कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खोप लगाउन बालबालिकाको उत्साह

तृप्ति शाही

बैतडी — बैतडीमा पहिलो चरणमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन स्थानीयले आनाकानी गरेका थिए । स्वास्थ्य, सुरक्षा, सरकारी कर्मचारी, पत्रकारलगायत फिल्डमा खटिनेहरूलाई दिइएको खोप लगाउन कमै मान्छे मात्र खोप केन्द्र पुगेका थिए ।

खोप लगाउन बालबालिकाको उत्साह

त्यतिबेला स्वास्थ्य कार्यालयका कर्मचारीहरू खोप लगाइदिनुस् भन्दै हिँड्थे । परीक्षणका लागि लगाइएको खोप लगाउन धेरै मान्छे राजी थिएनन् । धेरै कमले मात्र खोप लगाए । त्यसपछिका खोपहरू पनि सबै सहजै लगाउन राजी भएनन् । पालिकामा गएको खोप स्वास्थ्य कार्यालयमै फिर्ता आउने अवस्था पनि थियो ।

तर अहिले अवस्था फेरिएको छ । जिल्लामा मंगलबारबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन लागिएको खोपमा उनीहरू उत्साहित भएर लगाइरहेका छन् । अहिले सबै बालबालिकाहरू खोप लगाउनका लागि पुग्ने गरेका स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताए । उनले भने, ‘पहिले परीक्षणका लागि हो भन्ने थियो र लगाउन मन गरेका थिएनन् ।

अहिले सबैले थाहा पाए यसले जीवन रक्षा गर्छ भनेर । धेरैले लगाइरहेका छन् ।’ जिल्लाका विद्यालयमा बालबालिकालाई खोप लगाइँदै छ । २ सय ५९ वटा खोप केन्द्रबाट बालबालिकाले खोप पाउँदै छन् । पालिकाका पायक पर्ने विद्यालयलाई खोपकेन्द्र बनाएर बालबालिकाहरूलाई विद्यालयमै खोप लगाइँदै छ । १२ देखि १७ वर्षसम्मका बालबालिकाहरू विद्यालय उमेरका भएकाले उनीहरूलाई विद्यालयमै खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बैतडीमा ३८ हजार बालबालिकाको संख्या स्वास्थ्य कार्यालयमा पुगेको भट्टले बताए । आफूहरूसँग खोप ३१ हजार जति आएको उनले बताए । हतारमा तथ्यांक आएकाले यो बढी हो भन्ने लागेको उनले बताए । पछिल्लो समय खोपप्रति स्थानीयको सकारात्मक बुझाइ रहेको सिगास गाउँपालिकाको शिवलिंग स्वास्थ्यचौकीका इन्चार्ज भीमसिंह ऐर बताउँछन् ।

समुदायका नागरिकले खोप लगाउनुपर्छ भन्ने सोचेका छन् । मोडर्ना खोप पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरू विद्यालयमा पुगेर विद्यार्थीलाई दिइरहेका छन् । डिलासैनी, सिगास गाउँपालिका र पुरचौडी नगरपालिकामा बुधबारबाट खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार पाटन र दशरथचन्द नगरपालिकामा खोप दिने अभियान सुरु हुनेछ । अन्य १० वटा पालिकामा पुस १० गतेसम्म सक्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ८, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?