२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अर्जुनको हत्याको विरोधमा गाउँपालिकामा तालाबन्दी

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका करिब २५ वर्षीय अर्जुन दासको हत्या विरुद्ध मृतकका परिवार र आफन्तले जानकी गाउँपालिकामा बिहीबार तालाबन्दी गरेका छन्।

अर्जुनको हत्यारा पक्राउ गरी सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने तथा पीडितका बालबालिकालाई उच्च शिक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गर्दै गाउँपालिकामा तालाबन्दी गरिएको अर्जुन दास हत्या विरुद्धको संघर्ष समितिका संयोजक ललित परियारले बताए ।

हत्यामा संलग्न पक्राउ नपरेसम्म संघर्षका कार्यक्रम निरन्तर जारी राख्ने उनले बताएका छन् । दोषीलाई आजीवन कारावासको सजाय हुनुपर्ने, मृतक दासलाई सहिद घोषणा गर्नुपर्ने पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, अमरावती सामुदायिक वनमा अर्जुनको शालिक निर्माण गर्नुपर्ने, अमरावती सामुदायिक वनको नाम परिवर्तन गरी अर्जुन दास सामुदायिक वन राख्नुपर्ने लगायतका माग पीडित पक्षले गरेका छन् ।

जानकी गाउँपालिकामा तालाबन्दी भएपछि बिहीबार संघर्ष समिति र जानकी गाउँपालिका तथा सुरक्षाकर्मीबीच छलफल भए पनि वार्ता बिनानिश्कर्ष टुंगियो ।

हत्या विरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय टीकापुर अगाडि र बुधबार टीकापुर बजारमा प्रदर्शन भएको थियो । प्रदर्शनकारीले 'हत्यारालाई सार्वजनिक गर', 'शान्ति सुरक्षाको ग्यारेन्टी गर', 'हत्या हिंसा बन्द गर', 'नोपाल सरकार मुर्दावाद' जस्ता नाराबाजी गरेका थिए ।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दास रुखमा बाँधेर टाउको काटिएको अवस्थामा गत शनिबार अमरावती सामुदायिक वनमा भेटिएका थिए ।

शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर नफर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । त्यस क्रममा दासको शव वनमा घाँस काट्न गएका महिलाहरूले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । एक जनालाई आइतबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कैलालीमा युवक मृत फेला, हत्या भएको आशंका

अर्जुनको शव अस्पतलालमै

कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव एक सातादेखि अस्पतालमै छ । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै परिवार र आफन्तले शव बुझेका छैनन् ।

उनका आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन काराबासको सजाय हुनुपर्ने माग गर्दैआएका छन् । अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव तीन दिनपछि उठाइएको थियो ।

दोषी पक्राउ नपरेसम्म वनबाट शव उठाउन नदिने भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन् । तीन दिनपछि उठाइएको शव टीकापुर अस्पतालमा पोष्टमार्टमपछि अस्पतालमै राखिएको छ ।

प्रकाशित : पुस ८, २०७८ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?