कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नाकाबाट संक्रमित सिधै घर

केही समयअघिसम्म खोप लगाउन आनाकानी गर्ने स्थानीय अहिले खोप लगाउन धाइरहेका छन् ।

बैतडी‚ दार्चुला — कोरोनाको संक्रमण बढ्न थालेपछि बैतडीको नेपाल–भारत सीमा नाका झुलाघाटमा कडाइ गरिएको छ । भारतबाट नेपाल फर्किने सबैलाई अनिवार्य एन्टिजेन परीक्षण गर्न थालिएको छ ।

नाकाबाट संक्रमित सिधै घर

नाकामा दैनिक ७०/८० जनाको कोरोना परीक्षण भइरहेको सीमास्थित हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मी सुरज धामीले बताए । ‘सीमापारि जानेको उतै जाँच हुन्छ,’ धामीले भने, ‘अहिले भित्रिइरहेका सबैलाई कडाइका साथ जाँच गरिरहेका छौं । दैनिकजसो १/२ जनामा कोरोना पोजिटिभ देखिन थालेको छ ।’ भारतबाट आएकालाई कोरोना देखिएपछि भारतमै पिर्ता पठाइने गरिएको उनले बताए । नेपालबाट गएकालाई देखिए पारिबाट यतै पठाउने गरिएको छ ।

करीब दुई सातायता बैतडीमा संक्रमितको संख्या बढिरहेको छ । सीमा नाकाको हेल्थडेस्कमा कोरोना देखिएकालाई कहाँ पठाउने भन्ने केही निर्देशन नभएकाले जिल्ला अस्पताल जानुस् भनेर भन्ने अन्योल रहेको धामीले बताए । उनीहरू जाँचपछि कहाँ गए भन्ने केही थाहा नहुने गरेको बताए । कोरोना देखिएकालाई हेल्थ डेस्कबाट जिल्ला अस्पताल जानुस् भन्ने गरे पनि अस्पतालमा अहिले कोरोनाका बिरामी भर्ना भएका छैनन् ।

कोरोनाले गाह्रो भएकाहरूलाई अस्पतालमा भर्ना गर्ने गरिए पनि अहिले यस्ता बिरामी नआएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । ‘अक्सिजनको मात्रा कमसँगै अन्य स्वास्थ्य समस्या भएकालाई मात्र हामीले भर्ना गर्ने गरेका छौं । त्यस्ता बिरामीहरू आएका छैनन्,’ पन्तले भने, ‘अहिले कोही अस्पताल भर्ना भएका छैनन् ।’

जिल्लाका कुनै पनि स्थानमा आइसोलेसन केन्द्र नभएकोले कोरोना देखिएका सिधै घर जाने गरेका छन् । सूर्नया गाउँपालिकाले बासुलिङमा ४/५ जनालाई आइसोलेनमा राखे पनि अन्य कसैले नराखेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख योगशप्रसाद भट्टका अनुसार अन्य कुनै पालिकाले आइसोलेन बनाएका छैनन् । सबै जना संक्रमित घरै जाने गरेका छन् । यसरी संक्रमितहरू घर जान थाले संक्रमण रोक्नै नसक्ने गरी बढ्न सक्ने उनले बताए । उनले भने, ‘सीमानाकासंँगै अन्त कोरोना देखिएकालाई सम्बन्धित पालिकालाई खबर गरेर आइसोलेसनमा राख्नुस् भन्ने गरेका छौं । तर उनीहरूले तयारी छैन भन्छन् ।’ आफूहरूले संक्रमितलाई स्वास्थ्य सामग्रीहरू दिएर सुरक्षित रूपमा बस्न भनेर पठाउने गरे पनि लक्षण नदेखिँदासम्म ख्याल नगर्ने गरेका बताए ।

शुक्रबारसम्म बैतडीमा २२ जना संक्रमित छन् । केही समय अघिसम्म खोप लगाउन आनाकानी गर्ने स्थानीय अहिले खोप लगाउन स्वास्थ्यसंस्थामा धाइरहेका छन् । जिल्ला अस्पतालमा नियमित रूपमा खोप सञ्चालनमा छ । पालिकाहरूमा पनि समय र स्थान तोकेर खोप दिइरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले बताए । ‘जिल्लामा पर्याप्त मात्रामा खोप मौज्दात छ,’ उनले भने, ‘नागरिकहरू पनि खोप लगाउन हौसिएका छन् । जिल्ला अस्पतालमा आजभोलि दैनिक ३ सयको हाराहारीमा स्थानीयले खोप सेवा लिइरहेका छन् ।’ खोप राख्ने फ्रिज नहुँदा सीमानाकामा रहेको झुलाघाट हेल्थडेस्कमा भने खोप सेवा प्रदान गर्न नसकिएको उनले बताए ।

आवागमन बढ्दा संक्रमणको जोखिम
सुदूर पहाडमा मनाइने नरहरि त्यार (माघे संक्रान्ति) मनाउन गाउँ फर्कने बढेपछि कोरोना संक्रमणको जोखिम बढेको छ । भारतबाट आउनेहरू स्वास्थ्य परीक्षण नगरी सिधै गाउँ पसेका छन् । यसले संक्रमण बढ्ने अनुमान गरिएको छ । मकर संक्रान्तिलाई सुदूर पहाडमा नरहरी संक्रान्तिका रूपमा धुमधाम साथ मनाउने चलन छ । पुस मसान्तका दिन पकाएको मिठोमसिनो खाना माघे संक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई दिने चलन रहेको स्थानीय शिक्षक केशवदत्त बडू बताउँछन् ।

रोजगारीका खोजीका लागि भारत पसेका कतिपय यो चाड मनाउन पनि घर फर्केका छन् । हिउँदे सिजनमा घर खेतको काम कम हुने हुँदा छरछिमेकी र इष्टमित्र भेला भएर नरहरि संक्रान्ति विशेष रपमा मनाइने चलन छ । संक्रान्ति मनाउन चेलीबेटीहरू दुई/तीन दिन अगाडि नै माइती पुग्ने गर्छन् ।

नरहरि मनाउन घर फिर्नेको संख्या सीमा नाकाहरूमा दैनिक केही दिनयता बढेको सीमा प्रहरी चौकीहरूले जनाएका छन् ।

जिल्लाको मुख्य बसपार्कलगायत नेपाल–भारत जोड्ने खलंगाको पुलघाट, दत्तु, लाली, तिग्रम, जौलजिवी तथा अन्य अस्थायी नाकाहरूमा दैनिक सयौको संख्यामा घर फर्केका थिए । भारतबाट जिल्लामा आधा दर्जनभन्दा बढी नाकाबाटस्वदेश भित्रिने भए पनि जिल्लाको मुख्य नाका खलंगाको पुलघाटमा मात्र स्वास्थ्य जाँच भइरहेको छ । चार्डपर्व मनाउनेहरू घर फर्किन थालेपछि स्वास्थ्य कार्यालयले पुलघाट नाकाबाहेक जिल्लाका अन्य नाकाहरूमा शुक्रबारबाट परीक्षण किट पठाइरहेको स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य निरीक्षक जयराज भट्टले बताए ।

स्वास्थ्य कार्यालयले किट र स्वास्थ्य सामग्री मात्र उपलब्ध गराउने र सबैजसो काम स्थानीय कर्मचारीले गर्नुपर्ने कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार चार दिनमा २० जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना देखिएका अधिकांश भारतबाट घर फर्केका हुन् । सीमामा कोरोना परिक्षण गरेपछि पोजिटिभ भेटिए होम आइसोलेसनमा बस्न भनेर घर पठाउने गरिएको छ ।

प्रकाशित : माघ २, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?