रोजगारी गुमेपछि घर फर्कंदै

‘अहिले घर फर्कनेको भीड नाकामा अनियन्त्रित छ । केही दिनपछि जानेको भीड लाग्ला ।’ 
मोहन बुडाऐर

धनगढी — भारतको राजस्थानमा गाडी चलाउने बाजुराका अंकित विक बिहीबार कैलालीको त्रिनगर भन्सार नाकाको हेल्थ डेस्कमा भेटिए । उनीसँग श्रीमती र पाँच वर्षमुनिका दुई बालबालिका पनि थिए । तीन महिनाअघि मात्रै उनले घरबाट परिवारलाई आफूले काम गर्ने ठाउँ राजस्थानमा बोलाएका थिए ।

रोजगारी गुमेपछि घर फर्कंदै

‘एक व्यावसायिक कम्पनीको गाडी चलाउन पाएपछि परिवारलाई आफूसँगै राख्ने गरी बोलाए,’ उनले भने, ‘कोरोनाको कारण पुनः नोकरीबाट हात धुनुपर्‍यो । परिवारलाई घर पुर्‍याउन लागेको छु ।’

बेरोजगार भएका बेला परिवारलाई भारतमै राख्न सक्ने स्थिति नभएको उनले सुनाए । थपे, ‘फेरि यस्तो कोरोना कहरका बेला बच्चा र परिवारलाई घरमै छाडेर संक्रमणबाट जोगाउनु पनि पर्‍यो ।’ उनी आफू भने कोरोनाकालमै दुई पटक भारतका विभिन्न सहरमा काम खोज्न गएको बताउँछन् । ‘पहिलो कोरोनाकालमा डर लागेर घर आएको हुँ,’ उनले भने, ‘घरमा खान नपुग्ने भएपछि कोरोनाको दोस्रो लहर चलिरहेका बेला भारतको राजस्थानमा आएँ । केही महिनापछि ड्राइभिङको काम पाएँ । अब ठीकठाक जिन्दगी चल्छ भनेर घरबाट परिवारलाई तीन महिनाअघि मात्रै बोलाएँ । तेस्रो लहरले जागिर नै चट भयो । यस्ता छन्, हाम्रा दुःख ।

’ भारतको पुनाबाट घर फर्कंदै गरेका बाजुरा कोल्टीका दले विकको पीडा पनि फरक छैन । ‘कोरोनाको कहरले भारतमा पनि काम पाउन मुस्किल छ,’ उनले भने, ‘घरमा खान नपुग्ने समस्याबाट गुज्रिनुपरेको छ ।’

त्यस्तै, कैलालीको टीकापुरका रमेश रावलले पनि कोरोनाले रोजगारी गुम्दा घर फर्केको बताए । उनी पनि विगत लामो समय भारतको पुना सहरमा काम गर्दै आएका छन् । परिवारसहित भारतमा बस्दै आएका रावलको पेसा पनि कोरोनाले अस्थिर बनाएको छ । ‘कोरोना महामारी बढेपछि बालबच्चाको सुरक्षाका लागि घर फर्केको हुँ,’ उनले भने, ‘नाकामा भोग्नुपर्ने समस्याभन्दा म आफू त घर फर्कन खोजेको थिइनँ । उतै बस्थें । तर साथमा परिवार भएकाले घर फर्केको हुँ ।’

भारतका सहरका सटर र फ्याक्ट्रीहरूका ढोका बन्द हुनु भनेको नेपालीको रोजगार सम्बन्धित रहेको अर्का नेपाली बिर्खे नेपालीको भनाइ छ । ‘रोगको डरले भन्दा पनि नेपालीको रोजगार छुटेपछि खाली बस्नुभन्दा केही महिना घर फर्कने हुन्,’ उनले भने, ‘कोरोनाको प्रभाव कम भयो, सहरका ढोका खुले लकडाउन हट्यो भने पुनः भारतै पस्नुपर्ने हो ।’

नेपालीलाई रोजगारी दिन नसके पनि नाकामा आउजाउका लागि नेपाल सरकारले सहज गर्नुपर्ने उनको कथन छ । कैलाली त्रिनगर भन्सार नाकाको सुरक्षामा खटिएका सुरक्षाकर्मी भूपेन्द्र खत्रीले भने, ‘अहिले घर फर्कनेको भीड नाकामा अनियन्त्रित छ । केही दिनपछि जानेको भीड लाग्ला ।’

उनका अनुसार त्रिनगर गौरीफन्टा नाकाबाट अहिले हरेक दिन एक हजारको हाराहारीमा भारतका विभिन्न सहरबाट घर फर्किरहेका छन् । ‘कोरोनाका कारण जागिर गयो भनेर घर फर्केका धेरै छन्,’ उनले भने, ‘कोही माघी पर्व मनाउन पनि घर फर्किरहेका छन् । कोही उपचार गर्न गएकाहरू हुन् ।’ उनले भारतमा कोरोना कम भएपछि भारत जानेको भीड लाग्ने सुनाए । कोरोना संक्रमण बढेपछि घर फर्कनेको भीड लाग्ने क्रम पहिले पनि हुने गरेको बताए ।

प्रकाशित : माघ १, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?