२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चिसोले जनजीवन कष्टकर

भवानी भट्ट

कञ्चनपुर — लगातारको शीतलहर र हस्सुसँगै चिसो बढेपछि जनजीवन कष्टकर हुन पुगेको छ । पश्चिम तराईको कैलाली र कञ्चनपुरमा दिन प्रतिदिन चिसो बढ्दै गएको हो । चिसो बढ्पछि दैनिक ज्यालादारी गर्ने र सुकुम्बासी परिवार निकै समस्यामा परेका छन् ।

चिसोले जनजीवन कष्टकर

चिसोका कारण काममा जान नसक्दा भोकै बस्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । ‘काममा जान चिसो धेरै छ, नजाउँ कति दिन यस्तै रहने हो थाहा छैन,’ भीमदत्त नगरपालिका—१८ सालघारीका करन लुहारले भने, ‘दिनभरि आगो तापेर बस्नुपरेको छ ।’ उनी महेन्द्रनगर क्षेत्रमै ज्याला मजदुरीको काम गरेर परिवारको गुजारा चलाउँदै आएका छन् ।

बाढी तथा विभिन्न कारणले विस्थापित भएकाहरू चिसोले झनै प्रभावित भएका छन् । जिल्लाका विभिन्न क्षेत्रका शिविरमा बसोबास गरिरहेका उनीहरूलाई चिसोले रात कटाउन समेत मुस्किल हुन थालेको हो । ओढ्ने ओछ्याउने समेत पर्याप्त मात्रामा नभएका कारण आगो तापेर रात काट्नुपर्ने उनीहरू बताउँछन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० बनहरा विशिर, कृष्णपुरका वैलकुण्डी शिविर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको ढक्का शिविरलगायत जिल्लाका आधा दर्जन बढी स्थानमा सुकुम्बासीका शिविरहरू छन् । ती शिविरमा बसोबास गर्नेहरू दिनभरि ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । चिसोका कारण मजदुरी गर्न नसकेपछि झनै समस्या भएको उनीहरू बताउँछन् । ‘जहाँ मजदुरी पायो त्यहीँ जान्थ्यौं, दिनभरि काम गरेर साँझ पिठो चामल ल्याउँथ्यौं,’ शुक्लाफाँटा नगरपालिका—१० बनहरा शिविरका गगन ताम्राकारले भने, ‘चिसो बढेपछि सबै ठप्प भएको छ, खान मात्रै होइन ओढ्ने ओछ्याउने लुगासमेत छैनन् ।’ आगो ताप्न दाउरासमेत नभएको उनले बताए ।

कैलाली कञ्चनपुरमा केही दिनयता घाम लागेको छैन । दिनभरि हुस्सु मात्रै लाग्ने गरेको छ । पुस अन्तिमसम्म दिउँसोको समयमा केहीबेर घाम लाग्ने गरे पनि तीन दिनयता घाम लागेको छैन । गत साता तीन दिनसम्म परेको लगातारको वर्षाले समेत चिसो बढेको हो । जलवायु तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालयका अनुसार न्यूनतम तापक्रम १० डिग्री सेल्सियसका आसपास भए पनि दिनभरि घाम नलाग्दा चिसो बढी भएको हो ।

प्रकाशित : माघ ३, २०७८ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?