२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

समुदायमा संक्रमण तीव्र, घटेन लापरबाही

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा मंगलबार १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६३ जना भीमदत्त नगरपालिकाका छन् । ४६ जना गड्डाचौकी नाकामा संक्रमित देखिएका हुन् ।

अन्य संक्रमित कृष्णपुर, पुनर्वास र बेलौरी नगरपालिकाका छन् । सोमबार पनि जिल्लामा १ सय २५ जनामा संक्रमण देखिएको थियो । जसमध्ये भीमदत्त नगरपालिकामा ३७ र गड्डाचौकी नाकामा ५७ जना थिए ।

जिल्लामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो अवस्थामा छ । अझ सदरमुकाम महेन्द्रनगर क्षेत्रमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । तर संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डको पालना गर्नुको साटो झन्झन् लापरबाही बढिरहेको छ । बजार क्षेत्रमा अहिले पनि मास्क नलगाएरै हिँडडुल तथा सार्वजनिक कार्यक्रममा भीडभाड गर्ने क्रम चलिरहेकै छ ।

जिल्ला प्रशासनले गतसाता २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको थियो । मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गर्नसमेत आदेश जारी गरेको हो । प्रशासनले जारी गरेको आदेश अहिले ठट्टाको विषय बनेको छ । ‘संक्रमण सुमदायमा फैलिइसकेको छ, तर अहिले पनि लापरबाही उस्तै छ,’ महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘बजारमा भीडभाड उस्तै छ, राजनीतिक दलका कार्यक्रम चलेकै छन् ।’ उनका अनुसार अहिले समुदायमा घरघरै कोरोनासँग मिल्दो लक्षणका बिरामी देखिन थालेका छन् । तर परीक्षणको दायरा कम भएका कारण उनीहरूको परीक्षण हुन सकेको छैन ।

सोमबार महेन्द्रनगर बजार क्षेत्रको एकै घरका ५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एक १५ महिने शिशुसमेत देखिनुले संक्रमण समुदायमा तीव्र गतिमा फैलिएको सहजै अनुमान गर्न सकिने डा. रोकायाले बताए । सामाजिक सञ्जाल फेसबुकमा समेत थुप्रैले ज्वरो र रुघाखोकीलगायत जीउ दुख्ने समस्या देखिएको भन्दै सम्पर्कमा रहेका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । यद्यपि उनीहरूले परीक्षण भने गराएका छैनन् । ‘लक्षण देखिएका सबैको परीक्षण गर्न सकिने अवस्था पनि छैन र सबै संक्रमितको व्यवस्थापन गर्न सकिने पनि देखिँदैन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘गाउँघरमा घरघरै संक्रमित छन्, रुघाखोकी सबैमा छ ।’ उनका अनुसार मंगलबार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा ९० जनामा संक्रमण देखिनुले पनि संक्रमणको अवस्था भयावह हुन सक्ने देखिन्छ । दोस्रो लहरको संक्रमणको तुलनामा अहिले मृत्युदर कम देखिएका कारण पनि यसप्रति लापरबाही बढेको हुन सक्ने जनस्वास्थ्य निरीक्षक भट्ट बताउँछन् । केन्द्रबाट पनि कुनै किसिमका निर्देशन वा रोकथामका लागि बजेट नआएका कारण केही गर्न सकिने अवस्थासमेत नरहेको उनले बताए ।

विवाह, व्रतबन्धलगायत धार्मिक कार्यमा ठूलो भीड देखिन्छ । विभिन्न किसिमका खेलकुद प्रतियोगिता सञ्चालनमै छन् । सार्वजनिक स्थलमा ठूलो भीड देखिन्छ । सरकारी कार्यालयहरूमा पनि भौतिक दूरी कायम राखेको देखिँदैन । अझ बैंक तथा वित्तीय संस्था र विद्युत् प्राधिकरण, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणको भीड घटेको छैन । ‘हामीले मास्क लगाउन र भीडभाड कम गर्न पटक पटक सचेत पारिसकेका छौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भने, ‘अब अटेरी गर्नेलाई सिधै कारबाही गर्ने गरी अघि बढ्छौं ।’

प्रकाशित : माघ ५, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?