अर्जुन दास मृत्यु प्रकरण : १० दिनपछि अन्त्येष्टि

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका सोही स्थानका २५ वर्षीय अर्जुन दासको १० दिनपछि सोमबार अत्येष्टि गरिएको छ ।
हत्यारा पक्राउ नपरेसम्म शव नबुझने भन्दै उनका आफन्तले शव बुझेका थिएनन् । अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो ।
दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन् ।
पीडित पक्ष र प्रहरी तथा जनप्रतिनिधिबीच आइतबारको छलफलबाट मृतकको काजकिरिया खर्च र सन्तानको पढाइ खर्च व्यहोर्ने गाउँपालिकाले सहमति गरेपछि आफन्तहरू शव अन्त्येष्टि गर्न तयार भएका हुन् ।
स्थानीय ललित परियारका अनुसार घटनामा संलग्न दोषीलाई चाँडो पक्राउ गरी कारबाही गर्ने र परिवारलाई नगद तथा खाद्यान्न साथै मृतकका सन्तानको उच्च शिक्षा अध्यनको जिम्मा गाउँपालिकाले लिएको छ । साथै पीडित परिवारको एक जनालाई क्षमता अनुसार रोजगारी दिने र अमरावती सामुदायिक वनमा अर्जुनको शालिक निर्माणका लागि पहल गर्ने सहमति भएको हो ।
जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएका थिए ।
पुस २ गते सुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए । उनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन कारावासको सजाय हुनुपर्ने माग गर्दैआएका छन् ।
प्रकाशित : पुस १२, २०७८ १९:४६