दिपायल विमानस्थल अध्ययन- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिपायल विमानस्थल अध्ययन

पर्यटन मन्त्रालयले जग्गा अधिग्रहण गर्न १८ करोड बजेट विनियोजन 
मोहन शाही

डोटी — डोटीको दिपायल विमानस्थलको स्तरोन्नतिका नेपाल नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोली अध्ययन गरेको छ । टोली विमानस्थल वरपरको जग्गा अधिग्रहण पगर्ने जमिनको अवलोकन गरेर फर्किएको छ ।

पर्यटन मन्त्रालयले स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गर्न १८ करोड बजेट विनियोजन गरेको छ । सोही बजेटको कार्यान्वयनका लागि प्राधिकरणका प्रबन्धक रत्नबहादुर श्रेष्ठको नेतृत्वमा टोली दिपायल आइपुगेको हो ।

प्राविधिक टोलीले दिपायल सिलगढी नगरपालिका प्रतिनिधि, समाजसेवी, नागरिक समाज, सञ्चारकर्मीसँग विमानस्थलको स्तरोन्नतिबारे राय सुझाव मागेको थियो । प्रबन्धक श्रेष्ठले दिपायल विमानस्थललाई थ्री सी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्न सबैको सहयोग चाहिने बताए । थ्री सी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गरेपछि दिपायलमा ७२ सिटे जहाज उडाउन सकिनेछ ।

अहिले दिपायल विमानस्थलको रन–वे जम्मा ४ सय ५० मिटर मात्र रहेकोमा स्तरोन्नतिका लागि १ हजार २ सय मिटर लम्बाइ चाहिने प्राविधिक टोलीको भनाइ छ । रन–वेको दुवैतर्फ गरी डेढ सय मिटर चौडाइ आवश्यक पर्ने टोली सदस्य नलविक्रम थापाले जानकारी दिए । अहिले ६५ मिटर मात्र चौडाइ छ ।

स्तरोन्नति गर्नुपरेमा अहिले विमानस्थल रहेको बायाँतर्फको एयरपोर्ट बजार पूरै विस्थापित हुन्छ भने दक्षिणतर्फ घटाल मन्दिरको छेउ र उत्तरतर्फ वडा नं. २ को कार्यालयको खोलासम्म अधिग्रहण गर्नुपर्ने प्रारम्भिक चरणमा देखिएको प्राविधिक टोलीले जानकारी दिएको छ । ‘अहिले नै ठ्याक्कै यस्तो भनेर भन्दैनौं, विभिन्न विकल्पहरू हामी अध्ययनपछि प्रस्तुत गर्छौं,’ प्राविधिक थापाले भने, ‘निर्माणपश्चात् विमानस्थलले सुदूर पहाडमा विभिन्न सम्भावनाका ढोकाहरू खोल्नेछ ।’

प्राविधिक टोलीले सर्वसाधारण, नागरिक समाजको सहयोगमा उच्चस्तरको राजनैतिक सहमति भएमा उचित मुआब्जा दिएर विकल्पहरू खोजिने जनाएको छ ।

प्रकाशित : माघ १, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

नाकामा छैन सतर्कता

कर्णाली भित्रिने मुख्य नाका बबईमा कोरोना परीक्षण र होल्डिङ सेन्टर नहुँदा भारतबाट कर्णाली फर्किएकाहरु सोझै घर
चाँदनी कठायत, राजबहादुर शाही

वीरेन्द्रनगर, मुगु — कोरोनाको तेस्रो लहर भित्रिएसँगै कर्णालीमा संक्रमणको जोखिम बढ्दै गएको छ । तर कर्णाली भित्रिने मुख्य नाका बबईमा कोरोना परीक्षण र होल्डिङ सेन्टर स्थापना नगरिँदा भारतबाट कर्णाली फर्किएकाहरू सोझै घर गइरहेका छन् । 

नाकामा कडाइ नहुँदा संक्रमणको अवस्था भयावह हुने देखिएको स्थानीय अगुवा कमल केसीले बताए । ‘सबैतिर संक्रमित नै संक्रमित छन्, यस्तो अवस्थामा पनि पूर्वतयारी नथालिँदा रोक्न नसकिने देखियो,’ उनले भने, ‘भारतबाट आउनेहरू परीक्षणबिनै गाउँमा पसिरहेका छन् ।’ उनले स्वास्थ्य सेवा निर्देशनालयले नाकामा कडाइ गरिएको जनाए पनि परीक्षण र होल्डिङ सेन्टर नहुँदा संक्रमणको जोखिम बढ्दै गएको बताए ।

निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले सरोकारवालासँग छलफल गरी नाकामा निगरानी बढाउन लागिएको बताए । उनका अनुसार ज्वरो क्लिनिक तथा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । ज्वरो क्लिनिकमा १ चिकित्सक, १ नर्स र १ प्यारामेडिकको व्यवस्थाको जिम्मा सामाजिक विकास मन्त्रालयले लिने उनले बताए ।

होम आइसोलेसनमा रहनेहरूका लागि प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवालाई निरन्तरता दिने र यसका लागि अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिने निर्देशनालयले जनाएको छ । हरेक जिल्लामा पर्याप्त बेडसहितको कोभिड–१९ विशेष अस्पताल रहनेछन् ।

अस्पतालका लागि जनशक्ति, पर्याप्त उपकरणको व्यवस्थासहित आकस्मिक अवस्थामा रहेका संक्रमितलाई ओसारपसार गर्न चौबिसै घण्टा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय पनि सरोकारवालाको बैठकले गरेको छ । निर्देशनालयले एक साताअघि नाकामा लक्षण देखिएका व्यक्तिहरू फेला परेमा एन्टिजेन विधिबाट परीक्षण गर्ने, सूचना व्यवस्थापनका लागि फोकल पर्स तोक्ने, चिकित्सक र नर्सिङको दरबन्दी कम भएको स्थानमा तत्काल जनशक्तिका लागि पहल गर्ने निर्णय भए पनि कार्यान्वयन अझै भएको छैन ।

कर्णाली प्रवश गर्ने बबईसहित सल्यानको कपुरकोट र पश्चिम सुर्खेतको कुइने नाका छन् । तर कुइनेबाहेक अन्य नाकामा हेल्थ डेस्क स्थापना भएको छैन । निर्देशनालयका अनुसार कोरोना संक्रमणको दर पहिलेभन्दा बढेको छ । ‘सरोकारवालाको बैठकले गरेको निर्णय मुख्यमन्त्रीसमक्ष पेस हुन्छ,’ उनले भने, ‘त्यसलगत्तै नाकाहरूमा के–कसरी कडाइ गर्ने भनेर प्रक्रिया थालिनेछ, सरकारका तर्फबाट पनि थप केही हुन सक्छ ।’

नाकाहरूमा यसअघि होल्डिङ सेन्टरको स्थापना गरी अन्य प्रदेश, भारत तथा तेस्रो मुलुकबाट आएकाहरूलाई सेन्टरमा राख्ने गरिएको थियो । यसैबीच, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले पनि कोरोनाको नयाँ भेरिएन्टको संक्रमण जोखिम कम गर्न विभिन्न निर्णयहरू गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले तत्काल सीमानाकामा सतर्कता अपनाउने, स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने र जोखिम न्यूनीकरण गर्न सार्वजनिक स्थलमा निगरानी बढाउनेलगायतका निर्णय गरेको छ ।

संक्रमण फैलन नदिन सतर्कता

कोरोनाको नयाँ भेरिएन्ट देखिएसँगै हिमाली जिल्ला मुगुमा उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको हो । सदरमुकाम गमगढीसहित सबै स्थानीय तहका केन्द्रहरूमा २५ जनाभन्दा बढी भेला हुन नपाइने समितिको बैठकले निर्णय गरेको हो ।

मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा बालबालिका र स्थानीयलाई मास्क वितरण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : राजबहादुर शाही/कान्तिपुर

स्थानीयवासी, कर्मचारी, विद्यार्थी र व्यापारीले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने र हिँडडुल गर्दा खोप कार्ड देखाउनुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार जिल्लामा अस्पतालमा हेरेन्डेक संस्थाले उपलब्ध गराएको अक्सिजन प्लान्ट तत्कालै सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।

‘अस्पतालमा खाली रहेका अक्सिजन सिलिन्डर भरेर तयारी अवस्था राख्न पनि सुरु गरिएको छ,’ उनले भने, ‘एम्बुलेन्स सेवा कार्य सञ्चालन निर्देशिका तयार गरी जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई कोरोना संक्रमित बोक्न तयारी अवस्थामा राख्न स्वास्थ्य सेवा कार्यालयलाई निर्देशन दिइएको छ ।’

प्रकाशित : माघ १, २०७८ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×