२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दार्चुलाका ६१ वडामा आधारभूत स्वास्थ्य

मनोज बडू

दार्चुला — दार्चुलाका ६१ वडामै आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । साविकका स्वास्थ्य चौकीबाट टाढा रहेका बस्तीमा गाउँघर क्लिनिकलगायतबाट स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन सबै वडाहरूमा आधारभुत तहको स्वास्थ्य संस्था स्थापना भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दार्चुलाका ६१ वडामा आधारभूत स्वास्थ्य

जिल्लामा दुई अस्पतालसहित गाउँघर क्लिनिकबाट स्थानीयलाई स्वास्थ्य सेवा उपलब्धता भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । उनका अनुसार सरदमुकाम खलंगा र गोकुलेश्वरमा अस्पताल छन् । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकसहित जनशक्तिले स्वास्थ्य सेवा प्रदान भईरहेको छ । मुलुक संघीय संरचनामा गएपछि आधारभूत स्वास्थ्य उपचारका लागि गाउघरमै स्वास्थ्य संस्थाहरू स्थापनाक्रम बढेको छ । जिल्लाका दुर्गम बस्तीमा समान्य किसिमको उपचारको व्यवस्था हुने गरी स्थानीय तहहरूले सेवा दिइरहेको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार आधारभूत स्वास्थ्य केन्द्र १८, स्वास्थ्य चौकी ४०, नगर स्वास्थ्य केन्द्र ४, सामुदायिक स्वास्थ्य इकाई ३३, गाउघर क्लिनिक एक सय ४४, खोप क्लिनिक एक सय ४२, माइक्रोस्कोपिक सेन्टर ८, डट्स सेन्टर ४२, सब कोल्ड चेन सेन्टर ३ ठाउँबाट स्वास्थ्य सेवा उपलब्धता भइरहेको छ । जिल्लाका ५ ठाउमा आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छन् । जिल्लाका धेरैजसो बजार क्षेत्र तथा ग्रामीण बस्तीहरूमा समेत निजी क्षेत्रबाट सञ्चालित क्लिनिकलगायतका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिइरहेको जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिए ।

ग्रामीण बस्तीसम्म सहज स्वास्थ्य सेवा विस्तार कार्यक्रमअन्तर्गत सोमबार मालिकार्जुन गाउँपालिका–३ बसेडीमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । वडाको मालिकार्जुन स्वास्थ्य चौकीबाट टाढाको बस्ती बसेडीमा स्थानीयलाई स्वास्थ्यको पहुँचमा ल्याउन क्लिनिक सञ्चालनमा आएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामदत्त भट्टले बताए । स्थानीयलाई समान्य स्वास्थ्य समस्या आउँदा मड पुग्न अप्ठ्यारो हुने हुँदा जटिलबाहेकको बिरामीलाई गाउँघर क्लिनीकमा उपचारको व्यवस्था छ ।

त्यस्तै जिल्लाको दुर्गम एवं सबैभन्दा उचाइमा रहेको ब्यास गाउँपालिका–१ स्थित टिंकर गाउँमा ब्यास गाउपालिकाले सामुदायिक आधारभुत स्वास्थ्य इकाईबाट स्वास्थ्य सेवा स्थानीयलाई उपलब्धता गराइरहेको ब्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए । ६ महिना मात्र उक्त ठाउमा स्थानीयको बसाइ हुने समयमा इकाईबाट आधारभूत स्वास्थ्य सेवा उपभोग स्थानीयसँगै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले लिइरहेका छन् । अहिले भाडाको घरमा एक जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा स्वास्थ्य इकाई केन्द्रको भवन निर्माणाधीन छ । निर्माणपछि व्यवस्थित रूपमा सञ्चालन गर्ने गाउँपालिकाले योजना बनाइरहेको अध्यक्ष बुढाथोकीको भनाइ छ । ‘जनताको माग र आवश्यकताको आधारमा विभिन्न किसिमका स्वास्थ्य संस्थाहरू स्थापना भइरहेका छन्,’ अध्यक्ष बुढाथोकीले भने, ‘नागरिकको मुख्य आवश्यकता जस्तो स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेका छौं ।’

प्रकाशित : माघ १४, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?