खाद्य कम्पनीले रोक्यो धान खरिद- सुदूरपश्चिम - कान्तिपुर समाचार

खाद्य कम्पनीले रोक्यो धान खरिद

गणेश चौधरी

टीकापुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीबाट धान खरिद कार्य रोकेको छ । गुणस्तरीय धान नआएको भन्दै कम्पनीले खरिद कार्य स्थगन गरेको हो । ‘पानीमा भिजेको न्यून गुणस्तरको धान नकिन्नु भन्ने निर्देशन छ । किसानले खरिद केन्द्रमा ल्याएको धान गुणस्तरीय नभएकाले खरिद बन्द गरेका हौं,’ कम्पनीकी सुदूरपश्चिम प्रदेश प्रमुख इन्जिला बस्नेतले भनिन् ।

कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण जिल्लाका अधिकांश किसानको धान भिजेको थियो । कम्पनीले सरकारले निर्धारण गरेको मूल्यमा धान खरिदका लागि पानीले नभिजेको, माटो, परालको टुक्रा र पोपटा नमिसिएको सफा धान हुनुपर्ने मापदण्ड बनाएको थियो ।

केन्द्रमा प्राविधिकले गुणस्तर जाँच गरेपछि मात्र उपयुक्त देखिए खरिद गर्न सक्ने कम्पनीले जनाएको थियो । तर टीकापुर सत्तीमा गुणस्तरीय नआएको भन्दै खरिद कार्य नै बन्द गरिएको हो । कम्पनीले यो वर्ष कैलालीबाट ३५ हजार क्विन्टल धान किन्ने लक्ष्य राखेको थियो तर सत्तीबाट १४ क्विन्टल र धनगढी मोहनपुरबाट ३२ क्विन्टल गरी ४६ क्विन्टल मात्रै किनिएको बस्नेतले जनाइन् । उनका अनुसार गत वर्ष ६५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएकोमा ५३ हजार क्विन्टल खरिद गरिएको थियो ।

कम्पनीले धान किन्न रोकेपछि आफूहरू मर्कामा परेको जानकी गाउँपालिका–३ का किसान करम चौधरीले बताए । ‘सरकारले धानको भाउ तोक्छ तर हामीले त्यो मूल्यमा बेच्न पाउँदैनौं । कात्तिकमै भित्र्याएको धान अहिलेसम्म बेचेको छैन । घरमा राखिएको धान मुसाले खाएर सखाप पारिसक्यो,’ उनले भने । गत भदौ २९ मा बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य २ हजार ७ सय ५२ र मध्यमको २ हजार ९ सय २ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको थियो । गत वर्ष यो आँकडा क्रमशः २ हजार ७ सय ३५ र २ हजार ८ सय ८५ रुपैयाँ थियो ।

‘हाम्रो धानको मूल्य साहू/महाजनले निर्धारण गरिरहेका छन्,’ जानकी–३ कै अर्का किसान कमल बुढाले भने । उनले गुणस्तरीय धान पनि प्रतिक्विन्टल २ हजार रुपैयाँमा बेच्न बाध्य भएको सुनाए । घर खर्च चलाउन कम मूल्यमै धान बेचेको उनले बताए ।

प्रकाशित : पुस २०, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्

अर्जुन दास मृत्यु प्रकरण : १० दिनपछि अन्त्येष्टि

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका सोही स्थानका २५ वर्षीय अर्जुन दासको १० दिनपछि सोमबार अत्येष्टि गरिएको छ ।

हत्यारा पक्राउ नपरेसम्म शव नबुझने भन्दै उनका आफन्तले शव बुझेका थिएनन् । अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो ।

दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन् ।

पीडित पक्ष र प्रहरी तथा जनप्रतिनिधिबीच आइतबारको छलफलबाट मृतकको काजकिरिया खर्च र सन्तानको पढाइ खर्च व्यहोर्ने गाउँपालिकाले सहमति गरेपछि आफन्तहरू शव अन्त्येष्टि गर्न तयार भएका हुन् ।

स्थानीय ललित परियारका अनुसार घटनामा संलग्न दोषीलाई चाँडो पक्राउ गरी कारबाही गर्ने र परिवारलाई नगद तथा खाद्यान्न साथै मृतकका सन्तानको उच्च शिक्षा अध्यनको जिम्मा गाउँपालिकाले लिएको छ । साथै पीडित परिवारको एक जनालाई क्षमता अनुसार रोजगारी दिने र अमरावती सामुदायिक वनमा अर्जुनको शालिक निर्माणका लागि पहल गर्ने सहमति भएको हो ।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएका थिए ।

पुस २ गते सुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए । उनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन कारावासको सजाय हुनुपर्ने माग गर्दैआएका छन् ।

प्रकाशित : पुस १२, २०७८ १९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×