खर काट्दा अकाल मृत्यु

भीरबाट लडेर मृत्यु भएका अधिकाशंको जानकारी प्रहरीसम्म पुग्ने गरेको छैन
मनोज बडू

दार्चुला — दार्चुलाका ग्रामीण भेगमा घाँस काट्ने काममा अधिकांश महिला नै हुन्छन् । गाईबस्तुका लागि हिउँदको घाँस (खर) वनपाखामा काट्ने क्रममा भीरबाट लडेर बर्सेनि कतिपय महिलाको अकालमै ज्यान जाने गरेको छ ।

खर काट्दा अकाल मृत्यु

वनपाखामा महिलाहरू नै बढीजसो घाँस काट्न जाने भएकाले उनीहरूको जीवन जोखिममा पर्ने गरेको छ । प्रत्येक वर्ष दार्चुलामा खर काट्ने क्रममा भीरबाट खसेर १०/१२ जना महिलाको अकालमै ज्यान जाने गरेको छ । केहीलेकाहीं मात्रै घटनाबारे प्रहरीलाई जानकारी दिने भएकाले प्रहरीको अभिलेखमा पनि कमै घटना दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्षमा हालसम्म जिल्ला प्रहरी कार्यालयमा घाँस काट्ने क्रममा ६ जना महिला भीरबाट लडेर र एक महिलाको करेन्ट लागेर मृत्यु भएको रेकर्ड छ ।

दार्चुलामा पछिल्लो पाँच महिनामा खर काट्ने क्रममा सात जनाले ज्यान गुमाएका छन् । यसमध्ये ६ जना महिला छन् । घाँस काट्ने क्रममै १५ दिनको अवधिमा भीरबाट लडेर ३ जनाको मृत्यु भएको छ । पुस ८ गते नौगाड गाउँपालिका–२ दल्लेखका ६६ वर्षीया धानादेवी ठगुन्ना, मंसिर २९ गते मालिकार्जुन गाउँपालिका–३ खालिडाँडाका गजेन्द्रसिंह धामी र मंसिर २५ गते लेकम गाउँपालिका–२ कैनोडा साच्चोरीका गणेशदत्त जोशीको भीरबाट लडेर मृत्यु भएको थियो ।

चिसोयाममा गाईभैंसीलाई खुवाउन घाँस तथा स्याउला कम पाइने भएकोले भदौदेखि यहाँका महिलाहरू घाँस (संकलन) गर्छन् । गाईबस्तुलाई हिउँदमा घाँस आपूर्ति गर्न भिरालो मेलामा घाँस काट्नेपर्ने मालिकार्जुन गाउँपालिका–८ की सरस्वती बोहराले बताइन् । भदौदेखि कात्तिक महिनाभरिमा महिलाहरू घाँस संकलनमा लाग्छन् । दिनभरि भीरपाखामा चढेर गाज्यो (खर) काट्दै थुप्रो बनाएर राख्ने गरिन्छ,’ उनले भनिन्, ‘उक्त सुकेको घाँसलाई हिउँदमा अन्य घाँससँंग मिसाएर वा सिधै गाईभैंसीलाई खुवाउने गरिन्छ ।’

अधिकांश ठाउँमा पुरुषहरू खेत जोत्ने र महिलाहरू खर काट्ने काम गर्छन् । कुनै परिवारमा भने महिला र पुरुष मिलेर खर काट्ने गर्छन् । छिटो र बढी काट्ने प्रतिस्पर्धा चल्ने भएकोले भीरबाट खस्ने जोखिम बढी हुन्छ । खर काट्ने मेला भिरालो र चट्टानी भूभागले लामो भीरमा लड्ने हुँदा भीरबाट लडेका मानिसहरू कमै बाँच्ने गरेको बोहराको भनाइ छ ।

ग्रामीण भेगमा बसोबास गर्नेहरूको मुख्य पेसा कृषि र पशुपालन हो । गाईवस्तुका लागि हिउँदमा खासै घाँस नहुने हुँदा खर काटेर भण्डारण गर्ने गरिन्छ । वनपाखामा खर वा घाँस काट्ने क्रममा भीरबाट खसेर हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने उपाय तथा चेतना अभावमा महिलाहरूको अकालमै ज्यान जाने गरेको छ ।

भीरबाट लडेर मृत्यु भएका अधिकांशको जानकारी प्रहरीसम्म पुग्ने गरेका छैनन् । भीरबाट लडेर मृत्यु भएका सबैको जानकारी प्रहरीसम्म नपुग्ने भएकोले मृतकको संख्या अझै बढी हुन सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले बताए । भौगोलिक विकटता र यातायातको असुविधाका कारण भीरबाट लडेर घाइते भएका मानिसले समेत समयमै उपचार नपाएर ज्यान गुमाउने गरेका छन् ।

घाँसखेती नगर्दा गाईभैंसीका लागि आहार खोज्न मानिस कठिन भीर चढ्ने गरेका छन् । कतिपय मानिसले खर बिक्री गर्नसमेत यो समयमा घाँस संकलन गर्छन् । भीरमा सुकेको खरभन्दा खेतमा उत्पादन गरेको घाँस बढी पोसिलो हुने भएकाले कृषकहरूलाई घाँस खेती लगाउन प्रोत्साहन गर्नुपर्ने कृषक नवराज जोशीको भनाइ छ ।

प्रकाशित : पुस १४, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?