अवस्थीको हत्या आरोपमा थप एक पक्राउ

बैतडी — सूर्नया गाउँपालिका—६ खर्काधारका डम्मर अवस्थीको हत्या आरोपमा नियन्त्रणमा लिएका स्थानीय नवराज अवस्थीले पनि घटनामा संलग्न रहेको स्वीकार गरेका छन् । प्रहरीले आइतबार नवराजलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा नवराजको पनि हत्यामा संलग्नता रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

मंगलबार अदालतबाट २ दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको ओझाले बताए ।

यसअघि सोही ठाउँका हरिश अवस्थीले पनि डम्मरको हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । उनीमाथि पनि अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । मंसिर १४ गतेबाट घरबाटै हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो । उनको हत्या गरेर शव गुफामा गाडेको अवस्थामा फेला परेको हो ।

शव पोस्टमार्टमपछि अहिले पनि जिल्ला अस्पतालमै छ । उनको हत्यामा संलग्न सबै पक्राउ नपर्दासम्म शव नबुझ्ने आफन्तहरुले अडान लिएका छन् । डम्मर नेत्रविक्रम चन्द समूहका कार्यकर्ता हुन् । चन्द समूहले पनि हत्यामा संलग्न सबैको पहिचान गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ ४, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?