खाद्यले आउँदो सातादेखि धान किन्ने

कञ्चनपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कञ्चनपुरमा अर्को सातादेखि मात्रै धान खरिद गर्ने भएको छ । स्थानीय खरिद समितिको सोमबार बसेको बैठकले टोकन प्रणाली लागू गरेर आउँदो आइतबारदेखि खरिद सुरु गर्ने निर्णय गरेको हो । 

कम्पनीले यस वर्ष कञ्चनपुरमा ६ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । खरिद गर्दै जाँदा कृषकहरूको चाप हेरेर कोटा बढाउन सकिने कम्पनीको महेन्द्रनगर कार्यालयका निमित्त प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले बताए ।

‘शुक्रबारदेखि टोकन वितरण हुन्छ, आइतबारदेखि धान खरिद सुरु हुन्छ,’ उनले भने, ‘यसपटक वर्षाले धेरै धान भिजेको र खरिदको समय पनि ढिलो भएका कारण कम आउने अनुमान गरिएको छ ।’ महेन्द्रनगर शाखाले कात्तिक अन्तिम साता नै १० हजार क्विन्टल धान खरिदको अनुमतिका लागि केन्द्रमा पत्राचार गरेको थियो । केन्द्रबाट ढिलो गरी अनुमति प्राप्त भएको हो ।

यस वर्ष धानको मूल्य गत वर्षको तुलनामा वृद्धि भएर २ हजार ७ सय ७२ प्रतिक्विन्टल पुगेको छ । कम्पनीले गत वर्ष कात्तिकमध्येदेखि नै खरिद गर्दा पनि कोटाअनुसार धान पाएको थियो । १३ हजार क्विन्टल खरिदको कोटा पाए पनि ९ हजार ४ सय ७९ क्विन्टल मात्रै खरिद गर्न सकेको थियो ।

‘किसानहरू धान बिक्रीका लागि आइरहेका छन्,’ उपाध्यायले भने, ‘धान बिक्रीबारे सोधपुछ गर्न आउने धेरै कृषक हामीलाई नै पर्खेका छन् ।’ उनका अनुसार वर्षाले अधिकांश कृषकको धान भिजेका कारण कम्पनीले कोटाअनुसार नपाउने चिन्ता छ । कम्पनीले २५ प्रतिशतभन्दा कम चिस्यान भएको धानमात्रै खरिद गर्छ ।

प्रकाशित : मंसिर २२, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?