कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पालिकामा जहिल्यै कर्मचारी अभाव

तृप्ति शाही

बैतडी — बैतडीका स्थानीय तहमा जहिल्यै कर्मचारी अभाव हुँदा काम प्रभावित भएको छ । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लाका कुनै पनि पालिकामा दरबन्दीअनुसारका कर्मचारी छैनन् । केही पालिकामा त कर्मचारी अभावले दैनिक कामकाज नै प्रभावित हुने गरेको छ ।

पालिकामा जहिल्यै कर्मचारी अभाव

जहिल्यै कर्मचारीको अभाव खेपिरहेको पञ्चेश्वर गाउँपालिकाले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा लेखाका कुनै कर्मचारी छैनन् । चार महिनादेखि खाता नै सञ्चालनमा नआएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘केही समयअघि पनि लेखापालकै समस्या थियो,’ उनले भने, ‘धेरै आग्रहपछि छिमेकी पालिका मेलौली नगरपालिकाको लेखापालबाट काम चलाइरहेका थियौं । असोजको महिना उहाँको पनि काज फिर्ता भयो । अहिले फेरि समस्या भयो ।’ अध्यक्ष चन्दले केही समयअघि काठमाडौं गएर २ जना लेखाका कर्मचारीको सरुवा पालिकामा गरे यहाँ नपुग्दै दुवै जनाको काज फिर्ता भइसकेको बताए । लेखापाल नहुँदा केही समयअघिको बेमौसमी वर्षाका पीडितलाई राहतसम्म दिन नपाएको अध्यक्ष चन्दले गुनासो पोखे ।

लेखाको काम सबै रोकिएकाले उधारोमै पालिकाका कामहरू चलाइरहेको पालिकाले जनाएको छ । ६ वडा रहेको पालिकामा १ जनामात्र वडा सचिव छन् । धेरै पटक संघीय मन्त्रालयमा आफैं गएर कर्मचारीहरूको समस्याबारे जानकारी गराउँदा पनि कर्मचारीहरू खटिनआएको अध्यक्ष चन्द बताउँछन् । कर्मचारीहरू नहुँदा काम गर्न साह्रै गाह्रो भएको उनले सुनाए । कार्यकारी प्रमुख १ वर्षअघि सरुवा भएर गएपछि इन्जिनियरलाई निमित्त दिएर पालिकाले काम चलाइरहेको थियो । केही दिनअघि मात्र पालिकामा कार्यकारी आएका छन् । असारमा कर्मचारीको अभाव भएको भन्दै अध्यक्ष चन्द आफैं धर्ना दिनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । त्यसपछि ३ महिना मेलौली नगरपालिकाका लेखापालले काम गरेका थिए । उनको पनि काज फिर्ता भएपछि फेरि लेखापाल छैनन् । लेखापाल नहुँदा आर्थिक कारोबार रोकिएको भन्दै उपाध्यक्ष बिना भट्टले उधारो काम गराउन पनि असहज भइरहेको गुनासो गरिन् ।

यस्तै, दुर्गममा रहेको सिगास गाउँपालिकामा पनि दरबन्दीअनुसारका कर्मचारीहरू छैनन् । लेखा अधिकृत, योजना अधिकृत र स्वास्थ्य अधिकृतलगायत कर्मचारी दरबन्दी रिक्त रहेका छन् । दरबन्दीअनुसारका कर्मचारीहरू नहुँदा काम गर्न गाह्रो परेको कार्यकारी अधिकृत कविन्द्र ओझाले बताए ।

उक्त पालिकामा काम गरिरहेका ७ जना कर्मचारी केही समयअघि मात्र सरुवा भएर गएको अध्यक्ष ओझाले बताए । ‘अहिले हाम्रो पालिकामा कर्मचारी अभाव भइरहेको छ,’ उनले भने, ‘निमित्त र अन्य कर्मचारीको भरमा काम चलाउनु परिरहेको छ ।’ ९ वडा रहेको सिगासमा ६ वडा सचिवविहीन छन् । प्राविधिक सहायकको भरमा काम गराइरहेको उनले बताए । ‘सचिव नहुँदा अझै धेरै समस्या झेल्नुपरिरहेको छ,’ उनले भने ।

पञ्जीकरण, सामाजिक सुरक्षा भत्तालगायत काम अनलाइन सिस्टममा गर्नुपर्ने भए पनि कम्प्युटर चलाइदिने कर्मचारीसम्म नभएका उनको भनाइ थियो । प्रदेश लोकसेवा आयोगलाई कर्मचारी माग गरे पनि कहिले दरबन्दी खोलेर परीक्षा लिने भन्ने टुंगो नभएको उनले बताए । जिल्लामा अन्य पालिकामा पनि दरबन्दीअनुसारका कर्मचारीहरू छैनन् । धेरै पालिकाका शाखागत कर्मचारीहरू पनि शून्य छन् ।

प्रकाशित : माघ ४, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?