राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी- सुदूरपश्चिम - कान्तिपुर समाचार

राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

अर्जुन शाह

धनगढी — राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहमा १७५ र प्रदेश सभाका ५३ मतदाता रहेको सुदूरपश्चिममा कूल मतभार ५६४६ हो । त्यसमध्ये नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेकी शाहले कुल ३ हजार ८ सय ३४ मतभार प्राप्त गरेर विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोष कुमारी थापाले प्रदेशतर्फ एक हजार ७२८ मत पाएकी छन् ।

यस्तै माओवादी केन्द्रबाट उम्मेदवार रहेका जगत पार्की पनि विजयी भएका छन् । उनले पनि ३७६२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार नरेश विश्वकर्माले १७८२ मतभार प्राप्त गरेका छन् । यस्तै अन्य समूहतर्फ उम्मेदवार रहेको नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् उनले ३ हजार ७४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार डिल्लीराज भट्टले एक हजार ८६६ मतभार प्राप्त गरेका छन् ।

प्रकाशित : माघ १२, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मतीमा गठबन्धनका तिमल्सिना र पौडेल विजयी

सुवास विडारी

मकवानपुर — राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो ।

निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा (एस) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार प्राप्त गरेका थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे ।

पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।

एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ ४७मत अर्थात् २ हजार २५६ मतभार गरी कुल ४ हजार ३४४ मतभार प्राप्त गरेका थिए ।

नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरिन् । काफ्लेले कुल ८४ मतभार प्राप्त गरिन् । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरेका थिए । उनले कुल ८४ मत भार प्राप्त गरे ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए । राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेको थियो । प्रदेशसभाको १०९ मतमध्ये १०६ मत खसेको थियो । स्थानीयतर्फ शतप्रतिशत अर्थात् २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो ।

मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले भने सहभागिता जनाएन । विवेकशीलको प्रदेशतर्फ तीन मत रहेको थियो ।

प्रकाशित : माघ १२, २०७८ १७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×