कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीमा खटिएका स्वयंसेविकालाई बेवास्ता

मेनुका ढुंगाना

अछाम — कोरोना संक्रमणको पहिलो र दोस्रो लहरका बेला भारत र अन्य ठाउँबाट आएकालाई क्वारेन्टिनको व्यवस्था गर्न सबैभन्दा अगाडि देखा पर्थिन् अछामको ढकारी गाउँपालिका–३ की राधिका शाही । भारतबाट आएकालाई भेट्न जाँदा तथा उनीहरूलाई कोरोनासम्बन्धी जानकारी दिँदा परिवारबाट उनलाई असहयोग भयो ।

महामारीमा खटिएका स्वयंसेविकालाई बेवास्ता

‘गाउँका अन्य महिलाको तुलनामा रोगबारे हामीलाई बढी जानकारी हुन्छ । त्यसैले जो भेट्यो उसैलाई नआत्तिन आग्रह गर्‍यौं,’ राधिकाले भनिन्, ‘घरमा रोग सारेर ल्याउने भई भनेर सबै कराउँथे । बाहिर गएर मान्छे भेट्ने भए तिमी पनि उतै बस्नु भन्दै घरमा दिनकै गाली गर्थे । तर म आफ्नो जिम्मेवारीबाट टाढा भइनँ ।’

कोरोना संक्रमण समुदायसम्म फैलिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई अग्रपंक्तिमा खटाइयो । संक्रमणको त्रासले आत्तिएका सर्वसाधारणलाई सम्झाइबुझाइ गर्नमा उनीहरू नै सबैभन्दा अगाडि देखिए । डरका कारण स्वास्थ्य संस्थामा समेत जान नसकेकालाई उनीहरूले नै परामर्श दिए । जोखिमका बेला समुदायमा सबैभन्दा बढी खट्ने स्वयंसेविका भए पनि कामअनुसारको मूल्यांकन नभएको उनीहरूको गुनासो छ । ‘गाउँमा कोरोना संक्रमणका लक्षण देखिँदा स्वास्थ्य संस्थामा जान आग्रह गर्ने, सम्झाइबुझाइ गर्ने नै हामी हौं,’ उनले भनिन्, ‘सुरुमा मास्कसम्म त पाएका थियौं । पछि त्यो पनि पाइएन । जोखिम भत्ता त झन् के पाइन्थ्यो ।’

मंगलसेन नगरपालिका–५ की मंगला विक २६ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविका छिन् । गाउँमा दलित बस्ती बढी छ । दलित बस्तीको संख्या धेरै भएकाले उनलाई स्वयंसेविका बनाउन गाउँलेले समर्थन गरे । गाउँमै भएका गैरदलितका घरमा पनि उनले धेरैपटक जानुपर्थ्यो । त्यतिबेला उनलाई दलित घरमा आएको भन्दै सार्वजनिक ठाउँमै धेरै पटक विभेद गरे । तर उनै मंगला विक कोरोना संक्रमणका बेला घरदैलोमा पुगेर सुझाव दिन थालिन् । लकडाउनका कारण घरमा आउन नसकेकाको घरमा गएर उनले सम्झाउन थालिन् । ‘त्यो बेला गैरदलित महिलाले हामी दलितका घरमा जाँदैनौं भनेर मैले अवसर पाएकी हुँ । धेरै गाली पाइयो । कुटाइ खाने अवस्थासमेत आयो । अहिले भने सबैले बुझे,’ उनले त्यसबेलाको अनुभव स्मरण गरिन् ।

कोरोना संक्रमणको सुरुमा मंगलालाई समुदायसम्म पुग्नै गाह्रो भयो । ‘सुरुमा सम्झाउन जाँदा कोरोना सार्न आई भनेर धेरैले गाली पनि गरे । तर मैले भौतिक दूरी कायम गर्दै आत्तिएका परिवारलाई सम्झाउन छोडिनँ,’ उनले भनिन् । जोखिम मोलेर कोरोना कालमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाको कामको स्थानीय तहले बेवास्ता गरेको उनको भनाइ छ । ‘हामी आफूले जाने बुझेका कुरा अरूलाई सिकाउन पछि पर्दैनौं । हाम्रो कामको कुनै निकायले मूल्यांकन गरिदिनुपर्‍यो,’ उनले भनिन् ।

५५ वर्षीया मंगला २८ वर्षसम्म महिला स्वाथ्य स्वयंसेविका भएर आफ्नो टोलमा बिरामीको सेवा गरिरहेकी छन् । गाह्रो, अप्ठ्यारोमा सबैभन्दा पहिले गाउँलेहरू उनैलाई सम्झन्छन् । अहिलेसम्म उनले टोलका बिरामी र गर्भवतीलाई बोकेर स्वास्थ्य चौकी पुर्‍याएकी छन् । संक्रमण फैलिएका बेला आफूजस्तै अछामका १० वटा स्थानीय तहमा ९ सय ४१ जना स्वास्थ्य स्वयंसेविका अग्रपंक्तिमा रहेर काम गरेको उनले बताइन् । ‘यसरी खटिने हामीलाई राज्यले अहिलेसम्म प्रोत्साहनस्वरूप नै सही केही दिएको छैन । त्यही काम गर्ने अरू स्वास्थ्यकर्मीले भत्ता पाउने, अनि हामीले किन नपाउने ?’ उनको प्रश्न छ ।

प्रकाशित : मंसिर २१, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?