जुटे सामूहिक बाख्रापालनमा महिला

मेनुका ढुंगाना

सोकट, अछाम — सदरमुकामबाट टाढाको सोकट बस्तीमा सामाजिक र आर्थिक काममा महिला नै अगाडी सर्छन् । कारण, अधिकांस पुरुषहरू कामको खाजीमा भारतका विभिन्न सहर पसेका छन् ।

गत वर्ष कोरोना संक्रमणले पुरुषहरू रोजगारी गुमाएर भारतबाट घर फर्के । त्यसले कतिपय परिवारको आम्दानी बन्द हुँदा घरखर्च जुटाउनसमेत समस्या भयो । कोरोनाका कारण रोजगारी गुमाएर पुरुषहरूको कमाइ बन्द भएको बेला चौरपाटी गाउपाँलिका—३ सोकटको उचापाथ्थरका महिलाहरूले सामूहिक बाख्रा पालन गर्ने योजना बनाए । तर, धेरै लगानी गर्न सक्ने अवस्था भने कसैको थिएन । महिलाहरू एकजुट भए । गाउँका महिला मिलेर मालिका नागरिक समाज गठन गरे । समूहकी अध्यक्ष तुलसी साउदका अनुसार उक्त समूहले कषि क्षेत्रमा काम गर्ने गरी प्रस्तावना तयार गरेर व्यवसाय दर्ता गरे ।

गाउँपालिकामा प्रस्ताव लिएर जाँदा गाउपालिकाले ४ लाख अनुदान दिने निर्णय गर्‍यो । ‘गाउँपालिकाबाट पनि सकरात्मक प्रतिक्रिया पायौं । ४ लाख दिन्छौं पनि भने । त्यसपछि हाम्रो वडामा लागु भएको मालिका विकास संघसँग सहकार्य गर्ने सोच बनायौं । हाम्रो योजना सुनेपछि उहाँहरूले पनि ८ लाखसम्म सहयोग गर्न सक्ने कुरा राखे,’ तुलसीले भनिन्, ‘गत वैशाखमा गाउँपालिकाको ४ लाख सहयोग, मालिका विकास संघको ८ लाख सहयोगले हामीले सुरु गर्ने भनेको योजना अगाडी बढ्यो ।’

उनका अनुसार अहिले महिलाहरूले उचापाथर टोलमा ७० भन्दा बढी बाख्रा अटाउन सक्ने खोर बनाएका छन् । सुरुमा ६१ बाख्रा किनेको समूहकी सचिव निर्मला साउदले बताइन् । ‘ती बाख्रा किनेपछि हामीले किनबेच गर्न सुरु गरिसकेका छौं । अहिले बैंकमा ८५ हजारभन्दा बढी जम्मा भएको छ । गाउँको समूहमा पनि बचत गरेका छौं’ उनले भनिन्, ‘गाउँको समूहबाट हाम्रा धेरै दिदीबहिनीेले ऋण चलाएका छन् । पाँच/दश हजारको समस्या आउँदा अन्त कतै जानु पर्दैन् । महिलाहरूले समूहबाट नै लिने गरेका छौं । सस्तो ब्याजदरमा समूहबाट नै ऋण पाइन थालेपछि धेरै महिलाहरूलाई सहज भएको छ ।’

सामूहिक व्यवसाय मात्र नभएर गाउँमा रहेका कुरीति, कुसंस्कारका विरुद्ध पनि सबै महिला एक भएर लागेको तुलसीको भनाइ छ । ‘महिलाहरूको आिर्थक पाटो बलियो भयो भने कुसंस्कारका विरुद्ध बोल्ने आट पनि आउछ भन्ने लाग्छ । अहिले हामी सबै एकजुट भएका छौं,’ उनले भनिन् ।

आलोपालो गोठालो

समूहकी सदस्य झंकरा साउदका अनुसार समूहमा ३० जना महिला आबद्ध छन् । महिलाहरूले सुरु गरेको बाख्रा पालन व्यवसायका लागि पनि नियम बनाएका छन् । एक दिन दुई जना गोठालो जाने गर्छन् । यसो गर्दा एउटा महिलाको पालो महिनाको दुईपटक पर्छ । ‘हामीले आलोपालो गोठालो जाने नियम बनाएका छौं । आफ्नो पालो कुन दिन आउँछ भन्ने सबैले याद गरेका हुन्छन्’ झंकराले भनिन्, ‘सामूहिक रूपमा यसरी व्यवसाय सुरु गर्न कठिन त छ नै । समहूका सबै सदस्यको मन मिल्नुपर्‍यो । कुरा र विचार मिल्नुपर्‍यो । सामूहिक रूपमा यसरी व्यवसाय सुरु गर्न कठिन त छ नै । अहिलेसम्म हाम्रो समूहका कुनै पनि महिला बीच तिक्तता आएको छैन ।’ अहिले वरिपरिका गाउका मान्छेहरू पनि यसरी हामीले व्यवसाय गरेको देखेर हामी पनि गर्छौं भन्न थालेको उनले बताइन । व्यवसायलाई अझै बलियो बनाउन स्थानीय, केन्द्र र प्रदेश सरकारबाट अनुदानका लागि योजना बनाइ रहेको उनीहरूको भनाइ छ ।

दुर्गमका महिलाहरूले सामूहिक व्यवसाय गर्ने योजना सुनाएपछि आफूहरू प्रभावित भएर सहयोग गरेको मालिका विकास संघ परिवर्तन परियोजनाका संयोजक रतन रावलले बताए । ‘पुरुषहरू गाउँमा कोही छैनन् । सबै कामको खोजीमा भारतमा छन् । यहाँका महिलाले यसरी व्यावसायिक योजना बनाएको देख्दा खुसी लाग्यो । यसरी काम गर्ने समुदायका महिलालाई सबैले हौसला दिनुपर्छ ।’

प्रकाशित : पुस २९, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?