अर्जुन दास मृत्यु प्रकरण : १० दिनपछि अन्त्येष्टि- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्जुन दास मृत्यु प्रकरण : १० दिनपछि अन्त्येष्टि

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका सोही स्थानका २५ वर्षीय अर्जुन दासको १० दिनपछि सोमबार अत्येष्टि गरिएको छ ।

हत्यारा पक्राउ नपरेसम्म शव नबुझने भन्दै उनका आफन्तले शव बुझेका थिएनन् । अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो ।

दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन् ।

पीडित पक्ष र प्रहरी तथा जनप्रतिनिधिबीच आइतबारको छलफलबाट मृतकको काजकिरिया खर्च र सन्तानको पढाइ खर्च व्यहोर्ने गाउँपालिकाले सहमति गरेपछि आफन्तहरू शव अन्त्येष्टि गर्न तयार भएका हुन् ।

स्थानीय ललित परियारका अनुसार घटनामा संलग्न दोषीलाई चाँडो पक्राउ गरी कारबाही गर्ने र परिवारलाई नगद तथा खाद्यान्न साथै मृतकका सन्तानको उच्च शिक्षा अध्यनको जिम्मा गाउँपालिकाले लिएको छ । साथै पीडित परिवारको एक जनालाई क्षमता अनुसार रोजगारी दिने र अमरावती सामुदायिक वनमा अर्जुनको शालिक निर्माणका लागि पहल गर्ने सहमति भएको हो ।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएका थिए ।

पुस २ गते सुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए । उनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन कारावासको सजाय हुनुपर्ने माग गर्दैआएका छन् ।

प्रकाशित : पुस १२, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्

सातादेखि अर्जुनको शव अस्पतालमै

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव एक साता बित्दा पनि शव उठेको छैन । पोस्टमार्टमपछि उनको शव अस्पतालमै छ । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाएका छैनन् ।

अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव ३ दिनपछि घटनास्थलबाट उठाइएको थियो । दोषी पक्राउ नपरेसम्म बनबाट शव उठाउन नदिने भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन् । पीडित परिवार, स्थानीय, प्रहरी प्रशासन र विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनीधिबीचको छलफलपछि ३ दिनपछि उठाइएको शव टीकापुर अस्पतालमा पोस्टमार्टमपछि अस्पतालमै राखिएको छ ।

मृतक अर्जुनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन कारावासको सजाय हुनुपर्ने माग गर्दै शव नउठाएर विरोध प्रदर्शन र राजमार्ग अवरुद्ध गरिरहेका छन् । अर्जुन दासको आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवार भारतमा गई मजदुरी गर्दै आएको स्थानीयले बताएका छन् । स्थानीय ललित ताम्राकारका अनुसार रोजगारीका लागि उनी भारत आउने जाने गरिरहन्थे । पछिल्लो समय करिब एक महिनादेखि उनी गाउँमै रहेको कमल साउदको सिमेन्ट ब्लक उद्योगमा ब्लक बनाउने काम गर्दै आएका हुन् ।

अर्जुन दासको हत्याको विरोधमा कैलालीको लम्कीमा शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरियो । दोषीलाई पक्राउ गरी कारबाही गर्न दबाब दिन राजमार्ग अवरुद्ध पारेको मृतक अर्जुनका आफन्तले बताएका छन् । अर्जुन दासको हत्याको विरुद्ध संघर्ष समितिका संयोजक ललित परियारले राजमार्ग शुक्रबार साझ ४ बजेसम्म र अवरुद्ध गरिएको हो ।

अपराधीलाई आजीवन कारावासको सजाय हुनुपर्ने, मृतक अर्जुन दासलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, पीडितका बालबालिकालाई उच्च शिक्षाको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र अमरावती सामुदायिक बनमा १० कट्ठा जग्गा छुट्याई अर्जुनको सालिक निर्माण गर्नुपर्नेर्लगायतका आफूहरूको माग रहेको संघर्ष समितिका संयोजक परियारले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले घटनामा संलग्नहरूको पहिचान भइसकेका र उनीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न आफूहरू लागिपरेको बताए । उनले भने, ‘यस्तो अपराधको घटनामा प्रहरीले अनुसन्धान गरी अपराधी समाउन सफल हुँदै आएको छ । यो घटनाका अपराधी पनि उम्कन पाउदैनन् । हामी लागेका छौं ।’ घटनामा संलग्न आरोपित कमल साउदलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित : पुस १०, २०७८ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×