कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ दिनपछि उठाइयो युवकको शव

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव ३ दिनपछि उठाइएको छ । रुखमा बाँधेर टाउको काटिएको अवस्थामा शनिबार उनको शव अमरावती सामुदायिक वनमा भेटिएको थियो ।

आफन्त तथा स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी आजीवन काराबासको सजाय हुनुपर्ने माग गर्दै आइतबार उनको शव उठाउन दिएनन् ।

उनका आमाबुबा भारतबाट आइतबार आइपुगेका थिए । तर, दोषी नसमातिएसम्म शव नउठाउने भनेपछि आइतबार शव उठेको थिएन ।

सोमबार दिनभरिको छलफलपछि उनीहरु शव उठाउन राजी भएका हुन् । पीडित पक्षका ललित परियारले दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने, सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, मृतककी श्रीमतीलाई रोजगारी दिनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, अमरावती सामुदायिक वनले अर्जुनको सालिक निर्माणका लागि १० कट्ठा जग्गा छुट्याउनुपर्ने, अपराधका घटनामा वृद्धि भइरहेकोले शान्ति सुरक्षाको प्रत्याभुति हुनुपर्ने आफूहरुको माग रहेको आफन्तहरुले बताएका छन् । शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल ल्याइएको छ ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पीडित परिवारलाई तत्काल राहत स्वरुप किरिया खर्च र खाद्यान्न उपलब्ध गराउने वचन दिएको बताए । उनले भने, ‘पीडित पक्षका माग अरु पनि होलान् तर गाउँपालिकाको तर्फबाट किरिया खर्च र केही खाद्यान्न दिने बताएको छु ।’

शव उठाइएपछि पीडित परिवारले प्रहरीमा जाहेरी दिएको र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अर्जुन एक महिनाअघि मात्र भारतबाट घर फर्केका थिए । सासु बिरामी परेपछि भारतबाट घर आएको उनका काका पदम दासले बताए । उनका अनुसार उनको परिवार भारतको दिल्लीमा बस्दै आएको थियो ।

शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । राति उनी घर फर्केनन् । वनमा घास काट्न गएका महिलाले उनको शव देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । कमल साउदलाई आइतबार नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएका प्रहरी नायब उपरीक्षक रविन विष्टले भने, ‘घटनाको जानकारी पाउने बित्तिकै हामीले अनुसन्धान सुरु गरेका छौं । संलग्नको पहिचान भइसकेको छ । उनीहरु उम्किन पाउँदैनन् ।’

प्रकाशित : पुस ५, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?