बिरामीलाई रगत जुटाउनै सकस- सुदूरपश्चिम - कान्तिपुर समाचार

बिरामीलाई रगत जुटाउनै सकस

तृप्ति शाही

बैतडी — एक साताअघि बैतडीको दशरथचन्द नगरपालिका—४ की एक महिलालाई बी पोजिटिभ रगत चाहिने भयो । २५ वर्षकी गर्भवती उनी बच्चा खेर गएर उपचारका लागि अस्पताल पुगेकी थिइन् । अस्पताल पुग्दा उनको शरीरमा जम्मा ५ प्रतिशत मात्र रगतको मात्रा रहेको स्वास्थ्यकर्मीले बताए । उनलाई तत्काल रगत आवश्यकता परेको थियो । समयमै रगत नपाउँदा ज्यानै जोखिममा पर्ने अवस्था थियो । तर रगतको जोहो गर्न निकै सकस पर्‍यो ।

बिरामी हेरिरहेका जिल्ला अस्पतालका डाक्टर थानेश्वर न्यौपाने आफैं रगतका लागि सुरक्षाकर्मी र रगत दिने सम्भावित व्यक्तिलाई खबर गर्ने हतारोमा थिए । धेरै मेहनतपछि उनलाई २ पिन्ट रगत खोजेर चढाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश पन्तले बताए । उनका अनुसार अस्पतालले सबैतिर सम्पर्क गर्दा मुस्किलले रगतको जोहो गरेर बिरामीको ज्यान बचाउन सफल भएको बताए । नेपाली सेनाबाट आएका दुई जनाले रगत दिएर बिरामीको ज्यान जोगिएको हो ।

यस्तै, करिब २ हप्ताअघि पनि दार्चुलाको लेकमबाट आएकी २१ वर्षकी गर्भवती महिलाको शल्यक्रिया गनुपर्ने थियो । नर्मल सुत्केरी हुन नसक्ने अवस्थाकी उनलाई पनि रगत चाहिने अनुमान उपचारका संलग्न डाक्टरहरूको थियो । ओ पोजिटिभ रगत आवश्यक परेकी उनलाई अस्पतालका कर्मचारी र प्रहरीले रगत दिनको लागि तयार पारिएको थियो । यी महिलाको लागि रगतको जोहो गर्न पनि अस्पताललाई हम्मेहम्मे परेको थियो । यही अवस्थामा एक जना अस्पतालका स्वास्थ्यकर्मी र नेपाल प्रहरीका एक जना रगत दिनका लागि तयार पारिएको थियो । अन्तमा रगत चढाउन नपर्ने भएपछि राहत महसुस गरेको अस्पतालका सूचना अधिकारी पन्त बताउँछन् ।

जिल्ला अस्पताल बैतडीमा रगत चाहिने बिरामी आए भने जहिल्यै समस्या हुने गरेको छ । जिल्लामा ब्लड बैंक छैन । तत्काल रगत दिन दाताहरू भेटिँदैनन् । रगत चाहिने केसहरू आएपछि रगत खोज्नका लागि निकै समस्या हुने गरेको पन्तले बताए ।

जिल्ला अस्पतालमा महिनामा ४ वटा जति केसहरूलाई रगतको आवश्यकता पर्ने देखिएको अस्पतालका डाक्टर थानेश्वर न्यौपानेले बताए । कतिपय बिरामीलाई रगत चाहिन्छ कि भनेर पूर्वतयारी पनि गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘ब्लड स्टोर गरेर राख्ने अवस्था यहाँ छैन,’ डाक्टर न्यौपानेले भने, ‘स्टोर नहुँदा अकस्मात् रगत चाहिएमा कसलाई बोलाउने भन्ने पीर पर्छ ।’ रगत चाहियो भने धेरैलाई खबर गर्नुपर्ने आउन माने पनि घण्टौं लाग्ने समस्या आफुूहरूले झेल्नुपरिरहेको उनले बताए । जिल्लामा ब्लड बैंक नहुँदा समस्या नै भएको उनले बताए । जिल्लाको हकमा बच्चा जन्माउने, बच्चा खेर गएका महिलालाई रगतको आवश्यकता धेरै पर्ने गरेको उनले बताए । रगतको अभावले स्वास्थ्यकर्मी र बिरामीहरूलाई समस्या हुने गरेको उनले बताए ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकै भर

बैतडीमा स्थानीय रगत दिन तयार हुँदैनन् । रगत दियो भने सकिन्छ भन्ने गलत बुझाइका कारण रगत दिन तयार नहुने गरेका स्वास्थ्यकर्मीहरू बताउँछन् । अहिले जिल्लामा रगत चाहियो भने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले नै पूर्ति गर्दै आइरहेका छन् । मिडियाको केही साथीहरूले पनि रगत दिनमा सहयोग गरेका अस्पतालका सूचना अधिकारी पन्त बताउँछन् ।

प्रकाशित : माघ ६, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमण नियन्त्रणमा पालिकाहरू कमजोर

स्थानीय तहले समन्वय नगर्दा सार्वजनिक सवारीसाधनको प्रयोग गरेरै संक्रमितहरु घर पुग्छन्
तृप्ति शाही

बैतडी — जिल्लामा अहिले दैनिकजसो कोरोना संक्रमित देखिरहेका छन् । २० दिनअघिसम्म कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्लामा मंगलबारसम्म ४६ सक्रिय संक्रमित पुगिसकेका छन् । मंगलबार मात्र १० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित दिनहुँ बढ्दै गइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । १/२ जनाबाहेक सबै जना बैतडीस्थित नेपाल—भारत सीमानाका झुलाघाटमा गरिएको एन्टिजेन परीक्षण क्रममा पोजिटिभ देखिएका हुन् । स्थानीय तहले बेवास्ता गर्दा सबै संक्रमितहरू आफ्नो तरिकाले सीमानाकाबाट सिधै घर गएका छन् । यसले गर्दा समुदायमा संक्रमण धेरै फैलिन सक्ने सक्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारततर्फ आवागमन बढी हुने सीमानाकाको कारण कैलाली र कञ्चनपुरपछि सुदूरपश्चिमका ९ जिल्लामध्ये कोरोना धेरै जोखिम भएको बैतडी पनि हो । ‘हाम्रो जिल्लाको अवस्था पनि जटिल नै छ,’ स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । झुलाघाट नाकाबाट अहिले दैनिक रूपमा सयौंको संख्यामा भारतका विभिन्न सहरबाट नेपाली घर फर्किरहेका छन् । दैनिक ६० देखि ७० जनाको कोरोना परीक्षण भइरहेको छ । भारतबाट भित्रिने धेरैजसोमा कोरोना पोजिटिभ देखिरहेको छ । कोरोना संक्रमण देखिए पनि उनीहरू सिधै घर जाने गरेका छन् ।

स्थानीय तहले समन्वय नगर्दा सार्वजनिक सवारीसाधनको प्रयोग गरेरै संक्रमितहरू घर पुग्छन् । उनीहरूको बसोबास पनि घरमै हुने गरेकाले समुदायमा पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्ट बताउँछन् । जिल्लामा कोरोना बढ्दै गएपछि मंगलबार जिल्ला कोराना रोकथाम व्यवस्थापन समितिको बैठक बस्यो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिको बैठकमा जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताललगायत सम्बन्धित कार्यालय र स्थानीय तहका प्रमुख वा उपप्रमुखलाई बैठकमा उस्थितिका लागि आग्रह गरिएको थियो । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकाबाहेक अरू कुनै पनि पालिकाका प्रतिनिधि बैठकमा सहभागी भएनन् ।

जिल्लाका प्रायः सबै पालिकामा संक्रमित देखिए पनि स्थानीय जनप्रतिनिधिहरूले संक्रमणको समस्या बारे वास्तै गरेका छैनन् । आइसोलेसनबारे सोधपुछ गर्दा सबै पालिकाले आइसोलेसन केन्द्र छन् भन्ने गरे पनि संक्रमितहरू घरै जानुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बखतमा पालिकाहरूले संक्रमितको व्यवस्थापनमा धेरै चासो दिएका थिए ।

जिल्लामा फैलिरहेको कोरोनाबारे धेरै पटक खबर गर्दा पनि पालिकाबाट बैठकमै सहभागी नहुने गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउँछन् । ‘आइसोलेसनको व्यवस्थापन गर्नुस् । संक्रमितलाई पनि व्यवस्थापन गर्नुपर्छ भनेर पत्र धेरै पटक पठाएको छु,’ उनले भने, ‘मौखिक रूपमा पनि सबैलाई भनेको छु । अझै काम हुन सकेको छैन ।’ आफूले समन्वय र जिल्लामा आइसोलेसन केन्द्र बनाउने कार्यको सुरुवात गरेको उनले बताए । अबदेखि सीमानाका झुलाघाटमा देखिएका संक्रमितलाई एम्बुलेन्समार्फत ल्याएर सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका निर्माण भएको आइसोलेसनमा राख्ने जिल्ला प्रशासनले जनाएको छ । जुन ठाउँका स्थानीय हुन् त्यसै पालिका र जिल्लालाई खबर गरेर सुरक्षित रूपमा त्यही नै पुर्‍याउने निर्णय मंगलबारको विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ । जिल्लामा कोरोनाको अवस्था बुझ्नका लागि घुम्ती परीक्षण पनि गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । २५ जनाभन्दा बढी नागरिकलाई भेला हुन नदिने पनि प्रशासनले जनाएको छ । बैतडीमा फ्रन्टलाइनरलाई लगाइने खोप कार्यक्रम अझै सुरु भएको छैन । प्रदेशको आपूर्ति केन्द्रबाट खोप प्राप्त भएपछि सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ५, २०७८ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×