१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अवधि सकिने बेला परिचय दिन सक्षम

सामान्य परिवेशबाट राजनीतिमा आइयो । केही बुझिन्छ कि भनेर लागेकी थिएँ । तर, अहिलेसम्म कुनै अवसर पाएको छैन : महिला जनप्रतिनिधिको गुनासो
मेनुका ढुंगाना

अछाम — बान्नीगढी जयगढ गाउँपालिका ४ की ४० वर्षीया शारदा सार्की वडा सदस्य हुन् । दलित महिलाको कोटा बाट उनी स्थानीय तह निर्वाचन २०७४ मा उम्मेदवार बनिन् । गाउका अरु दलित महिलाभन्दा उनी काम गर्न सक्ने आकलन गर्दै नेपाली कांग्रेसले उनलाई उम्मेदवारको रूपमा अघि सार्‍यो । तर त्यतिबेला उनलाई आफ्नै पार्टीको बारेमा समेत जानकारी थिए । सामान्य चुलोचौकोमा सीमित भएकी जब उम्मेदवार बनेर गाउँमा मत माग्न हिँडिन् त्यतिबेला मात्रै राजनीति बुझन् थालिन् ।

अवधि सकिने बेला परिचय दिन सक्षम

राजनीति र वडा सदस्यले के काम गर्छन् भन्ने थाहा नै नपाएर जितेकी उनी अहिले समुदायमा काम गर्न त खोज्छिन् तर कार्याकाल सकिन लाग्यो । ‘गाउँमा मत माग्न जाँदा आफ्नै दिदीबहिनी थिए । बोल्न केही गाह्रो भएको थिएन । जितेपछि त गाउँपालिकाको कार्यक्रममा पनि आउन थाले । सुरुमा उठेर आफ्नो नाम भन्नै सक्दैन थिए’ उनले जनप्रतिनिधि भइसकेपछिको अनुभव सुनाउँदै भनिन्, ‘सबै मान्छेका अगाडि आफ्नो परिचय ढुक्कले दिन नै मलाई ३ वर्ष लाग्यो ।

वडा सदस्य भएपछिको मेरो प्रगति भनेकै परिचय दिन सक्नु मात्रै हो जस्तो लाग्छ ।’ अहिले मान्छेको अगाडि भन्न बोल्न सक्ने बानीको विकास भए पनि कार्यकाल सकिन लागेकाले अब केही गर्न नसकिने उनको बुझाइ छ ।

बान्नीगढी जगयढ गाउँपालिका ३ की बिस्ना ठकुल्ला पनि वडा सदस्य हुन । उमेरले ५५ वर्ष पूरा गरेकी बिस्ना पनि राजनीति नबुझेरै जनप्रतिनिधि बनेकी हुन् । जनप्रतिनिधि बनेपछि उनले पढाइको महत्त्व बुझिन् । पढ्न नजानेकै कारण उनी धेरै कुरा सिक्नबाट वञ्चित भएको उनललाई महसुस भयो । पढेलेखेकाहरूले आफ्नो काम, कर्तव्य र अधिकारको बारे बुझेको र आफ्नो भूमिकाबारे थाहा पाउन धेरै समय लागेको उनले बताइन् । ‘ अक्षर चिन्न सक्ने मात्रै भए पनि हरेक कुरा थाहा पाउन अरुको भर पर्नुपर्ने थिएन । पढाइको महत्त्व कति रैछ भन्ने थाहा पाए । आफूमा भन्न बोल्न सक्ने केही कुरा विकास भए पनि गाउँठाउँका लागि भने केही गर्न सकिएन ।’

सदरमुकाम मंगलसेनको नगरपालिकाका महिला जनप्रतिनिधिले पनि आफ्नो कार्यकालमा अपेक्षाअनुसारको काम गर्न नसकेको बताए । बैठकमा जाने आफ्नो परिचय दिने र भत्ता बुझेर फर्किनेबाहेक केही गर्न नसकेको मंगलसेन नगरपालिका १ कि सदस्य राधिका जैगडीको गुनासो छ । ‘सामान्य परिवेशबाट राजनीति आइयो । केही बुझिन्छ कि भन्ने लागेकी थिएँ । तर, अहिलेसम्म कुनै अवसर पाएको छैन ।’ उनले भनिन् , ‘खुल्लाबाट जितेका वडा सदस्यलाई त कुनै जिम्मेवार छैन । हामीले झन् कोटामा जितेका हौं । कसैले टेर्दैनन् ।’ दलित कोटाबाट निर्वाचित सदस्यहरू आफ्नो भूमिका र जिम्मेवारीका विषयमा अनभिज्ञ छन् ।

‘हाम्रो भूमिका के भन्ने थाहा नपाएर कार्यकाल सकियो,’ जैगडीले भनिन् ‘बैठकमा बोलाए जाने हो । नत्र घरकै काममा व्यस्त हुन्छु ।’ आफ्नो जिम्मेवारी खोज्दा खोज्दै पनि अहिलेसम्म कामविहीन बनेको अर्की महिला सदस्य गंगा थापाले बताइन् । ‘वडामा योजना छनोट कसरी हुन्छन् , अनुगमन र भुक्तानी कहिले हुन्छ, हामीलाई केही जानकारी हुँदैन । खोजीनीति गरे पनि जानकारी पाइँदैन ।’ उनले भनिन्, ‘स्नातक तहसम्म अध्ययन गरेकी छु । मसँग पनि योग्यता छ । क्षमता छ । तर मूल्यांकन कसैले गर्दैन । जिम्मेवारी छैन ।’

वडाका महिलाहरूले आफूहरूलाई के योजना छन् भनेर सोधपुछ गर्दा जवाफ दिन नसकेको उनको भनाइ छ । ‘महिला लक्षित योजना खै भनेर महिलाहरू, पटकपटक सोध्छन् । कतिपय अवस्थामा गाली पनि पाइएको छ । केही गर्न सकिएको छैन ।’ उनले भनिन्, ‘वडा अध्यक्ष बाहिर हुँदा एक पटक कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएकी थिएँ । त्यो बेला पनि खासै केही गर्न सकिएन ।’

प्रकाशित : माघ ४, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?