२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उत्तरायणीमा रमाउँदै चेलीबेटी

मोहन शाही

डोटी — जंगलछेउ लहरै बनाएका चुलोमा मासको फाँणो, सेलरोटी, आलुकेराउको अचार र भातलगायतका परिकार फाकेका छन् । सोमबार बिहानैबाट घोल्तडा, बागठाटा, लेकठाँटा, तिखा, वुमारीकोट लगायत गाउँका युवती र महिला आ–आफ्नो चुलोमा परिकार पकाउन व्यस्त छन् । चुलोवरपर झुम्मिएका बालबालिकाले गाउँबस्तीमा उत्सवको माहोल बनेको छ ।

उत्तरायणीमा रमाउँदै चेलीबेटी

माघ ३ गते गाउँभरिका छोरी/बैनीहरू माइतमा जम्मा हुँदै भोज खाने चलन छ । डोटीमा यसलाई उत्तरायणी पर्वका रूपमा मनाइन्छ । भोजका लागि सामूहिक बसे पनि प्रत्येकले बेग्ला–बेग्लै चुलो बनाएर खाने चलन छ । माघे संक्रान्तिमा माइत आएका चेलीबेटीहरू माइतीका भाडाकुँडा लगेर भोजमा सहभागी हुने गरेको घोलतडाकी लक्ष्मीदेवी भण्डारी बताउँछिन् ।

उत्तरायणीका दिनमा काम काज गर्न नहुने, गाईबस्तु तथा करेसाबारी छुन नहुने (सिन्को पनि भाच्न नहुने) धार्मिक मान्यता रहँदै आएको छ । ‘हाम्रो माइती गाउँमा परापूर्वकालदेखि उत्तरायणीको दिन यसरी दिदीबहीनी मिलेर भोज खाने चलन रहँदै आएको छ’, बानेडुंग्रीसैनबाट माइतीघर घोल्तडा आएकी शारदा बलायरले उत्तरायणीबारे भनिन् ‘हामी पनि मान्यताका साथ पुर्ख्यौली परम्परा जोगाउन जुटेका हौं ।’ उनीहरू दिनभरि दिदीबहिनी आफसमा दुःखसुखका वुराहरू साटासाट गर्ने, माइतीसँग भलाकुसारी गछन् । उत्तरायणीका दिन माइत जान नदिए अनिष्ट हुने धार्मिक विश्वास रहेकाले प्राय महिलाहरू वर्षभरि माइत आउन नपाएपनि यस दिन भने अनुमति पाउने भएकाले समेत प्रफुल्ल हुन्छन् ।

प्रायः सबैका घरमा माघ महिनामा माछा मासुको परिकार पाक्दैन । विवाहित छोरीलाई सेलरोटी, अचार जस्ता परिकार पकाएर कोसेलीका रूपमा दिने चलन छ । तर पछिल्लो समय घरमै बोलाएर छोरीज्वाइँलाई मासको दाल, भात तरकारी खुवाउने चलन छ । माघमा छोरी बेटीको घरमा गएर अन्न खाना खादा पाप लाग्ने विश्वास छ । उत्तरायणीका दिन पढेको विद्या समेत काम नलाग्ने मान्यता रहेकाले यो दिन स्थानीय विद्यालयहरू बन्द हुन्छन् । ब्राह्मण केशवराज ओझाका अनुसार उत्तरायणी डोटीका चेलीबेटीले मौलीक पर्वका रूपमा मान्दै आएको बताए । ‘शास्त्रमा यसबारे केही उल्लेख गरेको मैले पाएको छैन’, ओझाले भने ‘छोरीबेटीले सुखदुःख मनाउँदै भोज खाने गर्छन् ।’ माइत आएका दिदीबैनीसँग अविवाहित महिला सहभागी भई जंगलछेउ घरधन्दा छोडी छुट्टाछुट्टै चुलोमा पकाएर खाने गर्छन् ।

माघ पवित्र महिना

माघे संक्रान्तिका अवसरमा सेती नदीमा चुर्लुम्म डुबेपछि दिपायलका खगेन्ıप्रसाद भट्टले मासु तथा मदिराजन्य पदार्थ त्याग्ने घोषणा गरे । घोषणासँगै उनले हरेक बिहान नित्यकर्म पूजा पाठ गर्ने बानी बसालेका छन् । तिखागाउँकी पार्वती खड्काले कैलालीको चौमालामा विवाह गरेर गएकी छोरीहरूलाई कोसेली दिन आइतबार छोरा रवीन्द्रलाई पठाइन् । माघलाई सुदूरपश्चिममा बसोबास गर्ने पहाडी समुदायले पावन अवसरका रूपमा लिने गर्छन् ।

छोरीबेटीलाई दान दक्षिणा दिने, धर्मकर्म गर्ने, नराम्रा बानी व्यवहार त्यागेर नयाँ कामको थालनी गर्ने महिनाका रूपमा लिइने साहित्यकार हेमन्त विवश रोस्यारा बताउँछन् । त्यसैमा स्वस्थानी व्रत कथा र श्रीपञ्चमीले यहाँका समुदायका लागि माघ महिना थप पवित्र बनाइदिने गर्छ ।

‘पहिल्यैदेखि मलाई मदिराजन्य पदार्थ त्याग्ने चाहना थियो’, खगेन्द् ले भने, ‘तर लत लागेकाले त्याग्न सकिरहेको थिएन, माघे संक्रान्तिको अवसर छोपी छाडी दिए ।’

प्रकाशित : माघ ४, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?