हिमाली बस्ती उक्लिँदै खच्चड- सुदूरपश्चिम - कान्तिपुर समाचार

हिमाली बस्ती उक्लिँदै खच्चड

कान्तिपुर संवाददाता

दार्चुला — जिल्लाको सडक विस्तार हुने क्रम बढेपछि विस्थापित भएका खच्चडहरू ढुवानीको काम खोज्न हिमाली क्षेत्रमा जान थालेका छन् । जिल्लाको हिमाली क्षेत्रमा अहिले सडक नपुग्दा ढुवानीको काममा खच्चड प्रयोग गर्नुपरेको हो ।

यहाँका अधिकांश ग्रामिण बस्तीहरू दुर्गम भेगमा भएका र सडक सञ्जालले नजोडिएका ठाउँहरूमा पछिल्लो समय ढुवानीको माध्यम घोडा खच्चड बन्न पुगेका छन् । घोडा खच्चडहरू सडक सञ्जाल जोडिएको ठाउँमा कम हुँदै गए पनि बर्षातको समयमा भरपर्दो ढुवानीको रूपमा खच्चडको भर पर्नुपर्ने भएको छ । ग्रामीण क्षेत्रमा कच्ची र नयाँ कटिङका सडक अवरुद्ध भएका बखत वर्षात्मा घोडा खच्चड व्यवसायीहरूले काम पाउने गरेको खच्चड व्यवसायी कल्यानसिंह धामीले बताए ।

अहिले हिमाली क्षेत्रमा हिमपात भएकोले ढुवानीको काम घटेको छ । यो क्षेत्रमा ढुवानीको सामान वर्षात्को समयमा बढी हुने गरेको हो । धामीले हिमाली क्षेत्रतिर बर्खामा बढी खच्चडबाट ढुवानी हुनेगरेको बताए । दुरी हेरेर ढुवानीको भाडा तोक्ने गरेको उनले बताए । ‘दुई रुपैयाँदेखि ३०/३२ रुपैया प्रतिकिलो भाडाको सामान पाइउमा राम्रै आम्दानी हुन्छ‚’ धामीले भने, ‘थोरै भएपनि जिल्लाका सबै स्थानीय तहमा घोडा खच्चड चलेका छन् काम पाइएकै छ ।’

सडक नपुगेका जिल्लाका अपीहिमाल गाउँपालिकाको अधिकांश क्षेत्रमा ढुवानीको काममा खच्चडको प्रयोग भइरहेको छ । ५ वर्षअघिसम्म जिल्लाका सबैजसो ठाउँमा खच्चडले ढुवानी गर्थे । अहिले सडक विस्तार हुन थालेपछि खच्चड व्यवसायीहरू समस्यामा परेका छन् । ‘सडक नभएका ठाउँमा काम पाईरहेका छौ’ खच्चड व्यवसायी नौगाड गाउँपालिका–१ का नविन ठगुन्नाले भने, ‘पहिला सदरमुकामबाट नै खच्चडमा ढुवानीको काम पाइन्थ्यो । अहिले सुण्डमुण्डबाट ढुवानी गरिरहेका छौं ।’ उनका अनुसार स्थानीय तहमा ढुवानीको काम घटेको छ । यहाँ काम नपाइने हुँदा अहिले अपीहिमाल र ब्यास गाउँपालिकातिर जानुपरेको उनको भनाइ छ ।

सडक सञ्जालसँंग ग्रामिण बस्ती जोडिएपछि घोडा खच्चडको प्रयाग घटेको हो । तर, ग्रामीण क्षेत्रमा ढुवानीका लागि भने खच्चड विश्वासिलो साधन बनेको छ । दुर्गमका सबै सडकहरू कच्ची र नया कटिङका भएकाले भत्कने र बन्द हुने समस्या बढी हुन्छ । सडक अवरुद्ध भएपछि गाडीको कुनै अर्थ नरहने भएकोले खच्चडबाट ढुवानी गर्न विश्वास र सुरक्षित मानिने हुँदा वर्षात्‌मा खच्चड बढी काम पाइने नवीन ठगुन्नाले बताए ।

पारिबगडसम्म गाडीमा ढुवानी गर्ने र त्यहाँबाट खच्चडले सामान बोक्दै आएको छ । वर्षात्मा बिटुलेदेखि खच्चडमार्फत सामान ढुवानी हुदै आएको छ । गाडीको पहुँच नभएको समयमा यात्रा गर्न, खाद्यान्न सामान ढुवानीका निम्ति घोडा खच्चडको प्रयोग हुने गरेको मार्मा गाउँपालिकाको लटिनाथ बजारका व्यापारी सुरेन्द्र विष्टले बताए ।

प्रकाशित : पुस २८, २०७८ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्

नारायणीमा अक्सिजन प्लान्ट जडान

कान्तिपुर संवाददाता

पर्सा — नारायणी अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । दुई साताअघि प्लान्ट जडान गरिएको हो । अब अस्पताल अक्सिजनमा आत्मनिर्भर भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए । 

२० टन क्षमताको प्लान्टले दैनिक २ हजार २ सय ठूलो सिलिन्डरमा अक्सिजन उपलब्ध गराउन सक्छ । हाल अस्पताललाई दैनिक ५० सिलिन्डर हाराहारीमा मात्र आवश्यक छ । ‘गत वर्ष कोरोना महामारीको दोस्रो लहरमा बिरामीको चाप हुँदा हामीलाई दैनिक ५ सय सिलिन्डरसम्म अक्सिजन आवश्यक परेको थियो,’ उनले भने, ‘अब तेस्रो लहर आइहाले पनि यो प्लान्टले माग धान्न सक्छ ।’

पहिलो कोरोना महामारीका बेला पर्सादेखि सर्लाहीसम्मका संक्रमित यहाँ भर्ना भएका थिए । अस्पतालमा त्यतिबेला अक्सिजनको चरम आवश्यकता भएको थियो ।

दोस्रो लहरको बीचतिर २/३ दिन अक्सिजनको अभाव बेहोर्नुपरेको थियो । अब त्यस्तो अभाव नहुने डा. सिंह दाबी गर्छन् । उनले अर्को प्लान्ट पनि जडान गर्न लागिएको जानकारी दिए ।

‘योबाहेक संसदीय कोषबाट निर्माणाधीन अर्को अक्सिजन प्लान्ट पनि सञ्चालनमा आए हामीसँग पर्याप्त अक्सिजन उपलब्ध हुनेछ,’ उनले भने । अस्पतालमा अहिले संक्रमित भर्ना नरहेको डा. सिंहले बताए ।

प्रकाशित : पुस २८, २०७८ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×