२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मास्क बाँड्दै सीडीओ

मोहन शाही

डोटी — ‘तपाईंको मास्क खोइ ? पसलअघि घाम ताप्दै गरेका दिपायलका व्यापारी खगेन्द्र पाठक अचानक आफूमाथि तेर्सिएको प्रश्नले झस्किए । नजिकै पुगेका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले हातमा मास्क दिँदै प्रतिष्ठित व्यक्तिले नियमित मास्क लगाएर समाजलाई उदाहरण देखाउन भन्दै सुझाव दिए ।

मास्क बाँड्दै सीडीओ

व्यापारी पाठक त्यतिखेर नतमस्तक भए । डोटी उद्योग वाणिज्य संघका उपाध्यक्ष खेमराज भण्डारीले पनि बिहीबार त्यस्तै प्रश्नको सामना गर्नु पर्‍यो । सगुन हार्डवेयरमा उपाध्यक्ष भण्डारी बिनामास्क व्यापार गरिरहँदा प्रमुख जिल्ला अधिकारी विष्ट आइपुगे । झटपट टेबलमा राखेको पुरानो मास्क लगाउन थाले । लाजले उनी रातोपिरो भए ।

डोटीमा व्यापारी, सेवाग्राही, यात्रुदेखि सवारीचालकलाई प्रमुख जिल्ला अधिकारीले यस्तै प्रश्न गर्दै मास्क लगाउन निर्देशन दिएका थिए । बिहीबार उनले डोटीको मुख्य व्यापारिक क्षेत्र दिपायलमा मास्क वितरण गर्दै अनिवार्य प्रयोग गर्न सार्वजनिक आह्वानसमेत गरे । ‘बजारमा अधिकांशले मास्क नलगाउने गरिएको भेटायौं’, प्रमुख जिल्ला अधिकारी विष्टले भने, ‘भेटिएका ग्राहक, व्यापारी, यात्रु, सवारीचालकलाई मास्क दिएर सम्झाइबुझाइ गरेर पहिलो पटक छोडेका छौं । फेरि फेला परे कानुनअनुसार कारबाही गरिनेछ ।’ उनले विभिन्न तवरबाट जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्डहरूको कार्यान्वयन गराइरहेको जानकारी दिए ।

डोटीमा कोरोना संक्रमण तीव्र हुँदा पछिल्लो समय कडाइ गर्न थालिएको छ । जनस्वास्थ्यका मापदण्डहरूको पालना गराउन जिल्ला संकट व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्ट आफैं बजार निस्केका थिए ।

डोटीमा दुई साताभित्र दुई सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । भारतबाट फर्केका पूर्वीचौकी गाउँपालिकाका एक पुरुषमा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएकाले थप सजग रहनुपर्ने प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

बिहीबार उनले कपडा, तरकारी, किराना पसल, होटल, वित्तीय संस्था, सार्वजनिक सवारीसाधनमा अनुगमन गरेका थिए । उनले मास्क, सन्देशमूलक स्टिकर, फ्ल्याक्स प्रिन्ट, प्रिन्ट लोगो वितरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दानबहादुर मल्ल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वार्टर डोटीका प्रमुख एसपी हर्कसिंह विष्ट, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, नागरिक समाज, राजनीतिक दल, सुरक्षाकर्मी, व्यापारीहरूलगायतको मास्क खोइ अभियानमा सहभागिता थियो ।

जिल्ला संकट व्यवस्थापन समितिलाई मास्क खोइ अभियानमा बास नेपालले संयोजन तथा समन्वय गरेको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए । अभियानमा एक हजार दुई सय मास्क, विभिन्न सन्देशमूलक स्टिकर, फल्यास प्रिन्ट लोगो वितरण गरिएको थियो ।

प्रकाशित : माघ १४, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?