कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

संक्रमण नियन्त्रणमा पालिकाहरू कमजोर

स्थानीय तहले समन्वय नगर्दा सार्वजनिक सवारीसाधनको प्रयोग गरेरै संक्रमितहरु घर पुग्छन्
तृप्ति शाही

बैतडी — जिल्लामा अहिले दैनिकजसो कोरोना संक्रमित देखिरहेका छन् । २० दिनअघिसम्म कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्लामा मंगलबारसम्म ४६ सक्रिय संक्रमित पुगिसकेका छन् । मंगलबार मात्र १० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण नियन्त्रणमा पालिकाहरू कमजोर

संक्रमित दिनहुँ बढ्दै गइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । १/२ जनाबाहेक सबै जना बैतडीस्थित नेपाल—भारत सीमानाका झुलाघाटमा गरिएको एन्टिजेन परीक्षण क्रममा पोजिटिभ देखिएका हुन् । स्थानीय तहले बेवास्ता गर्दा सबै संक्रमितहरू आफ्नो तरिकाले सीमानाकाबाट सिधै घर गएका छन् । यसले गर्दा समुदायमा संक्रमण धेरै फैलिन सक्ने सक्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारततर्फ आवागमन बढी हुने सीमानाकाको कारण कैलाली र कञ्चनपुरपछि सुदूरपश्चिमका ९ जिल्लामध्ये कोरोना धेरै जोखिम भएको बैतडी पनि हो । ‘हाम्रो जिल्लाको अवस्था पनि जटिल नै छ,’ स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । झुलाघाट नाकाबाट अहिले दैनिक रूपमा सयौंको संख्यामा भारतका विभिन्न सहरबाट नेपाली घर फर्किरहेका छन् । दैनिक ६० देखि ७० जनाको कोरोना परीक्षण भइरहेको छ । भारतबाट भित्रिने धेरैजसोमा कोरोना पोजिटिभ देखिरहेको छ । कोरोना संक्रमण देखिए पनि उनीहरू सिधै घर जाने गरेका छन् ।

स्थानीय तहले समन्वय नगर्दा सार्वजनिक सवारीसाधनको प्रयोग गरेरै संक्रमितहरू घर पुग्छन् । उनीहरूको बसोबास पनि घरमै हुने गरेकाले समुदायमा पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्ट बताउँछन् । जिल्लामा कोरोना बढ्दै गएपछि मंगलबार जिल्ला कोराना रोकथाम व्यवस्थापन समितिको बैठक बस्यो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिको बैठकमा जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताललगायत सम्बन्धित कार्यालय र स्थानीय तहका प्रमुख वा उपप्रमुखलाई बैठकमा उस्थितिका लागि आग्रह गरिएको थियो । जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकाबाहेक अरू कुनै पनि पालिकाका प्रतिनिधि बैठकमा सहभागी भएनन् ।

जिल्लाका प्रायः सबै पालिकामा संक्रमित देखिए पनि स्थानीय जनप्रतिनिधिहरूले संक्रमणको समस्या बारे वास्तै गरेका छैनन् । आइसोलेसनबारे सोधपुछ गर्दा सबै पालिकाले आइसोलेसन केन्द्र छन् भन्ने गरे पनि संक्रमितहरू घरै जानुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बखतमा पालिकाहरूले संक्रमितको व्यवस्थापनमा धेरै चासो दिएका थिए ।

जिल्लामा फैलिरहेको कोरोनाबारे धेरै पटक खबर गर्दा पनि पालिकाबाट बैठकमै सहभागी नहुने गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउँछन् । ‘आइसोलेसनको व्यवस्थापन गर्नुस् । संक्रमितलाई पनि व्यवस्थापन गर्नुपर्छ भनेर पत्र धेरै पटक पठाएको छु,’ उनले भने, ‘मौखिक रूपमा पनि सबैलाई भनेको छु । अझै काम हुन सकेको छैन ।’ आफूले समन्वय र जिल्लामा आइसोलेसन केन्द्र बनाउने कार्यको सुरुवात गरेको उनले बताए । अबदेखि सीमानाका झुलाघाटमा देखिएका संक्रमितलाई एम्बुलेन्समार्फत ल्याएर सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका निर्माण भएको आइसोलेसनमा राख्ने जिल्ला प्रशासनले जनाएको छ । जुन ठाउँका स्थानीय हुन् त्यसै पालिका र जिल्लालाई खबर गरेर सुरक्षित रूपमा त्यही नै पुर्‍याउने निर्णय मंगलबारको विपद् व्यवस्थापन समितिको बैठकले गरेको छ । जिल्लामा कोरोनाको अवस्था बुझ्नका लागि घुम्ती परीक्षण पनि गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । २५ जनाभन्दा बढी नागरिकलाई भेला हुन नदिने पनि प्रशासनले जनाएको छ । बैतडीमा फ्रन्टलाइनरलाई लगाइने खोप कार्यक्रम अझै सुरु भएको छैन । प्रदेशको आपूर्ति केन्द्रबाट खोप प्राप्त भएपछि सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ५, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?