चिसोले विपन्नलाई मार

‘न्यानो लगाउने, ओछ्याउने र ओढ्ने नभएर आगो तापेर बस्ने दिन सुरू भएका छन्’
मोहन बुढाऐर

धनगढी — पुस संक्रान्तिदेखि चिसो बढेको बढ्यै छ । एक्कासि बढेको चिसोले विपन्न परिवारले न्यानो लुगा नभएर कठ्याङ्ग्रिनुपरेको बताएका छन् । जल तथा मौसम विज्ञानको फिल्ड कार्यालय अत्तरियाका अनुसार पुसको पहिलो दिन एक्कासि चिसो बढेर न्यूनतम तापक्रम ६ दशमलव २ मा डिग्री सेल्सियसमा झरेको थियो ।

चिसोले विपन्नलाई मार

शनिबार र आइतबार पनि न्यूनतम तापक्रम ६ दशमलव २ डिग्रीमै सीमित रहन पुगेको छ । अधिकतम तापक्रम शनिवार दिउसो १९ डिग्री सेल्सिसियस पुगेको थियो ।

अत्यधिक चिसो बढेपछि दैनिक मजदुरी गर्ने बर्ग र झुपडीमा बास रहेको अब्यवस्थित मुक्तकमैया, सुकम्बासीलगायतका परिवार प्रभावित भएका छन् । ‘न्यानो लगाउने, ओछ्याउने र ओढ्ने नभएर आगो तापेर बस्ने दिन सुरु भएका छन्’ धनगढी पुरानो एअरपोर्ट मुक्त कमैया शिविरका दुखीराम चौधरीले भने,‘चिसोले गर्दा दिनमा मजदुरी गर्न पनि गाहृो भएको छ ।’

त्यस्तैं, मनिरा शिविरका देवीलाल डंगौराले पनि रात काटनका लागि दाउरा खोज्नु परेको बताए । ‘स्थानीय सरकार भन्नेले हामी गरिवका लागि दाउरा र मुडाको ब्यवस्था मिलाइ दिए हाम्रा हिउँदको चिसोबाट जोगिन्थ्यौ होला ’उनले भने, ‘कस्ले ध्यान दिन्छ र ?’ उनले अहिले दाउरा खरिद गरेर बाल्न नसकिने अवस्था रहेको बताए । ‘दाउरा पाउननै मुश्किल भएको छ’ उनले भने, ‘पाए पनि महंगो छ, दिन मजदुरी गरेर छाक टार्ने परिवारले दाउरा किनेर बाल्न सक्ने स्थिती हुँदैंन । ’

रिक्सा चलाएर, बजारमा अन्य सरसफाई तथा भरियाको काम गरेर जीवन धान्नेका लागि चिसो मौसम अत्यन्तैं खराब भएको उनले बताए । ‘चिसोमा काम गर्न मुस्किल हुन्छ’ उनले भने, ‘बिहान ११ बजेसम्म काम गर्न सकिदैंन ।’ उनले अत्यधिक चिसो बढेपछि काम पनि कम गर्न सकिने , काम पनि नपाउने भएकोले साँझ बिहानको छाक टार्नका लागि समेत आम्दानी गर्न नसकिने भएको बताए ।

पुष १ गतेदेखि हुस्सु लाग्ने र दिउँसो १२ बजेसम्म घाम पनि लाग्न छोडेको छ । यसले स्कुले बालबालिकाहर समेत प्रभावित भएका छन । चिसोले बालबालिका मात्रैं होइन बुढापाका र गर्भवती महिलालाई समेत असर पर्ने गरेको छ । चिसो बढेपछि निमोनिया, रुघाखोकीका बिरामी समेत बढन थालेका छन । चिसोले गर्दा बालबालिकाहरूको टाउको दुख्ने, झाडापखलाको समस्या समेत न्म्तिाउने गरेको धनगढी स्वास्थ्य शाखाका कृष्ण बोहराले बताए ।

प्रकाशित : पुस ५, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?