३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

थारू बस्तीमा माघी तयारी

टीकापुर — हिउँदे बालीमध्येको तोरी पहिला निकै राम्रो देखिए पनि पछिल्लो समय हिउँदे वर्षाले पूरै बिगारिदिएको छ । किसानलाई पीडैपीडा छ । तर पीडाका बीचमा पनि थारू गाउँमा यो वर्षको माघी पर्वको तयारी भइसकेको छ ।

बस्तीमा माघीका लागि दुनाटपरी लाउनेदेखि मासुको जोहो गर्ने र माघीका कार्यक्रम बनाउने काम भइसकेको जानकी गाउँपालिका–३ सुवर्णपुरका छोटीलाल चौधरीले बताए । उनका अनुसार थारू गाउँमा सुँगुर/बंगुरको मासुका लागि को कति किन्ने हो ‘लिस्ट’ बनाउने काम भइसकेको छ । गाउँगाउमा माघीका कार्यक्रम बनाउने काम भइरहेको थारू समुदायका अगुवाहरू बताउँछन् । यसपालिको माघीमा कोरोनाका कारण धेरै मान्छे जम्मा हुन नपाइने सरकारी निर्देशन भए पनि गाउँ टोलमा सबै साथीभाइ मिलेर माघी मनाउने योजना रहेको लालबहादुर चौधरीले बताए । उनले भने, ‘थारूको संस्कृति परम्परा हराउँदै गएको छ । यसलाई जोगाउनका लागि पनि साथीभाइ मिलेर मघौटा नाचगान गर्ने योजना छ ।’

माघी पर्वमा ढिकरी बनाउन चामलको पिठो पिसाउने काम प्रायः सबै थारूले गरिसकेका छन् । साथीभाइ नातापातालाई माघमा निम्ता गर्ने क्रम जारी रहेको थारूहरू बताउँछन् । माघ पर्वमा आफन्त तथा साथीभाइलाई थारू जातिको पकवान ढिकरी र सुँगुर, बंगुरको मासु खाने/खुवाउने चलन छ । गाउँभरिका थारूले एकै ठाउँमा सुँगुर, बंगुर काट्ने हुँदा आफ्नो परिवारलाई चाहिने सुँगुर, बंगुरको मासुको जोहो भइसकेको जनाइएको छ ।

प्रकाशित : पुस ३०, २०७८ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?