२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मालघाटमा झोलुंगे पुलको काम सुरु

मनोज बडू

दार्चुला — ठेक्का भएको तीन वर्षपछि व्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदीमाथि भारत जोड्ने झोलुंगे पुलको काम बल्ल सुरु भएको छ । गत साउन १५ मा मालघाटमा भारतीय सुरक्षाकर्मीले तुइन फुस्काएपछि स्थानीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए । पुल थियो भने त्यस्तो घटनाको सम्भावना थिएन । उक्त घटनापछि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरले पुसभित्रै पुल निर्माण सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएको थियो ।

मालघाटमा झोलुंगे पुलको काम सुरु

अझैसम्म पुलको जग निर्माणसमेत सकिएको छैन । गत पुसदेखि सुरु भएको मालघाट झोलुंगे पुलको काम सुस्त गतिमा भइरहेको स्थानीयले बताएका छन् । खम्पाचे/रुविना जेभी कम्पनीसँग तीन वर्षअघि झोलुंगे पुलको ठेक्का सम्झौता भएको थियो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार पुलको भारतपट्टि मालघाटमा अहिले जग खन्ने काम भइरहेको छ ।

नेपालतर्फ निर्माणस्थलको ठीक माथिको क्षेत्रमा दार्चुला–टिंकर सडक निर्माणको काम भइरहेकाले काम गर्न नसकेको ठेकेदार कम्पनीका प्रतिनिधि लाक्पा शेर्पाले बताए । टिंकर सडकका कारण नेपालतर्फको काम प्रभावित भएकाले पुल निर्माण सक्न अझै तीन महिनाभन्दा बढी लाग्न सक्ने उनले बताए । ‘सेनाले माथिल्लो चट्टानी क्षेत्रमा सडक खन्दा ढुंगामाटो पुल निर्माण साइटमा खस्छ । हामीले जग खने पनि ढुंगाले भत्किन सक्छ,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा सडक निर्माणमा जति ढिलाइ भयो, त्यति नै पुल निर्माणमा असर पर्छ ।’

धामी नदीमा बेपत्ता भएको घटनापछि गत साउन २८ मा ठेकेदार कम्पनीलाई सस्पेन्सन ब्रिज कार्यालयले ताकेता गरेको थियो । मालघाटको भारतपट्टि पुलको जगमात्र खनिएको छ । त्यसबाहेकको काम हुन नसकेको मालका स्थानीय नरेन्द्रसिंह धामीले बताए । उनले मालघाटमा पुसबाट ठेकेदारले काम थाले पनि निर्माणमा उल्लेख्य प्रगति देखिएको छैन । ठेकेदार प्रतिनिधि मंसिर महिनामा मात्र निर्माणका लागि सम्पर्कमा आएका हुन् । पुलका निर्माण सामग्री ढुवानीमा जिल्ला प्रशासनले सहजीकरण गरिसकेको र ठेकेदारले निर्माणको काम भइरहेको जानकारी गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले उता व्यास–४ मल्घट्टेमा निर्माण गरिरहेको अर्को झोलुंगे पुलको दुवै साइटतिर जग राखेर पुलका लट्ठा राख्ने तयारी भइरहेको जनाएको छ । दुइटै पिल्लरमा पुलका लट्ठा अड्काइृ सकिएको छ । एक/दुई दिनमा आयोजनाका इन्जिनियर आएपछि लट्ठा तान्ने काम गरिने ठेकेदारका प्रतिनिधि शेर्पाले बताए । उनका अनुसार बुधबारदेखि लट्ठा फिटिङको काम सुरु हुनेछ । यो महिनाभित्र मल्घट्टेको पुल निर्माण गर्ने गरी काम भइरहेको उनको भनाइ छ । ‘फागुन सुरुवातबाट पुलबाट वारपार गर्न मिल्नेछ । दुवैतर्फ सुरक्षाकर्मीलाई बस्ने पोस्ट निर्माण गर्ने काममा केही ढिलाइ होला जस्तो छ,’ उनले भने ।

ठेकेदारका कारण पुल निर्माण अलपत्र परेपछि व्यासका बासिन्दा तुइनकै जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । धामी बेपत्ता घटनापछि महाकाली नदी वारपार गर्न व्यास–२, ३ र ४ का बासिन्दाका लागि अहिले तुइनसमेत छैन । केही ठाउँमा लुकिछिपी आउजाउ भइरहेको छ ।

सरकारको तुइन विस्थापन योजनाअनुसार २०७६ मा व्यासको बडूगाउँ, मल्घट्टे, माल र बाकुमा महाकाली नदीमाथि चार ठाउँमा एकसाथ पुल निर्माणको ठेक्का भए पनि ठेकेदारको लापरबाहीले पुल तयार नहुँदा स्थानीयले चोरीछिपी जोखिमपूर्ण रूपमा तुइनको सहायताले महाकाली तर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : माघ ४, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?