बैतडी-धनगढी उडान रोकियो

बैतडी — यात्रु नपाएपछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । महिना दिनयता बैतडी—धनगढी उडान भएको छैन । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म उडान गर्ने समिट एयरको हवाई सेवा यात्रु अभावले बन्द हुन पुगेको हो ।

बैतडी-धनगढी उडान रोकियो

‘यात्रु कम भएकाले उडान हुन सकेको छैन,’ नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले भने, ‘यात्रु भएमा उडान गर्ने भन्ने तयारी गरिरहेका छौं । तर हुन सकेको छैन । यात्रु कम भएपछि सेवा सञ्चालन गर्ने आधारै भएन ।’

१८ यात्रु क्षमताको समिट एयरको जहाज दसैंपछिसम्म पनि राम्रो चलिरहेको भट्टले बताए । तर पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने र उडान नहुने चिन्ताले यात्रु नआउने गरेका उनले बताए । दैनिक ५/७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेको उनले बताए । १४/१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिने उनले बताए ।

बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय बताउँछन् । भाडा महँगो भएकाले यात्रुहरूले हवाई यात्रामा जान नमान्ने गरेका स्थानीयको भनाइ छ ।

यत्तिकै दूरीको काठमाडौं—पोखराको भाडा २ हजार ५ सय छ । यहाँभन्दा टाढा अछामबाट धनगढीको कमै भाडा छ । तर यहाँको भाडा निकै अवैज्ञानिक र अपारदर्शी भएको छ । त्यसैले हवाई सेवा सर्वसाधारणको पहुँचमा हुन नसकेको यात्रुको गुनासो छ । एउटै एयरलाइन्सको जिम्मा लगाएर महँगो भाडादर कायम भएकाले यात्रुहरू नपाउने समस्या रहेको विद्यार्थी नेता भुवन कार्की बताउँछन् । उनले भने, ‘६/७ सयमा गाडीमा धनगढी पुगिन्छ । अहिले हवाई भाडा बढेर ४ हजार १ सय रुपैयाँ पुगिसकेको छ ।

यता समिट एयरका बैतडी पाटन विमानस्थल हेर्ने कृष्ण भट्ट भने यात्रु अभाव नभई मौसम खराबीले उडान हुन नसकेको दाबी गर्छन् । उनले भने, ‘यात्रु नै नपाएर उडान नभएको होइन । मौसमको खराबीले हो ।’ भाडा भने बढी नै भएको उनले स्विकारे । हवाई रुटमा अछाम र बैतडी बराबर नै भएको उनले बताए । उनले भने , ‘सुरुमा भाडा ३ हजार ८ सय ५० रुपैयाँ थियो । बीचमा इन्धनको मूल्य बढेपछि हामीले पनि बढाउनुपरेको हो ।’

प्रकाशित : माघ १५, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?