कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नाकामा कडाइ, बस्तीमा लापरबाही

‘जुन गतिमा संक्रमण बढिरहेको छ त्योअनुसार परीक्षण हुन सकेको छैन’
भवानी भट्ट

कञ्चनपुर — भारतबाट घर फर्किने नेपालीको गड्डाचौकी नाकामै एन्टिजेन परीक्षण गरिन्छ । संक्रमण देखिए उनीहरूलाई नाकाबाटै महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिन्छ । संक्रमण नदेखिएकाहरू घरतर्फ लाग्छन् । कोरोना संक्रमण रोकथामका लागि नाकामा परीक्षणमा कडाइ गरिए पनि जिल्लाभित्र भने निकै लापरबाही भएको देखिन्छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको राजधानी काठमाडौंलगायत अन्य जिल्लाबाट आउनेहरूलाई सामान्य चेकजाँचसमेत हुँदैन ।

नाकामा कडाइ, बस्तीमा लापरबाही

अहिले पनि पालिकास्तरमा परीक्षणको दायरा बढाउन सकिएको छैन । महाकाली प्रादेशिक अस्पतालमा दैनिक ७०/८० जनाको पीसीआर परीक्षण हुने गरेको छ । यसबाहेक स्थानीय तहहरूमा परीक्षणको अवस्था निकै न्यून छ । ‘जुन गतिमा संक्रमण बढिरहेको छ त्योअनुसार परीक्षण हुन सकेको छैन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘संक्रमण समुदायमै फैलिइसकेका कारण पालिकाहरूले वडास्तरमै परीक्षण गर्नुपर्ने देखिन्छ ।’

कञ्चनपुरमा केही दिनयता दैनिक संक्रमित हुनेको संख्या करिब २ सयको हाराहारी छ । जसमध्ये आधा गड्डाचौकी नाकामा र बाँकी जिल्लाभित्र नौवटै पालिकामा देखिने गरेका छन् । जिल्लामा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा संक्रमित देखिएका छन् । दैनिक ६०/७० जनामा संक्रमण पुष्टि भइरहेको छ ।

शुक्रबार कञ्चनपुरमा २०१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भीमदत्त नगरपालिकामा ७६ र गड्डाचौकी नाकामा ७४ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयकाअनुसार शुक्रबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९३ पुगेको छ । सक्रिय संक्रमितमध्ये २३ जना मात्रै संस्थागत आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा छन् । उनीहरूले होम आइसोलेसनमा बस्दा स्वास्थ्य मापदण्ड अपनाएको छ वा छैन भनेर रेखदेखसमेत हुन सकेको छैन ।

जिल्ला सदरमुकामसमेत रहेको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा संक्रमण बढी देखिएको छ । नगरपालिकाका कर्मचारीदेखि महाकाली प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवाहरू बन्द गरिएका छन् । अस्पतालले सामान्य अवस्थाका बिरामीलाई अहिले चेकजाँचका लागि नआउन आग्रह गरेको छ । नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बुधबारदेखि ५ दिनका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले पनि १२ जना कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरू केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

‘हामीले नाकामा कडाइ गर्‍यौं, संक्रमितलाई सकेसम्म आइसोलेसनमै राख्न खोज्यौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले भने, ‘तर भित्र भने रोकथाममा ध्यान नै दिन सकेनौं ।’ उनले काठमाडौंलगायत अन्य जिल्लाबाट आउनेहरू परीक्षणबिना नै समुदायमा जाँदा संक्रमण तीव्र भएको बताए । अहिले सबैभन्दा बढी संक्रमित भएको काठमाडौंबाट आउनेहरूको कुनै परीक्षण वा चेकजाँच हुन सकेको छैन । गड्डाचौकीनाकामा संक्रमण देखिएकाहरूसमेत महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनबाट भागेर सार्वजनिक बसबाट घर गएका छन् । उनीहरूबाट समेत समुदायमा संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘अहिले पनि नाकामा मात्रै परीक्षण भइरहेको छ, जिल्लाभित्र परीक्षण बढ्न सकेको छैन्,’ महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘भारतबाट घर फर्केकाहरूबाट मात्रै संक्रमण फैलिएको होइन, काठमाडौंबाट आउनेहरूले समेत संक्रमण फैलाएका छन् ।’ उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला काठमाडौंबाट आउनेलाई होम क्वारेन्टिनमै बसाइएको थियो । तर अहिले काठमाडौंबाट आउनेहरू सिधै समुदायमा घुलमिल भइरहेका छन् ।

नाकामा कडाइ गर्दा केही हदसम्म संक्रमितहरू सोझै समुदायमा जानबाट रोकिएका छन् । तर आन्तरिक रूपमा पनि चेकजाँच र परीक्षण नबढाउँदा संक्रमण भित्रभित्रै भुसको आगोजस्तै समुदायमा फैलिएको छ । अहिले पनि पालिकाहरूले परीक्षणको दायरा बढाएर संक्रमण रोकथाममा ध्यान दिन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् । पालिकास्तरमा एन्टिजेन परीक्षणका लागि पर्याप्त मात्रामा किटहरूसमेत नभएकाले परीक्षणको दायरा बढाउन नसकिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।

प्रकाशित : माघ ८, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?