मुख्य नाकाबाहेकमा परीक्षण छैन

तीव्र संक्रमण भएको भारतका विभिन्न ठाउँबाट आउने स्थानीय कोरोना परीक्षण नगरी सिधै गाउँ पसेका छन् 
मनोज बडू

दार्चुला — भारतसित सीमा जोडिएका जिल्लाका ६ नाकामध्ये दार्चुलाको पुलघाट नाकामा मात्र कोरोना परीक्षण भइरहेको छ । अन्य ५ नाकामा परीक्षण नहुँदा संक्रमितहरू सिधै घर पुगिरहेका छन् । यसले समुदायमा संक्रमण फैलन थालेको छ ।

मुख्य नाकाबाहेकमा परीक्षण छैन

जिल्लामा सबै नाकाबाट नेपाल–भारत आवतजावत निर्बाध रूपमा भइरहेको छ । जिल्ला प्रशासनले स्थानीय तहलाई भारतसितका सीमा नाकामा कोरोनाको परीक्षण गर्न भने पनि स्थानीय तहहरूले अहिलेसम्म व्यवस्था गरेको छैन । जिल्ला प्रशासनले कोरोनाको तेस्रो लहर जिल्लामा पनि फैलिन थालेपछि स्थानीय तहलाई सबै सीमा नाकाहरूमा अनिवार्य कोरोना परीक्षणको व्यवस्थापन गर्न भनिएको छ ।

जिल्लाको सदरमुकामस्थित पुलघाट नाकाबाहेक ब्यास गाउँपालिकाको सीतापुल तिग्रम, महाकाली नगरपालिकाको दत्तु, मालिकार्जुन गाउँपालिकाको जौलजिवी र लेकम गाउँपालिकाको लाली नाकामा कोरोना परीक्षण नभएको स्थानीय बताउँछन् । भारतमा तीव्र संक्रमण भएको ठाउँबाट आउने स्थानीय कोरोना परीक्षण नगरिकनै सिधै गाउँ पसिरहेका छन् ।

अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने हो । सीमा नाकामा निःशुल्क कोरोना परीक्षणको पोस्टर लगाएका छन् ।

तर, स्वास्थ्यकर्मीको उपस्थिति देखिँदैन । प्रहरीले नेपाल–भारत आवतजावत गर्ने नागरिकलाई खोप लगाएको वा नलगाएको भनी सोध्ने गरेको स्थानीय जमनसिंह कुँवरले बताए । कोरोनाको परीक्षण नहुँदा गाउँभरि कोरोना संक्रमित भरिरहेका छन् । उनले भने ‘गाउँका अधिकांश मानिसहरूमा कोरोनाको लक्षण जस्ता बिरामी धेरै छन् ।’

सदरमुकामको पुलघाटमा दैनिक भारतका विभिन्न ठाउँहरूबाट नेपाल प्रवेश गरिरहेका कोरोना लक्षण देखिएकाको परीक्षण भइरहेको छ । भारतका विभिन्न ठाउँबाट दैनिक ५०/६० जना भित्रिने गरे पनि थोरैको मात्र परीक्षण हुने गरेको खलंगाका स्थानीय पुरनसिंह साहुले बताए ।

उनका अनुसार पारिबाट आउने झोला भिरेको मानिसहरूलाई मात्र खोजपुछ गरिन्छ । खलंगा पुलघाट सीमानाका र जौलजीवी सीमानाकामा कोरोना परीक्षणको व्यवस्थापन भइसकेकाले सबै सीमानाकामा सो व्यवस्था गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।

त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिको बुधबारको बैठकमा सम्बन्धित स्थानीय तहका प्रमुखहरूलाई सम्बन्धित सीमानाकामा कोरोना परीक्षणको व्यवस्थापन गर्न आग्रह गरिएको जनस्वास्थ्य अधिकृत भट्टले जानकारी दिए । छिटो सीमानाकामा कोरोना परीक्षणको व्यवस्थापन नगरिए नाकामा आवागमन बन्द गरिनेसम्मको बैठकमा छलफल भएको उनको भनाइ छ ।

कैदीबन्दीसँग भेटघाट बन्द

कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला कारागारका कैदीबन्दी भेटघाट बन्द गरिएको छ । कारोना जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरिएको कार्यालय प्रमुख वीरेन्द्रसिंह धामीले बताए । धामीका अनुसार दुई महिला कैदी, १ महिला थुनुवा र ५८ पुरुष थुनुवा छन् ।

एक नाबालकसमेत आमासँगै कारागारभित्र छन् । क्षमताभन्दा बढी कैदी तथा थुनुवाहरू राख्नुपर्ने बाध्यता सिर्जना भएकाले कैदी तथा थुनुवाहरूलाई समस्या छ । कारागारमा १५ महिला र २५ पुरुषको क्षमता छ ।

प्रकाशित : माघ ९, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?