२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सेनाले नेतृत्व लिएको होल्डिङ सेन्टर निर्माणमा ढिलाइ

भदौमा निर्माण पुरा हुनुपर्नेमा लगभग ६० प्रतिशत काममात्र सम्पन्न । वर्षातले निर्माणस्थल डुबान भएर ढिलाइ भएको सेनाको दाबी
अर्जुन शाह

धनगढी — गत भदौ मसान्तभित्र निर्माण सम्पन्न गराउने गरी नेपाली सेनाले ठेक्का सम्झौता गरेको एक हजार शय्याको होल्डिङ सेन्टरको निर्माण कार्य हालसम्म पनि पूरा हुन सकेको छैन । सुदूरपश्चिमलाई भारतसँग जोड्ने प्रमुख सीमा नाका गौरीफन्टानजिक कैलालीको धनगढीस्थित बडहरा जंगलको बीचमा क्वारेन्टिनसहितको होल्डिङ सेन्टर निर्माणाधीन छ ।

सेनाले नेतृत्व लिएको होल्डिङ सेन्टर निर्माणमा ढिलाइ

कैलालीको तेघरीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन तथा रेखदेखमा उक्त होल्डिङ सेन्टरको निर्माण कार्य भइरहेको हो । सेनाले नेतृत्व लिएकाले छिटोछरितो ढंगले निर्धारित समयमै काम सम्पन्न हुने स्थानीयको अपेक्षा थियो । तर त्यसमा पनि ढिलाइ भइरहेको छ ।

भदौ मसान्तभित्र सम्पूर्ण काम पूरा गर्ने सर्तमा नेपाली सेनाले गत असार ३ गते संघीय सरकारको २८ करोड ८१ लाखमा हनुमान कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै निर्माण कम्पनीले असार तेस्रो सातादेखि काम सुरु गरेको भए पनि लगभग आधाजसो काम अधुरै छ । ‘हालसम्म लगभग ६० प्रतिशत काम सम्पन्न भएको छ,’ निर्माण कम्पनीका इन्जिनियर विक्रम गैरेले भने, ‘वर्षात्ले निर्माणस्थल डुबान भएर ढिलाइ भएको हो ।’

निर्माण कम्पनीले पुस मसान्तभित्र काम पूरा गरेर हस्तान्तरण गर्ने गरी म्याद थप गराएको इन्जिनियर गैरेले बताए । त्यस अवधिभित्र काम पूरा गर्ने उनको दाबी छ । ‘तीव्रताका साथ काम गरिरहेका छौं । त्यस बेलासम्म त अवश्य पूरा गर्छौं,’ उनले भने । होल्डिङ सेन्टर निर्माणस्थलमा हालसम्म विद्युत् र खानेपानी उपलब्ध नभएकाले केही अप्ठेरो पर्न सक्ने उनको भनाइ छ । नगरपालिकाले सडक, विद्युत् र खानेपानीको प्रबन्ध गर्ने भनेको उनले बताए ।

निर्माण कार्यको रेखदेख तथा अनुगमन गरिरहेको कैलालीको तेघरीस्थित भवानी दल गणका गणपती रवि केसीले पुस मसान्तभित्र सबै काम पूरा गर्ने गरी म्याद थप भएको बताए । ‘नयाँ भेरियन्ट ओमिक्रोनको सम्भाव्य जोखिमलाई ख्याल गर्दै निर्माण कम्पनीलाई काममा तीव्रता दिन भनिरहेका छौं,’ गणपति केसीले भने, ‘यस बीचमा वर्षात्ले निकै समस्या गर्‍यो ।’

उनले आधारभूत संरचना तयार भइसकेको बताउँदै बीचमा आवश्यक परे तयार गर्दै उपलब्ध गराउने सरसल्लाह पनि भइरहेको उनले बताए । हाल विद्युत् र जोड्ने सडक संरचना नभएकाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको गणपति केसीले बताए ।

यसबीचको अवधिमा संक्रमण दर घटेर केही सामान्यजस्तो देखिएको कोराना संक्रमण पुनः फैलन सक्ने त्रास छ । भारतसँगको खुला सीमा भएकाले भारतबाट नयाँ भेरियन्ट ओमिक्रोन भनिने कोरोना भाइरस भित्रिन सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीहरूको आकलन छ ।

होल्डिङ सेन्टर र क्वारेन्टाइनलगायत भौतिक पूर्वाधारको अभावमा त्यसबेला संक्रमण व्यापक रूपमा फैलिएको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् ।

विगतमा संक्रमण फैलिँदा देशका अन्य नाकाको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिमकै सीमानाका भएर आवागमन भएकाले संक्रमण ह्वात्तै बढेको थियो । त्यस बेला कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिनेको संख्या दैनिक हजारौं थियो ।

‘विगतमा व्यहोर्नुपरेको अप्ठेरोलाई मध्यनजर गरेर हामीले पनि सीमानजिक होल्डिङ सेन्टर र ठाउँठाउँमा पर्याप्त क्वारेन्टाइन बनाउनुपर्नेमा जोड दिँदै आएका हौं,’ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘उपचार सेवासमेत प्रदान गर्न मिल्ने गरी धनगढीस्थित बडहरा जंगलमा निर्माणाधीन एक हजार शय्याको होल्डिङ सेन्टर समयमै निर्माण हुन जरुरी छ ।’

धनगढी भन्सारको मोहना पुलदेखि करिब एक किलोमिटर टाढा रिङरोडसँग जोडिएको बडहरामा उक्त होल्डिङ सेन्टर निर्माण भइरहेको हो । निर्माण कम्पनीका प्राविधिकहरूका अनुसार करिब २४ हजार वर्गमिटर क्षेत्रफलमा ५९ वटा ब्लकहरू निर्माण गर्न लागिएको छ । २० वटा ब्लक क्वारेन्टिनका लागि प्रयोग हुनेछन् ।

त्यहाँ सुरक्षाकर्मीहरू बस्ने प्रबन्ध पनि हुने डिजाइन गरिएको छ । होल्डिङ सेन्टरभित्र हरेक शय्यामा अक्सिजन आपूर्ति गर्ने उपकरणहरू जडान गरिने योजना रहेको इन्जिनियर गैरेले बताए । ‘मेडिकल टोली खटनपटनको व्यवस्था हुने सबै पूर्वाधारहरू तयार गर्ने डिजाइन हो,’ उनले भने । सामुदायिक वन क्षेत्रभित्र रहेका सिसमका रूख र बुट्यान फँडानी गरेर पूर्वाधार निर्माण भइरहेको धनगढी उपमहानगपालिका ३ का वडाध्यक्ष बलबहादुर ऐरले बताए ।

यो होल्डिङ सेन्टर सञ्चालनमा आएपछि संक्रमण फैलिएका बेला भारतबाट स्वदेश आएका सबैलाई होल्डिङ सेन्टरमा राखेर कोरोना जाँच तथा उपचार गर्न सहज हुने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन् ।

पहिलो र दोस्रो चरणमा फैलिएको कोरोना महामारीले सुदूरपश्चिमलाई निकै अत्याएको थियो । त्यसबेलाको अप्ठेरोबाट पाठ सिक्दै आगामी दिनमा पूर्वाधारको समस्या झेल्नु नपरोस् भन्ने सोचेर कैलालीसँगै कञ्चनपुरमा एक सय शय्याको सुविधायुक्त कोभिड अस्पताल निर्माण गरेर सञ्चालन गरिरहेका छन् ।

प्रकाशित : मंसिर २३, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?