प्रदेशकै पहिलो राजमार्ग जीर्ण- सुदूरपश्चिम - कान्तिपुर समाचार

प्रदेशकै पहिलो राजमार्ग जीर्ण

 ३२ वर्षअघि कालोपत्र भएयता एक पटक पनि स्तरोन्नति भएन‚ हरेक वर्ष मर्मतसम्भार गर्न करोडौं खर्च तर अवस्था उस्तै
डीआर पन्त

धनगढी — राजमार्गको मध्यभागमा पर्ने बुडरनजिक ट्राफिक प्रहरी अधिकृत हर्कबहादुर ऐर हरेक यात्रुवाहक सवारीसाधन रोकेर दुर्घटनाबाट जोगिन आग्रह गर्छन् । ठाउँ–ठाउँमा सडकमा टाला हालेको, कालोपत्र उप्किएर खाल्डा भएको र पुरिएका खाल्डा पनि उप्किएकाले जोगिएर गाडी चलाउन उनको आग्रह हुन्छ । राजमार्गका धेरै भागमा सडक भासिएकाले पनि दुर्घटनाको जोखिमप्रति उनी चालकहरूलाई सतर्क गराउँछन् । यो उनको दैनिकी जस्तै हो ।



३२ वर्षअघि कालोपत्र भएको सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्ग (धनगढी–डडेलधुरा राजमार्ग) जीर्ण भइसकेको छ । कालोपत्र भएपछि राजमार्गको अहिलेसम्म स्तरोन्नति गरिएको छैन । धनगढीदेखि डडेलधुरासम्म यो राजमार्ग १ सय ४० किलोमिटर छ । धनगढीदेखि अत्तरियासम्मको १६ किलोमिटरबाहेक १ सय २४ किलोमिटर राजमार्ग टालटुलकै भरमा छ । गोदावरी–सहजपुर र बुडर–भत्काँडा खण्डको अवस्था निकै जीर्ण छ ।

‘यो कालोपत्र देखिने मात्र हो,’ बस चालक नवीन खड्काले भने, ‘यस्तो कालोपत्रभन्दा कच्ची सडकमा गाडी चलाउन सुरक्षित हुन्थ्यो । पटकपटक टालटुल गर्दागर्दै कालोपत्र सडक नाममात्रको छ ।’ यस्तो सडकमा गाडी चलाउन सबैभन्दा बढी जोखिम हुने उनको अनुभव छ । ‘कहाँनिर कतिबेला सडकमा खाल्डो हुन्छ पत्तै हुँदैन,’ उनले भने, ‘टालटुल गर्दागर्दै सडकभन्दा पनि कालो रङको घोडेटो जस्तो भइसकेको छ ।’ २०४६ मा कालोपत्र भएपछि अहिलेसम्म सडकको एक पटक पनि स्तरोन्नति नभएको चालक खड्का सुनाउँछन् । ‘यो सडकमा जति पनि ठूला दुर्घटना भए तीमध्ये अधिकांश सडकको दुर्दशाका कारण भएको हो,’ उनले भने । मानवीय त्रुटिभन्दा पनि प्राविधिक त्रुटिका कारण भएका दुर्घटनाले अहिलेसम्म सयौंको ज्यान गइसकेको छ ।

सडकको मूल भाग भत्किँदा भत्किँदै अधिकांश ठाउँमा पानी बग्ने नालाजस्तो बन्दै गएको छ । दैनिक २ सय वटासम्म यातायातका साधन चल्ने मापदण्डअनुसार बनेको यो सडकमा अहिले दैनिक ५ हजार बढी साधन गुड्ने गर्छन् । त्यसमध्ये पनि पहाडी जिल्लामा सञ्चालित ठूलठूला परियोजनाका लागि चाहिने निर्माण सामग्री बोकेका सवारी र हेभी इक्युपमेन्टसमेत यसै राजमार्गमा चल्ने गरेका छन् । हरेक वर्ष सडक डिभिजन कार्यालयहरूले यो राजमार्गको मर्मतसम्भार भन्दै करोडौं रकम खर्चंदै आएको तथ्यांकमा देखिन्छ, तर सडकको भने दुर्दशा झन् बढ्दै गएको छ ।

कालोपत्र हुँदा बनेका अधिकांश संरचनाहरू भत्किसकेका छन् । सडकको दुवैतिर बनेका पक्की पर्खालहरू पहिरोले भत्केपछि मर्मतसम्भार भन्दै बनेका संरचनाहरू हरेक वर्ष भत्किने गरेका छन् । अझ मोड सुधारका नाममा यस वर्ष साहुखर्क सडक खण्डमा जथाभावी डोजर प्रयोग गरी खनिएपछि सडक कामै नलाग्ने भएको छ । ‘अधिकांशका लागि यो राजमार्ग कमाउने भाँडो भएको छ,’ सडक डिभिजन कार्यालय कुलपातेका एक कर्मचारी भन्छन्, ‘जति अनियमितता यो सडकको मर्मतसम्भार सुधारका नाममा भएको छ, त्यति कहीं पनि नभएको होला ।’ उनका अनुसार सडकको स्तर सुधारका लागि योजना बन्दैनन् तर इन्जिनियर र ठेकेदारले कसरी कमाउने भन्ने आधारमा मर्मतसम्भारका योजना बन्ने गरेका छन् ।

देशकै सबैभन्दा पुरानोमध्येको एक भीमदत्त राजमार्ग अहिलेसम्म किन स्तरोन्नति हुन सकेन ? सडक डिभिजन कार्यालय कुलपातेका डिभिजनल इन्जिनियर दीप बराही भन्छन्, ‘यो नीतिगत र राजनीतिक प्रश्न हो तर डिभिजन कार्यालयको अधिकार क्षेत्रभित्र रहेका सबै प्रयास भइरहेका छन् ।’ डिभिजनले मोड सुधार र चौडा गर्ने, सामान्यतया हुने समस्या तत्काल समाधान गर्ने काम निरन्तर गरिरहेको पनि उनले जानकारी दिए । ‘सेती, महाकाली र भीमदत्त राजमार्ग सुधारका लागि ३५ करोड रुपैयाँ यस वर्ष मात्रै विनियोजन भएको छ । भीमदत्त राजमार्गमा मात्रै कति खर्च हुन्छ, यो यकिन गरेर मात्र भन्न सकिन्छ,’ उनले भने ।

२०३३ मा पहिलो पटक धनगढीदेखि डडेलधुरासम्म मोटर पुगेको थियो । सडक विभागका तत्कालीन कर्मचारी रामचन्द्र अवस्थीका अनुसार २०१७ देखि निर्माण सुरु भएको यो सडक सुदूरपश्चिमकै सबैभन्दा पुरानो सडक हो । यसअघि सुदूरमा कुनै पनि सडक थिएनन् । ‘राजा महेन्द्रले २०१४ मा शिलान्यास गरेको धनगढी–डडेलधुरा राजमार्ग र धरान–धनकुटा सडक बीसको दशकमा एकैसाथ निर्माण सुरु भएका हुन्,’ उनले भने, ‘कैलालीको गौरीफन्टा भन्सार नाकादेखि डडेलधुराको बाँधखोरसम्मको सडक निर्माण परियोजना २०३३ मा सकिएको थियो । त्यसपछि २०४६ मा यो राजमार्ग कालोपत्र तथा स्तरोन्नति गर्ने काम सुरु भएको हो ।’

धरान—धनकुटा सडक तीन पटक स्तरोन्नति हुँदै दुई पटक त कालोपत्र नै भइसकेको छ । तर, भीमदत्त राजमार्ग भने अहिलेसम्म स्तरोन्नतिसमेत हुन सकेको छैन । प्रदेशका ७ पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भए पनि संघ तथा प्रदेश कुनै पनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यान दिएका छैनन् ।

प्रकाशित : माघ ११, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्

सबै स्वराेजगार बनेकाे एउटा गाउँ ‘बयलीडाँडा’

प्रकाश बराल

काठमाडौँ — हाल गलकोट नगरपालिका २ बयलीका सबै स्वरोजगार छन् । बयली आसपासमा रहेका सबै ४५ घरधुरीले नै तरकारी बेचेरै लाखौं कमाउन थालेका छन् । अन्न बेसाएर खाने गरेको बयलीडाँडाले हाल लाखौंको तरकारी बजार पठाउन थालेको छ । वैदेशिक रोजगारबाट हैरानी खेपेर फर्केका हिराबहादुर पुनले यहाँ सुरु गरेको हाइटेक प्रविधिको खेती अहिले अरु घरले पनि थालेका छन् । 

पहिले पुनले टनेल बनाउन मात्रै एक लाख खर्चेको देखेर गाउँलेले गाली गर्थे । ‘नहुने ठाउँमा खर्च गरेको भनेर धेरैको गाली खाएँ, काम छाडिनँ’ उनले भने ‘पहिलो वर्षको टनेल हावाले उडायो ।’ उनी पछि हटेनन्, बरु फलामे पाइप राखेर हाइटेक प्रविधिको बलियो टनेल बनाए । त्यसपछि भने बयलीमा पैसा भित्रिन थाल्यो ।

पहिलो वर्षमै १ लाख बढीको तरकारी बेचेपछि उनलाई आँट बढ्यो । पुनले ५ रोपनी बारीमा ६ वटा ठूलाठूला हाइटेक टनेल ठड्याए । यतिबेलासम्म उनको १४ लाख रुपैयाँ खर्च भैसकेको थियो । गाउँका सहकारीबाट ऋण समेत लिए । पहिलो वर्षको तुलनामा दोस्रो वर्ष तीन गुणा कमाइ गर्दै अहिले वार्षिक १० लाख बढी कमाउन उनी सफल छन् ।

फलामले बनेका हाइटेक टनेलभित्र उनले गोलभेंडासहित सबै प्रकारका ताजा तरकारी लगाउँछन् । कृषि उत्पादनमा पत्नी सुशिला र छोरा हिमालले पनि सघाएका छन् । पुनले एउटा टनेललाई मार्फा जातको रायो साग लगाउन छुट्टयाएका छन् । अहिले वर्षमा २ लाख रुपैयाँको मार्फा साग बेच्ने गरेको उनले सुनाए । ‘टनेलमा लगाएको साग देखेर कृषिका अधिकृतहरु पनि दंग परेका छन्’ पुनले भने, ‘मैले गरेको प्रगति देखेपछि नगरपालिका र कृषि ज्ञान केन्द्रले पनि लगानी बढाएको छ ।’ ज्ञान केन्द्रबाट उनले ४ लाख अनुदान पाएको बताए । उनको बारीमा लगाएको मार्फा साग सात महिनासम्म बेच्न मिल्नेगरी पलाउँछ ।

पानी नभएकोले उत्पादन हुनै छाडेको बयलीडाँडामा गलकोट नगरपालिकाले प्लाष्टिक पोखरी निर्माणमा लगानी गरेको छ । सुुरुवातमा एक दुई वटा पोखरी बनाएपनि किसानले गरेको प्रगतिपछि थप योजना दिने तयारी गरेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । पहिला हिराबहादुरको मात्रै तरकारी खेती थियो । त्यसपछि उनैका दाजु कृष्णबहादुर र भाउजु नन्दकली मिलेर तरकारी खेती थाले । उनीहरुको पनि अहिले ३ वटा टनेल छन् । सुख्खा बयलीडाँडा अहिले थोपा सिँचाइ र प्लाष्टिक पोखरीको सिँचाइले हरियो देखिन्छ । कम्तिमा दुई वटा टनेल नभएको घरै छैन । तरकारी लगाएको नजिकै चिस्यान बढ्दा गहुँ, मकै र कोदोको खेती पनि फस्टाएको नन्दकलीले बताइन् ।

बागलुङको गलकोट नगरपालिका २ स्थित बयलीडाँडाका हिराबहादुर पुन र उनकी पत्नि सुशिला गोलभेडा टिप्दै ।

नन्दकलीले बेसार र अदुवा पनि लगाएकी छिन् । वर्षमा झण्डै एक लाखको बेसार मात्रै बेच्ने उनले दावी गरिन् । अन्य तरकारी समेत गर्दा वर्षमा ७ लाख कमाएको उनले बताइन् । उनीहरुको उत्पादन गलकोट नगर क्षेत्रसहित बागलुङ बजार र गुल्मीको टक्सारसम्म पुग्ने गरेको छ । ‘अहिले एक दुई दिन बिराएर ट्रक आए पनि तरकारी भरिन्छ’ गलकोट नगरपालिकाकी कार्यपालिका सदस्य बिष्णु बिकले भनिन्, ‘दलित र गैर दलित समुदाय सबैले खेतीपातीबाटै कमाइ गर्न थालेका छन् ।’

अझै यहाँ सुख्खा मौसममा खानेपानीको समस्या छ । ४५ मिनेट पर हिँडेर तोरीखोलाबाट गाग्रीमा खानेपानी ओसार्ने समस्या अझै हटेको छैन । वडा कार्यालयले भने एक घर एक धाराको अभियान ल्याएको अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘अब बयलीडाँडामा हावा मात्रै हैन, शुद्ध खानेपानी र सिँचाइको पनि सुविधा पुग्छ’ भण्डारीले भने, ‘नगरपालिका, प्रदेश सरकार र गैरसरकारी संस्था समेत मिलेर छिट्टै वृहत खानेपानी आयोजना पुरा गर्दैछौं ।’ यो अभियानमा झण्डै २ अर्ब रकम खर्च हुने उनले बताए ।

बयली कृषि समूहका अध्यक्ष चिन्तबहादुर बोहराले किसानको मुहारमा खुसी देख्नपाएको बताए । किसानले घरघरमा भकारो सुधार, मल छोपेर राख्ने विधि र घरपरिवार सफाइ अभियान पनि चलाएका छन् । उनले भने, ‘बयलीगाउँको मेहेनत देखेर छिमेकी मसरा गाउँमा पनि कृषि उत्पादन बढ्न थालेको छ । ‘अब हामीले बयली र मसरागाउँलाई कृषि पर्यटनमा जोड्दैछौं’ वडा सदस्य भक्तबहादुर घर्तीमगरले भने, ‘होमस्टेमा आएका पर्यटकलाई किसानको बारी समेत घुमाउने योजना छ ।’ किसानको मेहेनत देखाएर बजार प्रवद्र्धनमा पनि जनप्रतिनिधिले साथ दिएको पुनले बताए ।

प्रकाशित : माघ ११, २०७८ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×