नयाँ सहर योजना अलपत्र

तृप्ति शाही

बैतडी — आर्थिक वर्ष ०६७/६८ मा मुलुकका १० वटा सहरलाई नमुना सहर बनाउने घोषणामा बैतडीको पाटन पनि पर्‍यो । योजनाअनुसार काम थालेको ११ वर्ष भइसक्दा सहर भन्नलायक उल्लेख्य प्रगति केही भएको छैन । बरु बनेका एकआध संरचना पनि अलपत्र छन् ।

नयाँ सहर योजना अलपत्र

नयाँ सहरअन्तर्गत पाटन नगरपालिकामा विमानस्थल, सुविधा सम्पन्न अस्पताल, खानेपानी, ल्यान्ड पुलिङको काम गर्ने भनिएको थियो । यहाँबाट सबै वडासम्म सडक पुर्‍याउने योजना पनि थियो ।

मनोरञ्जन पार्क, बजारभित्रको सडक कालोपत्र गर्ने र बसपार्क बनाउने पनि भनिएको थियो । नयाँ सहर योजना कार्यालयका भवन निर्माण सकेर बजार व्यवस्थित गर्ने आयोजनाको उद्देश्य थियो । तर हालसम्म २० प्रतिशत मात्रै काम हुन सकेको छ । भएका काम पनि अधुरा छन् । गतवर्षबाट सञ्चालनमा आएको पाटन विमानस्थलमा साताको एक दिन मात्र उडान हुन्छ । धावनमार्गबाहेक टर्मिनल भवन र सुरक्षा संयन्त्रको व्यवस्थापनहुनै बाँकी छ ।

निर्माण अलपत्र बन्दा बसपार्क घाँसे मैदान बनेको छ । ‘यतिका वर्षसम्म नयाँ सहरका लागि केही काम भएको छैन । सुरु गरिएका काम पनि अधुरै छन्,’ स्थानीय चमनकुमार भण्डारीले भने, ‘सहर बन्छ भनेर खुसी भएका स्थानीय दुःखी छौं ।’

सहरको मुख्य काम ल्यान्ड पुलिङको भए पनि यही काम हुन नसकेको नयाँ सहर आयोजनाका सूचना अधिकारी विरेन्द्रकुमार यादवले बताए । बजेट अभाव र स्थानीयले कुरा नबुझ्दा काम अघि बढ्न नसकेको उनको आरोप छ । ‘हामीले स्थानीयको जमीन लिएर काम गरिसकेपछि उनीहरूलाई नै दिने हो । बाटो बनाउँदा पनि स्थानीयको जमिन खरिद हुन्छ । कसैको जग्गा धेरै छ । कसैको कम छ । लेनदेनको कुरा हुन्छ । त्यसैले अवरोध भएर काम हुन सकेको छैन,’ उनले भने ।

नगरपालिकाका सबै वडासम्म सडक जोड्ने योजना पनि कम बजेट र चट्टानीक्षेत्र भएकोले अघि बढ्न नसकेको कार्यालयले जनाएको छ । आयोजनाको कार्यालय नै सुरुमा कहिले संघ त कहिले प्रदेशअन्तर्गत पर्ने अन्योलका कारण बसपार्कको कामले गति लिन नसकेको यादव बताउँछन् । डेढ वर्षअघि कार्यालय पाटनमै स्थापना भएपछि थप काम गर्न सहज भइरहेको उनको दाबी छ । २ करोडको खानेपानी योजना पनि अलपत्र छ । डीपीआरलगायत काम सकेर निर्माण सुरु गर्ने बेला स्थानीयले विवाद गरेपछि ठप्प बनेको उनले बताए । ‘पछि खोजिएको मुहान धेरै टाढा भएको र यसमा बजेट धेरै चाहिने भएकोले कामै हुन सकेको छैन,’ उनले थपे ।

पुराना कामहरूको कहाँबाट रकम भुक्तानी पाउने भन्ने अलमलले निर्माण व्यवसायीले पनि काम गर्न नसकेका उनले बताए । अब काम अघि बढेकोले असारभित्र बसपार्कको काम सम्पन्न हुने दाबी उनले गरे । पूराना कामहरू सबै सकिएको भन्दै उनले भने, ‘काउन्टरको काम बाँकी थियो । यसको पनि ठेक्का गरिसकेका छौं । साउनबाट सञ्चालनमा ल्याउँछौं ।’

कार्यालयका अनुसार वार्षिक १०–१२ करोड रुपैयाँसम्म नयाँ सहरको लागि बजेट आउने गरेको छ । जसबाट हालसम्म कार्यालय भवन र बजारभित्रको सडक कालोपत्र गर्ने मात्र काम भएको छ । एउटा सडकको ट्र्याक पनि खोलिएको छ ।

प्रकाशित : पुस २०, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?