कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

संक्रमण तीव्र, पालिकाहरू बेखबर

पहिलो लहरका बेलाको खर्च बेरुजु देखाउन जनप्रतिनिधि पन्छिँदै

कञ्चनपुर/बझाङ — पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका बेला रोकथामका लागि स्थानीय तह मिहिनेतका साथ लागेका थिए । क्वारेन्टिनदेखि आइसोलेसन व्यवस्थापनका लागि जनप्रतिनिधिहरू आफैं खटिएका थिए । भारतबाट घर फर्किनेलाई नाकामै स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सोझै क्वारेन्टिनमा बसाइयो । क्वारेन्टिनमा बसेकालाई संक्रमण देखिए अस्पताल वा आइसोलेसनमा राखेर उपचार गरियो । १४ दिन क्वारेन्टिनमा बसेकाहरूको परीक्षण गरेर नेगेटिभ आएपछि मात्रै घरतर्फ पठाइयो ।

संक्रमण तीव्र, पालिकाहरू बेखबर

त्यतिबेला राम्रो अभ्यास गरिएको थियो । जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मी सबै दिनरात खटिएका देखिन्थे । समुदायमा कसैमा संक्रमण देखिए कन्ट्याक्ट ट्रेसिङमा समेत स्वास्थ्यकर्मीभन्दा पहिले जनप्रतिनिधि पुग्थे । सम्बन्धित टोलसँगै वडासमेत सिल गरिन्थ्यो । यसले समुदायमा संक्रमण फैलिनबाट रोकेको थियो ।

दोस्रो लहरका बेला क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनमा स्थानीय तहका जनप्रतिनिधिहरू चुकेका थिए । भारतबाट घर फर्केकाहरू सोझै घरतर्फ जाँदा संक्रमण समुदायमै फैलियो । जसका कारण दोस्रो लहरका बेला कञ्चनपुरमा मात्रै १ सय ८० जनाको मृत्यु भयो । जब अवस्था जटिल बन्दै गयो त्यसपछि जनप्रतिनिधिहरूले हरेक पालिकामा आइसोलेसन केन्द्र तथा अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न थाले । तर अहिले भने जनप्रतिनिधिदेखि सबैले कोरोना रोकथाममा बेवास्ता गरेका छन् । ‘विगतमा जस्तो अहिले जनप्रतिनिधिले सक्रियता देखाएका छैनन्,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘अहिलेको संक्रमणमा मृत्युदर कम देखिएको र केही दिनमा अवस्था सामान्य बन्ने अपेक्षा गरिएकाले पनि होला ।’ उनका अनुसार जिल्ला स्तरका बैठकमा जनप्रतिनिधिले विगतमा क्वारेन्टिनदेखि राहत वितरणमा भएको खर्च संघीय सरकारबाट नपाएको गुनासो गरेका छन् ।

कोभिड संकट न्यूनीकरणका लागि स्थानीय तहले ध्यान नदिँदा बझाङमा संक्रमण तीव्र गतिमा फैलिरहेको स्वास्थ्यकमीहरू बताउँछन् । महामारी नियन्त्रणका लागि आवश्यक परीक्षण, कट्याक्ट ट्रेसिङ र आइसोलेसन केन्द्र व्यवस्थापनमा पालिकाहरूले बेवास्ता गरेका कारण स्थिति भयावह बन्न सक्ने स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् । बझाङमा दैनिक सयौंको संख्यामा मानिसहरू भारत र अन्य जिल्लाबाट भित्रिने भए पनि हालसम्म ९१ जनाको मात्रै कोभिड परीक्षण भएको छ । जसमध्ये २१ जनामा कोरोना संक्रमण भएको छ । परीक्षण न्यून हुँदा संक्रमितहरू निष्फिक्री घुमघाम गरिरहेको र अन्य व्यक्तिहरूलाई संक्रमण सारिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

कञ्चनपुरमा पनि दैनिक संक्रमित हुनेको संख्या डेढ सयभन्दा बढी छ । परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ । कतिपय बेला त शतप्रतिशतमा संक्रमण देखिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘हामीले सक्दो प्रयास गरेकै छौं, आइसोलेसन व्यवस्थापनदेखि नाकामा जथाभावी आउनेलाई रोक्ने काममा लागेकै छौं,’ कञ्चनपुरको पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले भने, ‘पहिलेभन्दा अहिले केही कमजोरी भएको छ, संक्रमण समुदायमै फैलिइसकेको छ ।’

भारत र बाहिरी जिल्लाबाट फर्किएकाहरूलाई बिनापरीक्षण घर पठाउँदा समुदायमा संक्रमण तीब्र गतिमा फैलिएको अनुमान गरिएको छ । स्थानीय तहहरूले अहिले पनि महामारीलाई ख्यालठट्टाका रूपमा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका सुचना अधिकारी नारायण जोशीले बताए । ‘कुनै कुनै पालिकामा परीक्षण गरिएका नमुनामध्ये ५० प्रतिशतसम्म संक्रमित भएको पाइएको छ, भारतबाट आएका मात्रै नभएर कुनै पनि ट्राभल हिस्ट्री नभएकाहरूमा पनि संक्रमण देखिएको छ,’ जोशीले भने, ‘प्रत्येक घरसम्म संक्रमण पुगिसकेको अनुमान हामीले गरेका छौं, पालिकाहरूलाई परीक्षणमा जोड दिनुस् भन्दा सुतेर बसेका छन्, यस्तै हो भने अवस्था नियन्त्रण बाहिर जान सक्छ ।’ उनले प्रत्येक पालिकामा परीक्षण कीट उपलब्ध गराइएको र आवश्यक परे थप कीटहरू उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालय तयार रहे पनि पालिकाले परीक्षणमा चासो नदिएको बताए ।

पहिलो लहरको संक्रमणका बेला क्वारेन्टिन व्यवस्थापनदेखि राहात वितरणमा भएको खर्चबारे चौतर्फी विरोध हुनु र महालेखा परीक्षकको कार्यालयले पनि बेरुजु देखाउँदा जनप्रतिनिधिहरू अहिले यसबाट केहीपछि हटेको पनि उनीहरूबाटै कुरा आउने गरेको छ । ‘त्यतिबेला क्वारेन्टिनमा बस्नेलाई खाना खुवाएको पनि बेरुजु आएको छ,’ कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने, ‘महालेखाले मात्रै होइन स्थानीयले पनि यसप्रति प्रश्न उठाएका छन् ।’

अहिले परीक्षण भएका नमुनाहरू कोरोनाको शंका लागेर आफैं अस्पतालसम्म पुगेका हुन् । बाहिरबाट आउनेलाई मात्रै परीक्षण गर्ने र संक्रमितहरूलाई आवश्यक स्वास्थ्य निगरानीसहित आइसोलेसनमा राख्ने व्यवस्था पालिकाहरूले गर्न सकेमा महामारी नियन्त्रणमा ठूलो सहयोग पुग्ने बझाङ जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए । ‘अघिल्ला अनुभवले पनि न्यून परीक्षण र निगरानी हुँदा संक्रमण धेरै फैलिएको देखाएको छ,’ उनले भने, ‘यो पटक विगतका अनुभवबाट पाठ सिक्नुपर्ने थियो, तर त्यसो हुन सकेको छैन ।’

पछिल्लो समय धेरैले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । पहिलो र दोस्रो लहरको तुलनामा अहिलेको संक्रमणबाट मृत्युदर निकै कम छ । यही भएर सर्वसाधारणदेखि जनप्रतिनिधि सबैले संक्रमण तीव्र गतिमा बढिरहे पनि सामान्य रूपमै लिएका छन् । ‘सर्बसाधारण सचेत भएपछि अहिले सामान्य रुपमै लिएका छन्,’ बेदकोटका नगर प्रमुख चन्दले भने, ‘हामीले रोकथामका लागि सक्दो प्रयास गरेकै छौं ।’ कञ्चनपुरमा संक्रमण तीव्र भइरहेको अवस्थामा समेत राजनीतिक दलका कार्यक्रमदेखि सामाजिक संघसंस्थाका कार्यक्रमहरू निरन्तर चलिरहेकै छन् ।

बजार तथा सार्वजनिक स्थलमा मास्कबिना हिँडडुल गर्ने तथा भीडभाड कायमै छ । स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाउने र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरे पनि राजनीतिक दलदेखि कैयौं व्यक्तिले त्यसलाई बेवास्ता गरेका छन्, जसका कारण कोरोना संक्रमण बढेको छ ।

प्रकाशित : माघ ६, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?