दरबन्दी ७४, कार्यरत ९- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दरबन्दी ७४, कार्यरत ९

अर्जुन शाह

बाजुरा — सुदूरपश्चिमका १० वटा सरकारी अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । त्योमध्ये हाल ९ जनाको मात्रै पदपूर्ति छ । प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विभिन्न विधाका गरी २१ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकामा ८ को मात्रै पदपूर्ति छ । महाकालीमा २०, डडेलधुरामा १९ र टीकापुरमा १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर एक जनाको पनि पदपूर्ति छैन । टीकापुर अस्पतालमा एक जना काज सेवामा कार्यरत छन् ।

कोरोना संक्रमण तीव्र फैलिरहेको अवस्थामा सिकिस्त संक्रमितको उपचार गर्नुपरे क्रिटिकल केयरका लागि अत्यावश्यक जनशक्तिको सुदूरपश्चिममा चरम अभाव छ । पहिलो पंक्तिमा रहेने विशेषज्ञअन्तर्गत सुदूरपश्चिममा ६ जना मात्रै फिजिसियन छन् । ६ जना एनेस्थेसियोलोजिस्ट, ५ जना बालरोग विशेषज्ञ र ६ जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ रहेको अस्पतालहरूले जनाएका छन् । तीमध्ये सात पहाडी जिल्लाका अस्पतालमा फिजिसियन एक जना पनि छैनन् ।

प्रदेशमा रहेका १० वटा सरकारी अस्पतालमा दरबन्दी र करार सेवाका गरी विशेषज्ञ चिकित्सकको कुल संख्या २४ जना मात्रै छ । ती पनि अधिकांश करार सेवामा कार्यरत हुन् । संक्रमणका बेला अधिकांश बिरामीलाई श्वासप्रश्वासको समस्या हुने विगतको अनुभव छ । तर सुदूरपश्चिममा एक जना पनि श्वासप्रश्वास रोग विशेषज्ञ छैनन् । संक्रमितको उपचारका क्रममा फिजिसियन, श्वासप्रश्वास रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, बाल रोग र प्रसूति तथा स्त्री रोग विशेषज्ञ क्रिटिकल केयरका लागि अपरिहार्य छ । ‘वास्तवमा हामी निकै धेरै दबाबमा छौं,’ सुदूरपश्चिमको रेफरल सेन्टरका रुपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘क्रिटिकल केयरका लागि आवश्यक जनशक्ति नै छैन भन्दा पनि हुन्छ ।’

सुदूरपश्चिममा सरकारी दरबन्दी र करारबाट गरी उपलब्ध ६ जना फिजिसियनमध्ये सेती प्रादेशिक अस्पतालमा पाँच जना कन्सल्टेन्ट फिजिसियन र महाकाली प्रादेशिक अस्पतालमा एकजना जनरल फिजिसियन मात्र छन् । अन्य कुनै पनि अस्पतालमा फिजिसियन छैनन् । ‘सिकिस्त संक्रमितको उपचारका लागि फिजिसियनको प्रमुख आवश्यकता हुने गर्छ,’ बैतडी अस्पतालका प्रमुख डा. वसन्त जोशी भन्छन्, ‘क्रिटिकल केयरका लागि आवश्यक विशेषज्ञ चिकित्सकको संख्या सुदूरपश्चिममै अत्यन्तै न्यून छ । पहाडी जिल्लामा त एक जना पनि छैनन् ।’ सरकारले सुदूरपश्चिमभरिका लागि दुई जना फिजिसियनको दरबन्दी पूर्ति गरेको छ । सेती प्रादेशिक, महाकाली प्रादेशिक, टीकापुर र डडेलधुरा अस्पतालमा विभिन्न तहका फिजिसियनको दरबन्दी भए पनि वर्षौंदेखि रिक्त छ । सेतीमा ३ जना, महाकालीमा ३, डडेलधुरामा एक र टीकापुर अस्पतालमा एक जना फिजिसियनको दरबन्दी छ ।

यस्तै, भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट प्रदेशभर ६ जना मात्र छन् । सेतीमा एक जना, महाकालीमा २, डडेलधुरामा २ र टीकापुर अस्पतालमा एक जना एनेस्थेसियोलोजिस्ट कार्यरत छन् । ती पनि सबै करार सेवाका हुन् । प्रदेश सरकारले पहाडी जिल्लामा गत वर्ष नै आईसीयू र भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्तिको अभावमा थन्किएका सम्बन्धित अस्पतालका कर्मचारीले बताए । उनीहरूका अनुसार जनशक्ति अभावमा भेन्टिलेटर सञ्चालन हुन सम्भव छैन । प्रदेशले पठाएका आईसीयू भेन्टिलेटर अधिकांश पहाडी जिल्लामा सञ्चालनमै छैनन् । कोरोना संक्रमणका बेला क्रिटिकल केयरका लागि बालरोग र प्रसूति तथा स्त्रीरोग विशेषज्ञको जरुरत हुने स्वास्थ्यकर्मी बताउँछन् । पहाडी जिल्लाका कुनै पनि अस्पतालमा यी विशेषज्ञ उपलब्ध छैनन् । प्रदेशभर ५ जना बालरोग र ६ जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ उपलब्ध छन् । तीमध्ये सेतीमा २ जना, महाकालीमा एक, डडेलधुरा र टीकापुरमा १/१ जना बालरोग विशेषज्ञ छन् ।

यस्तै, प्रदेशमा उपलब्ध प्रसूति तथा स्त्री रोग विशेषज्ञमध्ये सेतीमा २, महाकालीमा २, टीकापुर र डडेलधुरा अस्पतालमा एकएक जना मात्र कार्यरत छन् । ‘अन्य प्रदेशमा विशेषज्ञ चिकित्सकको संख्या बढी छ, मेडिकल कलेज छन् तर हाम्रोमा भएको जनशक्तिमा पनि संघले तानेर लैजान्छ,’ सेतीका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले भने, ‘गेटा मेडिकल कलेज यथासक्य चाँडो सञ्चालनमा आएको भए केही सहयोग हुने थियो ।’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार एघारौं तहको प्रमुख कन्सल्टेन्ट फिजिसियन एक जनाको दरबन्दी रहेको यस अस्पतालमा उक्त दरबन्दी वर्षौंदेखि रिक्त छ । नवौ र दशौं तहका दुई जना बरिष्ठ फिजिसियन कन्सल्टेन्टको दरबन्दी रहेको सेती प्रादेशिक अस्पतालमा एक जनाको मात्रै पदपूर्ति छ । तीन जना बाल रोग विशेषज्ञको दरबन्दी भए पनि एक जना मात्रै कार्यरत छन् । तीमध्ये एकजना डा. हेमराज पाण्डे हाल मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा छन् । ऐनेस्थेसियोलोजिस्ट एक जनाको दरबन्दी रहेकोमा उक्त पद पनि रिक्त छ ।

प्रकाशित : पुस ३०, २०७८ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तानी नयाँ राष्ट्रिय सुरक्षा नीति : भारतसँग ‘नो दुस्मनी’

‘हामी आगामी सय वर्षसम्म भारतसँग दुस्मनी चाहँदैनौँ । नयाँ नीतिले भारत र अन्य छिमेकीसँग शान्तिपूर्ण सम्बन्धको बाटो खोज्छ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानले भारतलगायत अन्य छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्धको बाटो अँगाल्ने भएको छ । पाकिस्तानले नयाँ राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत विदेश नीतिमा भारतलगायतका छिमेकी मुलुकसँग शान्तिपूर्ण सम्बन्धको बाटो लिने उल्लेख गरेको हो ।

पाकिस्तानले शुक्रबार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्दैछ । करिब १ सय पेजको राष्ट्रिय सुरक्षा नीतिले लामो समयदेखिको विवादित भूभाग कश्मीरका बारेमा पनि दीर्घकालीन समाधानको बाटो खोज्ने बताइएको छ । मंगलबार पाकिस्तानी अधिकारीहररूले नयाँ सुरक्षा नीतिका बारेमा पत्रकारहरूलाई जानकारी गराएका थिए ।

मुलुकको राष्ट्रिय सुरक्षा समिति र मन्त्रिपरिषद्बाट अनुमोदित उक्त नीति शुक्रबार प्रधानमन्त्री इमरान खानले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । पाकिस्तानले पहिलो पटक राष्ट्रिय सुरक्षसम्बन्धी दृष्टिकोण र निर्देशनसमेत समेटेर ५ वर्षीय नीति सार्वजनिक गर्न थालेको हो ।

पाकिस्तानी सञ्चारमाध्यम द एक्सप्रेस ट्रिब्युन अधिकारीलाई उद्धृत गर्दै लेख्छ, ‘हामी आगामी सय वर्षसम्म भारतसँग दुस्मनी चाहँदैनौँ । नयाँ नीतिले भारत र अन्य छिमेकीसँग शान्तिपूर्ण सम्बन्धको बाटो खोज्छ ।’ त्यस्तै भारतसँग वार्ता भएमा दुई देशबीचको व्यापारिक सम्बन्ध पनि सामान्य रूपमा सञ्चालन हुने आशा गरिएको छ । तर ‘नरेन्द्र मोदी नेतृत्वको सरकारकै पालामा भने भारतसँग मेलमिलाप सम्भव नरहेको’ सुरक्षा नीतिमा उल्लेख गरिएको बताइएको छ ।

सन् २०१६ मा पठानकोट एयर बेसमा आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध अझ तिक्ततापूर्ण बन्दै गएको थियो । त्यसपछि उरीमा भारतीय सैनिक क्याम्पमा भएको आक्रमणपछि पनि दुई मुुलुकको सम्बन्ध बिग्रिएको थियो । पुलवामा आक्रमणपछि भारतले सन् २०१९ फेब्रुअरी २६ मा पाकिस्तानी भूमिमा आक्रमण गरेपछि सम्बन्ध झन्झन् बिग्रिएको छ ।

त्यस्तै भारत सरकारले जम्मू–कश्मीरलाई प्राप्त विशेष दर्जाको मान्यता खोसेपछि पाकिस्तान झन् रुष्ट बनेको थियो । गत फेब्रुअरीमा युद्धविराम गरिएको भनिए पनि सीमामा दुवै तर्फबाट बेला–बेला गोलीबारी हुने गरेको छ ।

पाकिस्तानले राष्ट्रिय सुरक्षा नीतिमा ‘आर्थिक सुरक्षा’ लाई विशेष प्राथमिकता दिएको छ । ‘नयाँ राष्ट्रिय सुरक्षा नीतिमा आर्थिक सुरक्षा केन्द्रविन्दुमा रहनेछ,’ पाकिस्तानीले अधिकारीले भनेका छन् । तर भू–आर्थिक रणनीतिमा संशोधन भए पनि भूरणनीति र भूराजनीतिक चासो भने परिवर्तन नहुने बताइएको छ । कश्मीर विवादलाई मुख्य राष्ट्रिय नीतिका रूपमा समेत हेरिएको पाकिस्तानी अधिकारीको भनाइ छ । त्यस्तै राष्ट्रिय सुरक्षा नीतिको एउटा भागमात्रै सार्वजनिक गरिने पनि पाकिस्तानी अधिकारीले पत्रकारहरूसँगको कुराकानीमा भनेका थिए ।

पाकिस्तानको रक्षा, विदेश र अन्तर्राष्ट्रिय नीति भए पनि नयाँ नीति ‘अम्ब्रेला डक्युमेन्ट’ का रूपमा रहने उनको भनाइ थियो । राजनीतिक स्थायित्वलाई जोड दिएको उक्त नीति हरेक वर्ष र सरकार परिवर्तनसँगै पुनरावलोकन गरिने पनि बताइएको छ । चरमपन्थी तथा असन्तुष्ट समूहसँग पनि संवाद गरी शान्तिपूर्ण समाधानलाई पनि नयाँ नीतिमा जोड दिएको छ । समाजको प्रगति र समृद्धिका लागि ‘बौद्धिक अभिव्यक्ति’ महत्त्वपूर्ण रहेको पनि नयाँ नीतिमा उल्लेख छ ।

त्यस्तै आन्तरिक रूपमा जनसंख्या–आप्रवासन, स्वास्थ्य, जलवायु परिवर्तन, खाद्य सुरक्षा र लैंगिक विभेद पनि नयाँ नीतिको पहिचानमा परेका मुद्दा हुन् ।

प्रकाशित : पुस ३०, २०७८ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×