याउँदै कोटेशन मागेर सोझै खरिद गर्ने प्रवृत्ति मौलाउँदो छ । उता केआईसिंह गाउँपालिकाले अधिकार क्षेत्रभन्दा बाहिर गएर ४० जना कर्मचारी करारमा नियुक्ति गरी कार्यकर्ता भर्ती गरेको छ । वडा कार्यालयमा कार्यालय सहायकलगायत विभिन्न पदमा नियुक्ति गरेको भन्दै गाउँपालिकाले वार्षिक १३ लाख ६५ हजार रुपैयाँ तलबमा खर्च गरिरहेको छ ।

माथिका यी बेथितिका उदाहरण मात्र हुन् । डोटीका स्थानीय तहमा देखिएका उपभोक्ता समितिलाई मनोमानी भुक्तानी, अनियमित तवरले सामग्री खरिददेखि अनावश्यक जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाका फाइलको थुप्रो लागेको छ । दुई नगर र ७ गाउँपालिका रहेको डोटीमा ३ आर्थिक वर्षभित्र ९ अर्ब १५ करोड ८६ लाख रुपैयाँ बजेट आएको छ । जसमध्ये ५१ करोड ७९ लाख बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ सम्मको लेखापरीक्षणमा सो रकम बेरुजु देखाएको हो ।

सबैभन्दा बढी जोरायल गाउँपालिकाको बेरुजु १२ करोड ४० लाख रुपैयाँ छ । त्यस्तै बडीकेदार गाउँपालिकामा ७ करोड ६२ लाख, शिखर नगरपालिकामा ६ करोड ४२ लाख, बोगटान फुडसिल गाउँपालिकामा ६ करोड २० लाख, पूर्वीचौकी गाउँपालिकामा ५ करोड ६२ लाख, दिपायल सिलगढी नगरपालिकामा ६ करोड ४ लाख, आदर्श गाउँपालिकामा ४ करोड ८० लाख, केआईसिंहमा ४ करोड २२ लाख र सायल गाउँपालिकामा ३ करोड ९३ लाख बेरुजु देखिएको छ । ‘बेरुजु देखिए के फरक पर्छ भन्ने धारणा कर्मचारी र जनप्रतिनिधिहरूमा व्याप्त छ,’ डोटी बहुमुखी क्याम्पसका पूर्वसहप्राध्यापक तीर्थराज जोशीले भने, ‘कार्यकर्ताहरूलाई उपभोक्ता समितिमा राख्ने, उनीहरूबाट कमिसन माग्ने नेता कर्मचारीबाट बेरुजु असुल गराउने परिपाटी नहुँदासम्म यस्तो प्रवृत्ति यथावत् रहनेछ ।’ उनले यति ठूलो मात्रामा बेरुजु देखिनु संघीय गणतन्त्रको दुरुपयोग भएको आरोपसमेत लगाए ।

योजनाको आवश्यकताभन्दा पनि कार्यकर्ता पाल्ने उद्देश्यले बजेट विनियोजित गर्दा उपभोक्ता समितिका नाममा बढी बेरुजु देखिएको तर्क एक प्रमुख प्रशासकीय अधिकृतको छ । जथाभावी सडक खन्ने, कार्यालय प्रक्रियाभन्दा बाहिर गएर काम गर्ने तथा काम थोरै गरे पनि विनियोजित बजेट पुरै भुक्तानी गर्न जनप्रतिनिधिले दबाब दिँदा बेरुजु आउने गरेको स्रोतले बतायो । यतिमात्र नभएर पालिकाहरूमा अनावश्यक तलबी सल्लाहकार तथा सहायक नियुक्ति गर्ने परिपाटी पनि व्यापक छ । शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुडसिल गाउँपालिका र केआईसिंह गाउँपालिकाले विभिन्न सल्लाहकार राखेर झन्डै १९ लाख ९० हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशी र उपप्रमुख धौलीदेवी रावलले आफ्ना सहायक, प्रेस तथा कानुनी सल्लाहकारलाई ११ लाख, दिपायल सिलगढी नगरपालिकाकी नगरप्रमुख मञ्जु मलासीले सहायकलाई ३ लाख ९६ हजार, केआईसिंह गाउँपालिका अध्यक्षले आफ्नो सहायकलाई २ लाख ७४ हजार, बोगटान फुडसिल गाउँपालिकाका अध्यक्षले प्रेस सल्लाहकारलाई २ लाख २२ हजार रुपैयाँ नियमविपरीत दिएको पाइएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

आमाले भन्नुभयो- तेरो जात गयो

तारानाथ शर्मा

म २००७ सालमा पिता नभएको अवसर पारेर इलाम जिल्लास्थित फिक्कल घरबाट १६ जना लाहुरेहरू (अर्थात् बेलाइती सेनामा सेवा गरी अवकाश पाएकाहरू) लाई लिएर झापातिर झरें।

झापामा नेपाली कांग्रेसको नेतृत्वमा राणा सरकारसँग युद्ध हुँदै थियो। मलाई त्यही झापा शिविरमा बन्दुक चलाउन पनि सिकाइयो। जे होस्, त्यहाँ तीनचार महिनासम्म युद्ध चल्यो। मैले नेपाली सबै दाजुभाइहरूसँग कुनै भेदभाव नगरी एउटै ठाउँमा जुत्तासहित पलेंटी कसरी अनेक प्रकारका मासु र खानेकुराहरू खाएँ। त्यसको कारण के थियो भने हाम्रो सनातन वैदिक धर्ममा लेखिएको छ भनी मेरा गुरुहरूले सिकाउनुभएको थियो-माता हुन् पार्वतीदेवी पिता हाम्रा महेश्वर, सबै मानव बन्धु हुन् सारा पृथिवी नै भर !

त्यति बेला जातभात उग्र रुपले पालन गरिन्थ्यो। हाम्रो युद्ध झापामा हामी जनताको विजयसहित सकियो, तर इलाममा भने राणाराजै थियो। जब व्यवस्थित रुपले हाम्रो सेनालाई जननेताहरूले इलामतिर लाने व्यवस्था गर्दै हुनुहुन्थ्यो मैले अचानक मेरा पितालाई राणासरकारले थुन्यो भन्ने नराम्रो खबर सुनें। उहाँ सरकारी कर्मचारी हुनुहुन्थ्यो अनि म असह्य भएर बिदा मागी दार्जिलिङतिरबाट घर फर्कें। घरमा आमाले ‘तेरो जात गइसकेकाले तँलाई धोती फेरिरहने आवश्यकता छैन भनेर चुल्हामा जान नदिई मुन्तिर छेत्री मीतबा दीपबहादुर बस्नेतसँग पिरा ओछ्याइदिनुभयो। ‘लडाइँमा तैंले शूद्रहरूसँग बसेर मनपरि खाइस् भनेर इलामभरि हल्ला छ, हाम्रो पनि जात काढिन्छ, त्यसैले तँलाई चौकामुनि बसाउन लागेकी हुँ’ भन्दै आमाले मलाई पस्केको भात तल सारिदिएपछि धोती फेरेर आएको म लगत्तै कोठामा फर्कें र दौरा–सुरुवाल कोटसहित जुत्तासमेत लगाएर फर्कें र खान मात्रै लागेको थिएँ त्यतिबेलै मेरा पिता पँधेरामा न्वाएर फर्कनुभयो र झस्कँदै भन्नुभयो, ‘ए तारा ! तैंले के गरेको हँ? जा, धोती फेरेर आइज !’

‘मैले धोती फेरेरै आएको थिएँ, तर आमाले ‘तेरो जात गयो’ भनेर चुल्हातिर चढ्नै दिनुभएन अनि लौ त भनेर धोती फुकाली पूरा लुगा र जुत्तासमेत लगाएर यहीं तल बसेको हुँ !’ मैले भनें।

पिताले आमालाई सोध्नुभयो, ‘यो हाम्रो छोरो हो कि होइन? हो भने किन तल?’

‘ए बाबु, जा, लुगा फेरेर धोती लगाई आइज। अँ, तैंले आज गायत्री त जपिस्?’ मलाई उहाँले प्रश्न गर्नुभयो।

‘जपें बा, नुहाएँ पनि !’


तस्बिरहरू : सुन्दर बस्नेत

पिताजीले व्याख्या गर्नुभयो, ‘लडाइँमा के खाइन्छ, के गरिन्छ, त्यो एउटा कुरा हो, महाभारतको युद्धमा हाम्रा पुर्खाले भाग लिएकै हुन्, तर त्यहाँ गायत्री जप्ने, नुहाउने, जातभात मान्ने, खाने कुरामा छनोट गर्ने व्याख्या नै हुन सक्तैनथ्यो। तैंले पनि झापाको राणाविरोधी लडाइँमा के खाइस्, कसरी खाइस् र कसले पकाएको खाइस् भनेर खोजीनिति गर्नु हास्यास्पद हुन्छ। तर घरमा आएपछि र शान्तिकालमा भने आफ्ना रीति, आफ्ना नियम र धर्मलाई छोड्नु हुँदैन ! फेरि हाम्रो धर्मले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् विश्वभरिका सबै मानिस बराबर हुन् र ती आफ्नै बन्धु हुन् भनेकै छ।’

त्यसरी मेरा पिताले दिनुभएको शिक्षाको प्रभावले म बढ्दै गएँ, पढ्दै गएँ। अनि पहिले त म रुद्री, चण्डी, भास्वती र पाणिनीको व्याकरण पढ्थें, पछि २००९ सालमा पिताजीले मलाई लगेर अंग्रेजी उच्चविद्यालय (खर्साङ) मा भर्ना गरिदिनुभयो। मलाई त्यहाँको छात्रावासमै भर्ना गरिएको हुनाले समस्त वातावरण अंग्रेजीमय थियो, क्राइस्ट्धर्मी थियो।

छात्रावासमा अंग्रेजी माध्यमका साथै बिहान–बिहान प्रार्थना पनि क्राइस्ट्धर्म (अर्थात् नेपालीमा ‘क्राइस्टेली धर्म’ र अंग्रेजीमा ‘क्रिस्चियन रिलिजन’) मै हुन्थ्यो। प्रार्थनाको एक घन्टा समय छात्रावासका समस्त छात्रहरूले अनिवार्य रूपले उपस्थित हुनैपथ्र्यो। विद्यालयका प्रधानाध्यापक ‘फादर म्याकी’ मलाई असाध्यै माया गर्नुहुन्थ्यो। प्रार्थनामा बस्ताको मेरो स्थिति उहाँ सधैं ध्यानपूर्वक अध्ययन गर्नुहुँदो रहेछ। एक बिहान उहाँले प्रार्थना गर्दागर्दै मलाई बिस्तारी बोलाउँदै डोर्‍याएर अर्को कोठामा लानुभयो र भन्नुभयो, ‘तारानाथ ! प्रार्थनाको समयमा तिम्रो स्थिति म केही दिनदेखि हेर्दै आएको छु। हो, तिम्रो धर्म अर्कै छ र तिमीलाई क्रिस्चियन (क्राइस्टेली) प्रार्थना मन पर्दैन, तर यहाँको अनुशासन पनि त विचार गर्नुपर्‍यो नि।

तिमीलाई थाहै छ। म सधैं छात्राहरूलाई कक्षामा पढाउँदा आध्यात्मिक प्रश्नहरू गर्छु जो कुनै विशेष धर्मसित मात्र सीमित हुँदैनन्। तिमी सधैं ती प्रश्नहरूका उत्तर सर्वप्रथम हुँदै आएका छौ। मैले बुझेको छु तिमी आफ्नो परम्परागत वैदिक धर्मलाई नै मान्यता दिएर सोच्ने हुनाले पनि महादेवका कृपाले तिमी आध्यात्मिक ज्ञानमा सर्वप्रथम हुँदै आएका हौ। जसरी नेपाली, गणित, भूगोल र अंग्रेजीमा समेत तिमी सर्वप्रथम हुन्छौ त्यसरी नै उनै आफ्नै भगवान् शिवको भक्त हुनाले तिमी आध्यात्मिक ज्ञानमा पनि अगाडि छौ। हेर, तर विद्यालयको अर्थात् कक्षाको आफ्नै अनुशासन हुन्छ, त्यसैले यहाँ क्राइस्ट्को प्रार्थना छाडेर अरू धर्मको प्रार्थना गर्न मिल्दैन।

तिमीलाई प्रार्थनाकक्षमा नबस भन्न मिल्दैन। कृपया आऊ, प्रार्थना कक्षमा जाऊँ। तिमी उसरी नै आफ्नो आसनमा चुपचाप बस्नू र अरू क्रिस्चियन (क्राइस्टेली) प्रार्थना गर्छन्, तिमी चुप लागेर मनमनै आफ्नै भगवान् शिवलाई सम्झँदै उनकै अर्थात् शिवजीकै जप गरेर बस्नू।’

यसरी मलाई आध्यात्मिक ज्ञान दिने ती मेरा गुरु फादर म्याकीलाई म सधैं आदर गर्छु। हो त, सबै धर्म बराबर छन् र सबैले हामी सबैका परमेश्वरको गुण गाउँछन्, प्रार्थना गर्छन् !

२०७८ फागुन ३ गते निधन भएका साहित्यकार तारानाथ शर्माको यो स्मृति २०७३ असार २५ गते कान्तिपुरको कोसेलीमा प्रकाशित भएको थियो ।

प्रकाशित : फाल्गुन ३, २०७८ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×