कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बजेट अभावले डोटीमा ग्राम अलपत्र

डोटी — मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि डोटीमा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय भए पनि अहिलेसम्म अलपत्र परेको छ ।

देशभर घोषणा भएका ४५ औद्योगिक ग्राममध्येको डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम बजेट अभावले अलपत्र परेको हो ।

ग्राम निर्माणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा ९२ लाख निकासा आएकोमा ८३ लाख ६० हजार मात्र खर्च भएको गाउँपालिकाले जनाएको छ ।

उक्त रकमबाट औद्योगिक ग्राम क्षेत्रमा सडक, खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायतका संरचना निर्माण सुरु भए पनि बजेट अपुग भएपछि काम रोकिएको छ ।

‘बजेट अभावले काम अघि बढ्न सकेको छैन,’ जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले भने, ‘यसबारे विभागसँग नियमित छलफल भएको छ, विस्तृत अध्ययन गरेर चाँडै बजेट निकासा गरिने विश्वास छ ।’

उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण सुरुमा निकै तीव्र रूपमा भए पनि अहिले सुस्ताएको छ । कुल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य भइरहेको छ । यद्यपि कम्तीमा पनि ५ सय रोपनीसम्म जग्गा आवश्यक पर्ने स्थानीय बताउँछन् ।

सामुदायिक वन क्षेत्रमा औद्योगिक ग्राम निर्माण भएकाले थप जमिन प्राप्तिका लागि विभिन्न कानुनी अड्चन आउन सक्ने अनुमान गरिएको छ । औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाले आर्थिक वर्ष ०७७/०७८ मा १३० स्थानीय तहमा औद्योगिक ग्रामका लागि प्रस्ताव गर्न पत्राचार गरे पनि डोटीका कुनै पनि तहले घोषणा गरेका छैनन् ।

२०७६ माघ २० गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो ।

प्रकाशित : माघ १३, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?