१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

अस्पताल निर्माण योजना अलपत्र

तृप्ति शाही

बैतडी — सरकारले स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भन्दै गत वर्ष मंसिर १५ गते देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास कार्यक्रम गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूको शिलान्यास गरेका थिए । जसअनुरूप बैतडीका ७ वटा स्थानीय तहमा पनि आधारभूत अस्पताल बनाउने योजना थियो ।

अस्पताल निर्माण योजना अलपत्र

जिल्लाका पुर्चौडी र पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर, सुर्नया दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अस्पताल निर्माण गर्ने लक्ष्य थियो । तर अहिलेसम्म कुनै पालिकामा पनि आधारभूत अस्पताल बनाउने योजना अघि बढ्न सकेको छैन । अस्पताल कहाँ बनाउने भन्ने विषयमा विवाद हुँदा धेरै पालिकामा काम अगाडि बढ्न सकेको छैन ।

पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जग्गा विवादले काम अगाडि बढ्न सकेको छैन । स्थानीयको माग एकातिर छ भने जनप्रतिनिधि अर्कैतिर बनाउने सुरमा रहदा काम अघि बढ्न नसकेको हो । पालिकाका पहुँचमा पुगेका नेताहरूले पनि आफूलाई पायक पर्ने ठाउँमा अस्पताल बनाउन खोज्दा पनि धेरै पालिकामा विवाद भएको छ ।

कहाँ बनाउने भन्ने विवादले गर्दा नै पञ्चेश्वर गाउँपालिकामा अस्पताल निर्माणको काम अघि बढ्न नसकेको पालिकाका स्वास्थ्य संयोजक रामसागर शाह बताउँछन् । सरकारले स्वास्थ्यचौकीलाई स्तरोन्नती गरेर बनाउने बताए पनि पालिका भएकै ठाउँमा बनाउने एक थरी स्थानीयको माग भएकोले कामै सुरु हुन नसकेको उनले बताए । ‘पहिलो चरणमा सरकारले तोकेका ठाउँमा स्वास्थ्यचौकीकै जमिन थियो । त्यही बनाउने योजना थियो, माटोको परीक्षण पनि भएको हो,’ शाहले भने, ‘तर स्थानीयले नमानेर पालिका भएकै ठाउँमा बनाउने भनेर काम रोकियो ।’ पालिका भएको स्थानमा जमिन छनोट भएकोले त्यही बनाउने कि भन्ने कुरा चलिरहेको उनले बताए ।

दोगडाकेदार गाउँपालिकामा पनि अहिलेसम्म अस्पताल निर्माणको समय जग खन्नमै बितेको छ । पालिकाको वडा—६ को मजगाउँमा जग्गा सम्याउने काम भइरहेको स्थानीय लक्ष्मी जोशीले बताए । डिलाशैनी गाउँपालिकामा पनि नेताको इच्छाअनुसार स्थानीयलाई पायक नपर्ने ठाउँमा अस्पताल निमार्णको काम सुरु भएको भन्दै विवाद भएको छ । सुरुबाटै विवाद भए पनि निर्माणस्थल सम्याउने काम पालिकाले गरेको छ । जिल्लाको सुर्नया गाउँपालिकामा पनि बल्ल डीपीआर तयार गर्ने कार्य सकिएर छनोट प्रक्रियामा छ ।

स्वास्थ्य संयोजक रामसिंह महराका अनुसार अहिलेसम्म सक्नुपर्ने काम सुरु हुने तयारीमा छ । यो योजना शाखाको जिम्मा हुने भएकोले ढिलो हुनुको कारण थाहा नभएको उनले सुनाए । स्वास्थ्य कार्यालयको अधिकारभित्र यो नपर्ने भएकोले आफूहरूलाई जानकारी नआउने स्वास्थ्य कार्यालयले जनाएको छ । मौखिक रूपले जान्न खोज्दा कहीँ पनि कामले तीव्रता पाउन नसकेको जानकारी पाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

प्रकाशित : पुस १०, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?