सुदूरपश्चिममा १३ लाखले लगाए दोस्रो मात्रा

धनगढी — सुदूरपश्चिममा २७ लाख बढी जनसंख्यामध्ये शनिबारसम्म १२ लाख ९० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको दुई मात्रा खोप पाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो मात्रा मात्र लगाउनेको संख्या १७ लाख थियो ।

सुदूरपश्चिममा १३ लाखले लगाए दोस्रो मात्रा

जोखिम तथा संक्रमण दरका तुलनामा खोपको प्राथमिकता भने यस प्रदेशमा सुस्त देखिएको छ । भारतसँग सीमा जोडिएकाले संक्रमणको जोखिम अन्यत्रभन्दा उच्च रहेको यस प्रदेशमा अहिले पनि संक्रमण दर दैनिक ५० प्रतिशत हाराहारीमा छ । अहिले पनि कतिपयले खोप उपलब्ध हुने भए पनि खोप लगाउन बेवास्ता गरिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

निर्देशनालयका अनुसार पछिल्लो समयमा करिब डेढ लाखले बुस्टर डोजको मात्रा पनि लगाएका छन् । प्रदेशका सात जिल्लामा १२ देखि १८ वर्षमुनिका बालबालिकाहरूलाई खोप लगाइएको भए पनि कैलाली र डडेलधुरामा उक्त उमेर समूहका बालबालिकाले खोप पाएका थिएनन् । चार दिनयता यी दुई जिल्लामा तीन दिनअघिदेखि सो उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने अभियान जारी छ । शनिबारसम्मको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा १२ लाख ९० हजार ५ सय २० जनाले दुवै मात्र खोप लगाएका छन् । निर्देशनालयका अनुसार पहिलो मात्रा मात्र लगाउनेका संख्या १६ लाख ९९ हजार ४ सय १८ छ । कुल २७ लाख जनसंख्यामध्ये प्रदेश सरकारले २० लाखलाई कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकको सूचीमा राखेको निर्देशालयका तथ्यांक सहायक डीएन गिरीले बताए ।

यस प्रदेशमा हालसम्म कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाउनेको संख्या सबैभन्दा धेरै कैलालीमा छ । कैलालीमा दुवै मात्रा खोप लगाउनेको संख्या ३ लाख ७४ हजार ५ सय ५ छ । यस जिल्लामा पहिलो मात्रा मात्र लगाउनेको संख्या भने ५ लाख ५४ हजार ७ सय १७ छ । कैलालीपछि धेरै खोप लगाउनेको संख्या कञ्चनपुरमा छ । कञ्चनपुरमा शनिबारसम्म दुवै मात्रा खोप लगाउनेको संख्या ३ लाख ३ हजार ७ सय ६० छ ।

भारतबाट स्वदेश फर्किनेहरूलाई सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाइँदै आएको गौरिफन्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले बताए । यस्तै, अत्यधिक भीडभाड हुने कार्यालयहरूमा कार्यालय परिसरमै डेस्क स्थापना गरेर पहिलो र दोस्रो मात्रा खोप लगाउने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

सुदूरपश्चिमा संक्रमणदर स्थिर

यस प्रदेशमा कोरोना संक्रमण दर केही दिनयता स्थिर अवस्थामा छ । संक्रमण घट्न नसके पनि अघिल्लो साता जस्तो तीव्र वृद्धि दर पनि छैन । तर पनि पीसीआर परीक्षण संख्यामा दैनिक ५० प्रतिशत संक्रमण दर भने कायमै छ ।

प्रकाशित : माघ २३, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?