१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित

काठमाडौँ — नेकपा (एमाले) दार्चुला जिल्ला कमिटी अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित भएका छन् । नौगाड गाउँपालिकाका अध्यक्षसमेत रहेका धामीले ५ सय ८८ मत ल्याएर विजयी भएका हुन् । 

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित

सोमबार राति भएको मतदानको मतगणना मंगलबार भएको थियो । ७ सय ५ मत खसेकोमा धामीले ५ सय ८८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी ज्ञानेन्द्र घर्तिले ९२ मत प्राप्त गरेका थिए ।

जिल्ला कमिटी उपाध्यक्षमा चरनसिंह बुढाथोकी निर्विरोध निर्वाचित भएका थिए । सचिवमा शेरसिंह धामीले ४ सय २२ मत ल्याएर विजयी भएका छन् । दुई उपसचिवमा खडकसिंह बडाल र चन्द्रादेवी कुँवर विजयी भए । बडालले ३ सय ८४ मत र कुँवरले २ सय ७३ मत ल्याएका थिए ।

अध्यक्षमा निर्वाचित धामीले २०७४ सालको चुनावअघि माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । माओवादी परित्याग गरेपछि उनले एमालेबाट नौगाड गाउँपालिका अध्यक्षमा जितेका थिए । अध्यक्षमा पराजित घर्ती भने एमालेका जिल्ला कमिटीका निवर्तमान सचिव हुन् ।

प्रतिनिधिसभा विघटनपछि एमालेको केन्द्रीय तहमा चलेको विवादका क्रममा उनी माधवकुमार नेपाल पक्षमा खुलेका थिए । भीम रावललगायत नेताहरू एमालेमै फर्किएपछि उनी पनि एमालेमै बसेका थिए ।

जिल्ला नेतृत्व चयनका लागि सर्वसम्मतिको पहल भएको थियो । पुस २४ गते जिल्ल अधिवेशन उद्घाटनपछि तीन दिनसम्म पनि सर्वसम्मत नेतृत्व चयन सफल हुन नसकेपछि निर्वाचन भएको थियो ।

प्रकाशित : पुस २७, २०७८ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?